निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको नेतृत्व गर्नसक्छ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 8 mins

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रको सहयोग बिना राज्यले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्न नसक्ने बताउनुभएको छ ।
सोमवार चितवनमा मौलाकाली केवलकार समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्नेकुरा राज्यले मात्रै पूरा गर्न नसक्ने बताउनुभएको हो । उहाँले राज्यले निजी क्षेत्रसँग सहकार्य नगरीकन देशले आर्थिक विकासमा गति लिन नसक्ने बताउनु भयो । उहाँले निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको नेतृत्व लिनसक्ने भन्दै राज्यले त्यसको निम्ति वातावरण बनाइदिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मैले यो पटक अलि बढी जोड दिएको कुरा भनेको निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरीकन देशले आर्थिक विकासमा गति लिनै सक्दैन । हामीले अहिले अलिबढी जोड दिएका छौँ, उत्पादन वृद्धि गर्ने कुरालाई । रोजगारी सृष्टि गर्ने कुरालाई । यो उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्ने कुरा आजको युगमा सरकारले पूरा गर्नसक्ने कुरा मुख्य रुपमा होइन । निजी क्षेत्रले मात्रै उत्पादन वृद्धिको र रोजगारी सृष्टिको नेतृत्व गर्नसक्छ र त्यो वातावरण बनाइदिने जिम्मा राज्यको हुनुपर्दछ । राज्यले त्यसको निम्ति आवश्यक पर्ने ऐन, कानूनहरुको व्यवस्था गर्ने, अन्य भौतिक पूर्वाधारका विकास गर्ने, शिक्षा, स्वास्थ्यमा लगानी बढाउने र त्यतापट्टीबाट स्वस्थ जनशक्ति निर्माण गर्ने जस्ता आधारभुत कुरामा राज्यले प्राथमिकता दिने, उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्ने कुरामा नीजि क्षेत्रले प्राथमिकता दिने र उचित सहकार्य भयो भने मात्रै विकासले गति लिने कुरा हो । मौलाकाली जस्ता नेपालमा तराई, मधेसदेखि पहाड, हिमालसम्म हजारौँ ऐतिहासिक, सांस्कृतिक र धार्मिक स्थलहरु छन् । जसको कयौँको अझै उत्खनन् हुन, तिनलाई स्थापित गर्न बाँकी छन् ।’

प्रधानमन्त्री दाहालले राजनीतिमा सकारात्मक भन्दा नकारात्मक कुरा गर्ने अराजक प्रवृत्ति देखापरेको बताउनु भयो । उहाँले राजनीतिमा आत्मविश्वास, प्रेरणा र आशा जघाउनेभन्दा सबैतिर अध्यारो देखाउने प्रवृत्ति बढेको भन्दै यो विषय गम्भिर र घातक भएको बताउनु भयो । प्रधानमन्त्री दाहालले राजस्व बढ्दै गएको र विदेशी मुद्राको सञ्चिति पनि उत्साहप्रद रहेको उल्लेख गर्दै बैंकको ब्याजदर पनि घटाउन जोडबल गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले जनतामा निराशा र हतासा बाँड्ने काम बरु रोकिदिनु पर्छ । मैले यो कुरा खालि शाब्दिक रुपले मात्रै भनेको होइन, मेहनत गरेपछि हुनसक्छ भन्नेकुरा ईपासपोर्टदेखि लाइसेन्समा लाइन डरलाग्दो थियो अहिले लाइनको समस्या छैन । विद्यालयमा पुस्तक नपुगेर दश वर्षसम्म हाम्रो के हालत थियो अहिले विद्यार्थी भर्ना हुनुभन्दा अगाडी नै पुस्तक पुग्यो विकटभन्दा विकट जिल्लामा । विदेशमा गएका लाखौँ नेपालीहरुको लागि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने निर्णय गरियो र लाखौँ युवाहरुले अब त्यसबाट लाभान्वित हुँदैछन् । रेमिट्यान्स बढ्दो क्रममा छ गएको चार महिनामा हे¥यो भने त्यो बढ्दैछ । अझ बढाउने तयारीमा छौँ । राजश्व बढ्दै छ । अझ बढाउने तयारीमा छौँ । विदेशी मुद्राको सञ्चिति उत्साहप्रद छ । हामी त्यसलाई अझ सन्तुलनमा ल्याउने जोड गर्दैछौँ । बैंक ब्याजदर घट्दो क्रममा छ । यही महिना अझै घटाउनेतिर हाम्रो जोडबल छ, यही महिनाको अन्त्यसम्म । यि भएका राम्रा कामहरुलाई राम्रो भन्न नसक्ने, नराम्रोलाई सच्याउन आँट गर्न नसक्ने भयो भने विकास भन्नेकुरा मुस्किल र चुनौतिपूर्ण कुरा हुन्छ । आजभोलि राजनीतिमा आत्मविश्वास, प्रेरणा जघाउने, आशा जघाउने, सकारात्मक पहल गर्नेभन्दा जतासुकै अध्यारो देखाउने, सब अध्यारो । सब उस्तै हुन् भनेर भन्ने एउटा प्रवृत्ति अराजक प्रवृत्ति देखापर्न खोजेको छ । हामी सबैको निम्ति त्यो बडो गम्भिर र घातक हुनसक्छ । यसमा हामी सबै सजग हुन जरुरी छ ।’

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद डा. शशांक कोइरालाले कृषि क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले देशको शक्ति हाइड्रो, पर्यटन र कृषि क्षेत्र रहेको उल्लेख गर्दै कृषि क्षेत्रमा बजेट बढाउनु आवश्यक रहेको बताउनु भयो । उहाँले युवाहरु विदेश पलायन हुँदा खेतीयोग्य जमिन बाँझो बसेकाले देश मरुभूमिमा परिणत हुन लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीज्युलाई आग्रह गर्न चाहन्छु, राष्ट्रको शक्ति हाइड्रो हो जसमा काम भइरहेको छ । दोस्रो पर्यटन हो जुन कोभिडले गरेर समाप्त भएको छ तर अहिले बिस्तारै आउँदैछन् । तेस्रो शक्ति भनको मलाई लाग्छ कृषि हो । तर कृषिमा बजेट नै हुँदैन । कृषिमा बिपी कोईरालाको समयमा २० प्रतिशत बजेट थियो । अहिले दुई प्रतिशत पनि छैन । कृषिप्रधान देश भन्छौँ हामी अहिले शतप्रतिशत बाहिरका सामानहरु ल्याएर प्रयोग गर्छौं । हाम्रा युवाहरु खाडीमुलुक गएका छन् । उनीहरुलाई यही बसाएर त्यहाँभन्दा बढी कमाउन सक्ने क्षमता भएको मुलुक हो । सबै बाहिर गएको हुनाले एक किसिमको मरुभूमिमा परिणत भएको छ । खेतहरु बाँझो छन् । तसर्थ म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु ।’

उहाँले बर्दघाट पूर्व सुस्तालाई नवलपुर जिल्ला भनेर नामाकरण गर्न पनि माग गर्नुभयो । त्यस्तै सो क्षेत्रमा वन्यजन्तुले निम्त्याउने समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?