सिरियाका राष्ट्रपतिद्वारा मध्यपूर्वमा शान्ति स्थापनार्थ चीनको भूमिकाको प्रशंसा

Read Time = 3 mins

दमास्कस । सिरियाका राष्ट्रपति बशर अल असदले सिरियाप्रति चीनको सहयोगी अडान र इरान-साउदी मेलमिलापलगायत महत्वपूर्ण क्षेत्रीय समस्या समाधानमा चीनको भूमिकाको प्रशंसा गर्नुभएको छ । शनिबार राजधानी दमास्कसमा मध्यपूर्व मामिलाका लागि चीनका विशेष दूत झाई जुनसँगको भेटमा असदले उक्त टिप्पणी गर्नुभएको हो ।

सिरियाको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतासँग सम्बन्धित मुद्दामा चीनको दृढ समर्थनको सिरियाले सराहना गरेको उहाँले बताउनुभयो । सिरियाले बेल्ट एण्ड रोड इनिसिएटिभको फ्रेमवर्कभित्र रहेर चीनसँग विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई मजबुत बनाउन चाहेको उहाँले बताउनुभयो ।

यसैबीच असदले इरान र साउदी अरबबीचको मेलमिलापमा सफलतापूर्वक मध्यस्थता गरेकोमा चीनलाई बधाई दिँदै यसले क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिमा महत्वपूर्ण र सकारात्मक प्रभाव पार्ने बताउनुभएको छ ।

सिरियाको अन्य अरब राष्ट्रसँगको सम्बन्धलाई प्रबद्र्धन गर्न चीनले खेलेको सकारात्मक भूमिकाको प्रशंसा गर्दै असदले क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न चीनले ठूलो भूमिका निर्वाह गरेकोमा स्वागत गर्नुभयो ।

हालैका वर्षमा चीन-सिरिया सम्बन्ध निरन्तर विकसित हुँदै गएको र राजनीतिक पारस्परिक विश्वास निरन्तर वृद्धि भएको उल्लेख गर्दै सिरियासँग मिलेर दुई देशको मुख्य चासोका विषयमा एकअर्कालाई दृढतापूर्वक सहयोग गर्न र नयाँ प्रगति हासिल गर्न दुवै पक्षबीच मैत्रीपूर्ण सहयोग लाई बढावा दिन चीन इच्छुक रहेको झाईले बताउनुभयो ।

झाईले सिरियाको स्वतन्त्रता, सार्वभौमिकता, क्षेत्रीय अखण्डताको सम्मान र कायम राख्नुपर्ने उल्लेख गर्दै संयुक्त राज्य अमेरिका र पश्चिमा मुलुकलाई सिरियाविरुद्ध एकतर्फी प्रतिबन्ध र आर्थिक नाकाबन्दी तत्काल हटाउन आग्रह गर्नुभयो । उहाँले सिरियाली जनतालाई मानवीय र विकास सहायता प्रदान गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै चीन सिरियाको अरब मुलुकसँगको सम्बन्ध सुधारमा रचनात्मक भूमिका निर्वाह गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?