एसिसी मेन्स प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी खेल आज

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एसिसी मेन्स प्रिमियर लिग क्रिकेटको स्थगित नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबार भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि मंगलबार रिजर्भ दिनमा सारिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सोमबार रोकिएकै ओभरबाट खेल हुनेछ । सोमबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब तीन ओभरमा नौ विकेटको क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएर खेल हुने सम्भावना रहेन ।

खेल रोकिनुअघि युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाउनुभयो । उहाँले ५४ बल खेल्दै एक छक्का र सात चौका प्रहार गर्नुभयो । त्यस्तै, आर्यन लाक्राले १३, मोहम्मद वासिमले ११ र बसिर हमिदले १० रन बनाउनुभएको थियो ।

नेपालका लागि ललित राजवंशीले तीन विकेट लिनुभयो । उहाँ हृयाट्रिक नजिक हुनुहुन्थ्यो । उहाँले लगातार दुई विकेट लिएपछि खेल रोकिएको थियो । मंगलबार पहिलो बलमै विकेट लिन सके ओडिआईमा हृयाट्रिक लिने पहिलो नेपाली खेलाडी बन्नुहुनेछ । ललितले चार दशमलब तीन ओभरमा एक मेडनसहित पाँच रन खर्चेर तीन विकेट लिनुभएको हो ।

यस्तै, सन्दीप लामिछानेले सात ओभरमा एक मेडनसहित ३२ रन खर्चेर दुई विकेट तथा करण केसीले सात ओभरमा एक मेडनसहित २६ रन खर्चेर दुई विकेट लिनुभयो । सोमपाल कामी र गुलशन झाले समान एक-एक विकेट लिनुभयो ।

यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा कुवेतसँगको खेल वर्षाका कारण नतिजाविहीन भएपछि नेपाल समूह विजेताका रूपमा फाइनलमा पुगेको हो । साथै युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?