पूर्वखेलाडी विवेक गृह जिल्ला बाँकेमा सम्मानित

हिमालय टाइम्स
Read Time = 4 mins

नेपालगञ्ज । पूर्वराष्ट्रिय फुटबल खेलाडी विवेक जंगशाह (एमबीई)लाई बाँके जिल्ला फुटबल संघले सम्मान गरेको छ । शुक्रबार नेपालगञ्जमा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, फुटबल प्रशिक्षक सानु तामाङ, रवीन्द्र श्रेष्ठलगायतले शाहलाई सम्मान गर्नुभएको थियो ।

उत्कृष्ट काम गरेका कारण शाह बेलायती महारानीबाट सम्मानितसमेत हुनुभएको थियो । नेपालगञ्जबाट फुटबल करियर सुरु गरेका शाहले २०५४ सालमा नेपालको यु-१६ फुटबल टिम, नेपालगञ्ज-११ टिम र अन्य विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेल्नुभएको थियो ।
शाह अहिले ब्रिटिश आर्मीमा क्याप्टेनका रूपमा कार्यरत हुनुहुन्छ । शाहले भारतको बहराइचमाभएको स्टेट स्तरको फुटबल प्रतियोगितामा निर्णायक गोल गर्दै नेपालगञ्ज-११लाई उपाधि दिलाउनुभएको थियो । नेपालगञ्ज उपमहानगरपालिका-०४ देवा फूलबारीका शाहले सन् २००१ मा भएको तत्कालीन राजा वीरेन्द्रको शुभजन्मोत्सवमा हुने बर्थडे कपमा नेपालगञ्ज-११को तर्फबाट जावलाखेल फुटबल क्लबलाई हराएर क्वारर्टरफाइनलमा पुग्दा निर्णायक गोल गर्नुभएको थियो ।

फुटबल करियरमा बाँके जिल्लाको प्रतिष्ठालाई बढाउने काम गरेकाले यस क्षेत्रका लागि विवेक प्रतिष्ठित व्यक्ति भएको एन्फा केन्द्रीय सदस्य भोजराज शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विवेक बाँके जिल्लाको फुटबल इतिहासमा एउटा उदाहरणीय खेलाडी हुनुहुन्छ । उहाँले बेलायतमा गएर पनि आफ्नो देश र जिल्लालाई गर्व हुने सफलता हासिल गर्नुभएको छ । एउटा खेलाडीले यो स्तरमा सफलता प्राप्त गर्नु फुटबल परिवारका निम्ति गर्वको विषय हो ।’ शुक्रबार बाँके जिल्ला फुटबल संघका पदाधिकारी र पूर्वराष्ट्रिय खेलाडी शाहकाबीच बाँकेको फुटबल विकास गर्ने बारेमा छलफल भएको छ ।

नेपालगञ्जमा आउँदा फुटबल संघका पदाधिकारीहरूसँग भेट्न पाउँदा खुशी लागेको शाहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो न्यानो आतिथ्य र सम्मानका लागि बाँके जिल्ला फुटबल संघलाई धन्यवाद दिन चाहन्छु । फुटबल मलाई मन पर्ने खेल हो । यसको विकासका लागि म सक्दो सहयोग गर्छु । विशेषगरी नयाँ बालबालिकालाई फुटबल खेल्न प्रेरित गर्नुपर्छ । यस्तो अभियानमा संघले योजना बनाएको कुरा थाहा पाउँदा खुशी लाग्यो । फुटबलको विकासमा सबैको सहकार्य र समन्वय आवश्यक छ ।’

बाँके जिल्ला फुटबल संघले चौथो नेपालगञ्ज गोल्डकप र बालबालिकाहरूका लागि ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ । त्यसमा शाहले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?