सुदूरपश्चिममा मन्त्रीविहीनको असरः नयाँ बजेटको तयारी नै प्रभावित

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । सरकार गठन र विस्तारमा देखिएको किचलोले सुदूरपश्चिम प्रदेशका चारवटा मन्त्रालय चार महिनादेखि मन्त्रीविहीन छन् ।

मन्त्रालयको नेतृत्व गर्ने मन्त्री नहुँदा चालू वर्षको बजेट कार्यान्वयन र आगामी वर्षको बजेटका लागि योजना तर्जुको काम प्रभावित बनेका छन् ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय गत २६ पुसदेखि मन्त्रीविहीन छन् । गत मंसिरमा भएको निर्वाचन मार्फत नयाँ जनप्रतिनिधि आएपछि २६ पुसमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । तर, मन्त्रिपरिषद् विस्तार गर्न नपाउँदै उहाँको सरकार एक महिनामै ढल्यो ।

सदनमा उहाँले विश्वासको मत पाउन सक्नुभएन । भागबन्डा र विश्वासको मतको किचलोले नियुक्त गरेका दुई विनाविभागीय मन्त्रीलाई समेत उहाँले जिम्मेवारी दिन सक्नुभएन । रावल पदमुक्त भएपछि २६ माघमा नियुक्त भएका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट दुईतिहाइ मत पाउनु भयाे । सत्ता गठबन्धनबीच भागबन्डा नमिल्दा करिब तीन महिनासम्म पनि उहाँले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएकाे छैन ।

सात सदस्यीय मन्त्रिपरिषद्मा चार मन्त्रालय रिक्त छन् । सरकारमा अहिले कांग्रेसबाट मुख्यमन्त्रीसहित प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र एकीकृत समाजवादीबाट नरेशबहादुर शाही आर्थिक मामिलामन्त्री हुनुहुन्छ। बाँकी चार मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफैँसँग राख्नुभएकाे छ । लामो समयदेखि मन्त्रीविहीन हुँदा मन्त्रालयहरूले नयाँ बजेटका लागि योजना तर्जुमा प्रक्रियालाई अगाडि बढाउन सक्नुभएकाे छैन ।

आर्थिक वर्षको अन्त्यतिर नयाँ बजेट निर्माण र चालू बजेट कार्यान्वयनको चटारो हुनुपर्नेमा मन्त्री नहुँदा दुवै काम प्रभावित बनेका कर्मचारी बताउँछन् । आगामी बजेटको ‘सिलिङ’ यसअघि नै तोकिइसकेको भए पनि मन्त्री नभएकाले मातहतका कार्यालयलाई बाँडफाँट गर्न नसकिएको अधिकारीहरुले बताएका छन् ।

‘सिलिङ बाँडफाँटका लागि मन्त्रीको निर्णय चाहिन्छ । नेतृत्व नहुँदा आगामी योजना तर्जुमा प्रक्रिया अगाडि बढाउन गाह्रो भइरहेको उनीहरुले बताएका हुन् । मन्त्री नहुँदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ठाउँ, ठेगाना फरक परेर सामान्य त्रुटि भएका एक दर्जन योजना सच्याउन सकेको छैन । मन्त्रालयका अनुसार योजनाका त्रुटि सच्याउन मन्त्रीस्तरीय निर्णय गरेर आर्थिक मामिला मन्त्रालयमा पठाउनुपर्छ । आर्थिक वर्षको अन्त्यतिर पनि ती योजनाहरू कार्यान्वयनमा नजाँदा सम्पन्न गर्न चुनौती छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?