नाम्खामा ६ वर्षदेखि चारवटा पुल अलपत्र

६ वर्षदेखि निर्माण हुन नसक्दा अलपत्र परेको नाम्खा गाउँपालिका–१ हेप्का खोलामा निर्माणाधीन पक्की पुल ।

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 8 mins

हुम्ला । २०७४ सालमा निर्माण सम्झौता भएका पुल अलपत्र परेका छन् । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा चारवटा पक्की पुल निर्माणका सम्झौता गरेको ६ वर्ष पुगेको छ । निर्माण कम्पनीका ठेकेदारको चरम लापारबाहीले चारवटा पक्की पुल अलपत्र परेका हुन् । पाँच वर्ष बितेर छैठौं बर्ष लाग्दा पनि ठेकेदारको चरम लापरबाहीले हेप्का, तागु, सल्ली र याङ्गार खोलाको पुल अलपत्र छन् । यि स्थानमा पुरानै काठको पुल निर्माण गरेर जोखिम मोल्दै गाडी गुड्दै आएका छन् । पुल नबन्दा नाम्खालगायत छिमेकी गाउँपालिकाका बासिन्दाले वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।

ठेकेदारको चरम लापरबाहीले निर्माण सम्झौताको म्याद सकिँदासम्म काम पूरा हुन नसकेको भन्दै स्थानीयले चर्को विरोध गर्न थालेका छन् । निर्माणका लागि करोडौँको सम्झौता गरे पनि काम केही भएको छैन । विभिन्न स्थानका चारवटा पुलका ठेकेदारले दुई वर्षमा काम सम्पन्न गर्ने गरी सातदेखि झण्डै १० करोड बढी रकमको सम्झौता गरेका छन् । ठेकेदारले बेलाबेला म्याद थप गर्दै रकम भुक्तानी लिने गरेको भए पनि उनीहरूले पक्की पुल निर्माण कार्य अलपत्र पार्दै आएका छन् ।

निर्माणका लागि सम्झौता गरेर ठेकेदार जिल्ला नबेसर जिल्ला बाहिर बस्दै आउनुले समेत काममा बाधा पुगेको स्थानीय बताउँछन् । नाम्खा गाउँपालिका–१ मा पर्ने हेप्का खोलामा पक्की पुल १० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको ६ वर्ष पुगेको छ । जसको जिम्मा एमएस जेबी धुलिखेल, काठमाडौंले पाएको थियो । यसका प्रोप्राइटर तेजबहादुर महत हुनुहुन्छ । ०७४ साउन ६ मा दुई वर्षभित्रै सक्ने सम्झौता भएको हेप्का खोला पुलका ठेकेदार महतले ६ वर्षसम्म पुल निर्माण नगरी अलपत्र बनाउनुभएको छ ।

महतले नै नाम्खा-१ मा पर्ने ताग्रु खोला पुल निर्माणको नौ करोड ३५ लाखमा ठेक्का लिनुभएको थियो । तर, महतले यो पुल पनि अलपत्र पारेर छाड्नुभएको छ । ताग्रु खोला पुलको कुनै पनि काम हुन सकिरहेको छैन् । उक्त क्षेत्रमा रहेको पुल काम नै नभएर अपलत्र पारिएको छ । दुईतिरको थोरै मात्र बिम राखेर छाडिएको छ । यस्तै, नाम्खा गाउँपालिका-४ मा पर्ने सल्ली खोलाको पुल निर्माणको जिम्मा स्वच्छन्द काग्री जेबीले नौ करोड ३३ लाखमा लिएको थियो । उक्त कम्पनीका प्रोप्राइटर छिरिङउटुप लामाले पाँच वर्ष बितिसक्दा पनि पुल निर्माण पूरा गर्न सक्नुभएको छैन ।

सोही वडामा पर्ने याङ्गार खोलामा पुल निर्माणको ठेक्का पाएको धुलिखेल निशान जेबीले चार करोड १६ लाखमा जिम्मा लिएको भए पनि पनि काम अधुरै रहेको छ । अकिल बुढा प्रोप्राइटर रहेको उक्त कम्पनीले ०७६ माघ १० मा ठेक्का सम्झौता गरेको थियो । तीन वर्ष बितिसक्दा पनि ठेकेदार बुढाले काम नगरी अलपत्र पार्नुभएको छ । बुढाले कोरोना जस्ता कारण देखाएर निर्माण कार्य अधुरो राख्दै आउनुभएको छ । आफूले सम्झौता गरेको वर्षदेखि कोरोना संक्रमण फैलिएकाले निर्माण कार्यमा ढिला भएको भन्दै बुढा पन्छिनुभएको छ । बुढाले निर्माण सामग्री सबै हिल्सामा ल्याए पनि त्यहाँबाट यता ल्याउन नसकेको बताउनुभयो । यस्तै, नाम्खा गाउँपालिका-६ लिमीमा पर्ने टाक्ची र लिङ खोलाको मोटरवेल पुलको निर्माण जिम्मा अर्जुन महताराले एक करोड ३५ लाखमा लिनुभएको थियो । महताराले पनि काम अधुरो बनाउँदै आउनुभएको छ । हिमताप, बाटो अवरुद्ध लगायतका समस्या देखाएर उहाँले काममा ढिलाइ गरिरहनु भएको छ ।

पुल निर्माणका लागि आवश्यक पर्ने डण्डी लगायतका सामग्री सिमकोट ल्याउन समस्या भएकाले निर्माण कार्यमा ढिलाइ भएको हिल्सा–सिमकोट सडक योजना कार्यालयका इञ्जिनियर निरजराज वंशीले बताउनुभयो । सबै पुल निर्माण कार्य यही असारसम्म सकिसक्नु पर्ने गरी ठेकेदारहरूले म्याद थप गरेका छन् । ठेकेदारले लापारबाही नगरेको खण्डमा दुई महिना भित्र सबै ठाउँको पुल निर्माण सम्पन्न हुने देखिएको छ ।

म्याद थप्दै पक्की पुलको ठाउँमा काठेपुल
ठेकेदार कम्पनीले समयमा काम नगर्दा गाउँपालिकाका खोलामा काठेपुल निर्माण गरिएको छ । हेप्का खोलामा पूर्वाधार विकास कार्यालयले २३ लाख खर्चेर चारपांग्रे सवारीसाधन गुड्ने काठेपुल निर्माण गरेको छ । सल्ली खोला र याङ्गार खोलामा पनि काठेपुलकै सहायतामा गाडी गुड्ने गरेका छन् । ताग्रुखोलामा भने काठेपुलसमेत नहुँदा खोलाबाटै ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ । वर्षौंदेखि पुल निर्माण कार्य अलपत्र पारेका ठेकेदारहरूले भने विभिन्न बहाना बनाएर म्याद थप गर्दै आएका छन् । यसअघि कोरोना महामारीलाई कारण देखाएका उनीहरूले हिमपात र ढुवानी समस्याजस्ता बहानामा म्याद थप्न माग गरेका छन् ।

हिल्सा-सिमकोट सडक योजना कार्यालय, हुम्लाले दुई वर्षभित्रै सम्पन्न गर्ने सम्झौता भएका हेप्का, सली र ताग्रु खोलामा पुल निर्माणका लागि चारपटक म्याद थप गरिसकेको छ । याङगार खोला पुल निर्माणमा दुई वर्ष म्याद थप भएको छ । योजना कार्यालयका प्रमुख जिल्लामा नबस्दा पुल निर्माण अलपत्र परेको स्थानीयको आरोप छ । ठेकेदारलाई ताकेता नगर्दा पुल र सडक निर्माणको काम अलपत्र हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?