सहायक श्रीमान् लाई एक करोड ३० लाख रुपैयाँ सहयोग प्राप्त

Read Time = 3 mins

काठमाडौं । नेपालको बहुपति प्रथा बारेमा जानकारी गराउने गरी निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को-हसबेन्ड)ले जापानमा एक करोड ३० लाख रुपैयाँको सहयोग प्राप्त गरेको छ । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित को-हसबेण्डले जापानको क्युशु शहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिबलमा एक लाख अमेरिकी डलर (एक करोड तीस लाख नेपाली रुपैयाँ) फिल्म फण्डिङ प्राप्त गरेको हो ।

को-हसबेण्डले एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जित्न सफल भएको छ । मेहोदो महोत्सवमा १२२ देशका ३५ सय ३३ वटा फिल्महरू प्रतिस्पर्धामा थिए । अन्तिम प्रतिस्पर्धामा को-हसबेण्डले यो पुरस्कार जितेको हो । अप्रिल १९ बाट सुरु भएको १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई को-हसबेण्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो ।

यसैगरी, को-हसबेण्डले क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा को-हसबेण्डले उत्कृष्ट पुरस्कार पाएको छ ।

यसअघि को–हसबेण्डले अमेरिका, भारत, रसिया, स्लोभाकियालगायत देशमा अवार्ड जितिसकेको छ । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ)मा सार्वजनिक गरिएको ‘को-हसबेण्ड’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित एक हजार अमेरिकी डलर जित्न सफल भएको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको थियो । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुनुहुन्छ ।

यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र पुकार तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गर्नुभएको हो । संगीत संयोजन संगीतकार जुगल डंगोलले गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?