पढ्न जाने विद्यार्थीलाई सहज सटही सुविधा

Read Time = 6 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीका लागि सटही सुविधामा सहजीकरण गरेको छ । अब वैदेशिक अध्ययनको स्वीकृतिसम्बन्धी विवरण अर्थात् नो अब्जेक्सन लेटरका आधारमा सटही सुविधा पाइनेछ । केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७९ संशोधन गर्दै नो अब्जेक्सन लेटरका आधारमा सटही सुविधा दिने व्यवस्था गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको वैदेशिक अध्ययन स्वीकृतसम्बन्धी निर्देशिका, २०७९ बमोजिम मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध वैदेशिक अध्ययनसम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउनुपर्ने संशोधित परिपत्रमा उल्लेख छ ।

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ अनुसार राष्ट्र बैंकको निर्देशनका आधारमा विदेशी मुद्रा सटही सुविधा सम्बन्धित विद्यार्थीले पेश गरेको अनुमतिपत्रको विवरण, बैंकले अनलाइनमार्फत् रुजु गरी सटही सुविधासम्बन्धी कार्य गर्नुपर्नेछ ।

बैंकले विदेशी मुद्रा सटही सुविधा दिएपछि कुन-कुन शीर्षकमा के-कति सटही सुविधा उपलब्ध गराएको हो, सोको विवरण तथा सटही सुविधापछि सो सुविधाअनुसारको विदेशी मुद्रा फिर्ता गरेको भए सोको विवरण उपदफा ९४० बमोजिमको पोर्टलमा प्रविष्ट गर्नुपर्नेछ ।

त्यस्तै, नयाँ व्यवस्थाअनुसार नेपाली नागरिकले पाँच हजार डलरसम्मको सटही सुविधा पाउनेछन् । यसअघिको परिपत्रमा कुनै मनी चेञ्जरले नेपाली नागरिकलाई पाँच सय डलर बराबरको सटही सुविधा दिन सक्ने उल्लेख थियो । तर, आफन्तले दिने गिफ्ट, टिप्सलगायत भने पाँच सय डलरमात्रै सटही गर्न सकिनेछ । राष्ट्र बैंकले नेपालमा कामदारका रूपमा रहेका विदेशी नागरिकलाई दिइने पारिश्रमिकको सटही सुविधालगायतमा पनि सहजीकरण गरिदिएको छ ।

यसैबीच नेपालमा उच्च शिक्षा अध्ययनको अवस्था र वैदेशिक शिक्षा आर्जनका अवसर र चुनौतीलगायतका विषयमा अन्तरक्रिया आयोजना गरिएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)सँगको सहकार्यमा वानअपले काठमाडौंमा आयोजना गरेको एडुक्लेभमा सहभागी वक्ताहरूले वैदेशिक शिक्षामा विद्यार्थीलाई रोक्न नहुने बताएका छन् । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि उचित वातावरण बनाउनुपर्ने तर नेपाल फर्काउने वातावरण पनि बनाउनुपर्ने उनीहरूको जोड छ । वैदेशिक शिक्षाका लागि नेपालबाट हजारौं युवा युरोप, अमेरिका, क्यानडा, जापान, कोरियालगायत मुलुकमा पुग्ने गरेको भन्दै उनीहरूले नेपालमै पनि गुणस्तरीय शिक्षा प्रदानमा जोड दिनुपर्ने बताएका छन् ।

हाम्रो शिक्षा प्रणाली, नयाँ दृष्टिकोणको आवश्यकता विषयक छलफलमा पूर्वपरराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल, शिक्षा मन्त्रालयका पूर्वसचिव दीपेन्द्रविक्रम थापा, इक्यानका अध्यक्ष प्रकाश पाण्डे र अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक मानसी अग्रवालले प्रस्तुति दिएका थिए । सांसद प्रदीप पौडेलले सरकारले एनओसी बन्द गर्नुभन्दा विश्वविद्यालय राम्रो बनाउनुपर्ने बताउनुभयो । नेपालमै विश्वविद्यालय राम्रा भए भने पढ्न अन्त कोही नजाने उहाँको दाबी छ ।

पूर्वपरराष्ट्रमन्त्री विमला राईले नेपालमा कुनै पनि विद्यार्थीले बाहिरजस्तो गुणस्तरीय शिक्षा भनेर खोजी गर्दा गुणस्तरीय शिक्षा नेपालमै उपलब्ध गराउनु पहिलो दायित्व हुनुपर्ने बताउनुभयो । विदेशिने नेपाली विद्यार्थीः अवसर वा जोखिम विषयमा पूर्वपर्यटनमन्त्री तथा सांसद योगेश भट्टराई, अस्ट्रेलियाका लागि पूर्वनेपाली राजदूत लक्की शेर्पा, शैक्षिक अभियन्ता सविन जोशी, डिसहोम मिडियाका सञ्चालक सुदीप आचार्य, वरिष्ठ पत्रकार युवराज घिमिरे र ग्लोबल इक्वालिटीका फाउण्डिङ म्यानेजिङ पार्टनर मनिष थापाबीच अन्तरक्रिया भएको थियो ।

सहभागीहरूले विदेश पढ्न जाने क्रमसँगै उतै पलायन हुने प्रवृत्तिले देशलाई ठूलो नोक्सानी भइरहेको बताएका थिए । पछिल्लो समय बाहिरका विश्वविद्यालयमा पढ्ने चाहिँ जान्ने र नेपालको विश्वविद्यालयमा पढ्ने नजान्ने भन्ने किसिमको सन्देश प्रवाह भइरहेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?