प्याराग्लाइडिङले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्छ: प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 5 mins

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताउनुभएको छ ।

हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घाटन गर्दै उहाँले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “चितवनमा पर्यटन विकासका लागि प्याराग्लाइडिङले थप मद्दत पुग्छ ।” प्याराग्लाइडिङ साहसी पर्यटकका लागि महत्वपूर्ण खेल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो खेल सुरक्षित र साहसी खेल हो ।”

आफु पनि मौका मिलाएर यहाँ आएर खेल्ने उहाँले बताउनुभयो । साहसी खेलमध्ये सुरक्षित मानिएको प्याराग्लाइडिङ भएको उहाँको भनाइ थियो । युवा उद्यमीको पहलमा भएको यस कार्यले खुसी लागेको उहाँले बताउनुभयो । नेपालले अन्तराष्ट्रियस्तरमा पर्यटनको क्षेत्रले नयाँ उत्पादन दिन सक्ने गरि यो खेल आएको उहाँले बताउनुभयो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पर्यटनको क्षेत्रमा यो खेलले महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । प्याराग्लाइडिङका लागि तोकेको मापदण्ड पूरा गरी सुरक्षित रुपमा खेलाइनुपर्ने उहाँको भनाइ थियो ।

पर्यटकीय दृष्टिले तेस्रो स्थानमा रहेको चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको वैशाख १ गते देखि व्यावसायिक उडान सुरु गरिएको हो । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका-२९ चौकीडाँडामा साहसिक खेलको रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरु गरिएको हो ।

जङ्गल सफारीका लागि चितवन आउने पर्यटकलाई नयाँ गन्तव्यका रुपमा बसाइँ लम्ब्याउन सकिने गरी प्याराग्लाइडिङ सुरु गरिएको उहाँले बताउनुभयो । समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका-५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरी प्याराग्लाइडिङको उडान सुरु गरिएको हो ।

यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उहाँले बताउनुभयो । हाल १० प्याराग्लाइडिङ उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान गर्न सकिने छ । सन् २०१५ मा विदेशीले यहाँ उडान भरेको पाइन्छ । पोखरा र यहाँमा छुट्टै विशेषता रहेको घलेको भनाइ छ ।

पोखरामा तालमाथि उड्ने, हिमाल देखिनेलगायतका कारण छुट्टै रमाइलो रहेको जनाउँदै उहाँले यहाँको नागबेली परेको सडक र त्रिशूली नदी माथिको उडान अझै महत्वपूर्ण रहेको बताउनुभयो । विगत सात वर्षदेखि अनुभव सगाँलेका चालकबाट उडान गरिने प्याराग्लाइडिङबाट डाँडाकाँडादेखि खोलानालाको सुन्दर दृश्य हेर्न सकिने भएकाले यहाँ उडानका लागि राम्रो मानिएको हो ।

नारायणगढ-मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?