फ्रेण्ड्सविरुद्ध चर्चको रोमाञ्चक जित, रेलिगेसन क्षेत्रबाट उक्लियो हिमालयन शेर्पा

लिगमा आज दुई खेल हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेण्ड्स क्लबले चर्च ब्वाइज युनाइटेडसँग दुई-एकको हार बेहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको १४औँ मिनेटमा बेन क्वेन्सले गरेको गोलबाट फ्रेण्ड्सले अग्रता बनाएको थियो । डोना थापाले गरेको फ्रिकिकमा क्वेन्सले हेडर गोल गर्दै फ्रेण्ड्सलाई अग्रता दिलाउनुभएको थियो । तर, अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा फ्रेण्ड्सले महत्वपूर्ण तीन अंक गुमायो । ७औँ मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत् गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काउनुभयो । फ्रेण्ड्सका ‘स्कोरर’ समेत रहनुभएका क्वेन्सले एक यार्ड बक्सभित्र रञ्जित पान्द्रेलाई तानेर लडाएपछि चर्चले पेनाल्टी पाएको थियो । जसमा अञ्जनले कुनै गल्ती गर्नुभएन । खेलको इन्जुरी समयमा आशिष चौलागाईंले गरेको गोल निर्णायक बन्यो ।

जितसँगै १४ खेलबाट २४ अंक जोडेको चर्च ब्वाइज तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १५ अंक जोडेको फ्रेण्ड्स रेलिगेसन क्षेत्रमा झरेको छ । लिगमा बुधबार नै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले सातदोबाटो युथ क्लबविरुद्ध एक-शून्यको जित निकाल्दै रेलिगेसन क्षेत्रबाट उक्लिएको छ । च्यासल रंगशालामा खमिर गिल्सेन कन्दन्वाले ६५औँ गरेको गोल निर्णायक बन्दा हिमालयन शेर्पा रेलिगेसन क्षेत्रबाट उक्लिएको हो ।

जितसँगै १४ खेलबाट १७ अंक जोडेको शेर्पा आठौँ स्थानमा उक्लिएको छ । समान खेलबाट २२ खेलबाट २२ अंक जोडेको सातदोबाटो युथ क्लब चौथो स्थानमा झरेको छ ।

लिगमा आज (बिहीबार) दुई खेल हुनेछन् । दिनको पहिलो खेल एन्फा कम्प्लेक्समा विभागीय टोली एपिएफ र न्युरोड टिम (एनआरटी) तथा दोस्रो खेल दशरथ रंगशालामा मच्छिन्द्र र संकटाबीच प्रतिस्पर्धा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?