नवनियुक्त तीन मन्त्री धनराज, मोहन र डिगका तीन प्रतिबद्धता

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीलाई शपथ गराउनुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले उहाँहरूलाई बुधबार मन्त्री पदमा नियुक्त गर्नुभएको हो । तीनजना नै कांग्रेसका तर्फबाट मन्त्री बन्नुभएको हो । कानुनमन्त्री बन्नुभएका धनराज गुरुङ नेपाली कांग्रेसका उपसभापतिसमेत हुनुहुन्छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत केन्द्रीय सदस्य हुनुहुन्छ । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी कर्मचारी लगायतको सहभागिता थियो । तीनै जनाले बिहीबार नै पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै तीनै मन्त्रीले विभिन्न निर्णय र प्रतिबद्धता जनाउनुभएको छ ।

न्याय ढिलो हुन नदिने पहिलो प्राथमिकता : कानुनमन्त्री
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले कुनै पनि योजना अघि बढाउँदा सम्पूर्ण जानकारी लिएर मात्र काम गर्ने बताउनुभयो । आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने रहेको उहाँको भनाइ छ । ‘कुनै पनि कुरामा आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखिनेछ । कुनै पनि योजना अघि बढाउँदा कति लगानी, लागत, किस्ताबन्दीमा कति के भन्ने कुरा निकालिनेछ,’ उहाँले भन्नुभयो, ‘सुशासन, न्याय ढिला हुने कुरामा प्राथमिकता हुनेछ, त्यसको अन्त्यका लागि प्रयास हुनेछ, म यसमा चुस्त र दुरुस्त बनाएर अघि बढुनेछु ।’ कुनै पनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने उहाँले बताउनुभयो । ‘कानुनबमोजिम सबै चल्नुपर्छ । कानुनभन्दा माथि कोही पनि हुँदैन,’ उहाँले भन्नुभयो, ‘कुनै पनि क्षेत्रको भ्रष्टाचारको सन्दर्भमा कसैलाई छुट हुँदैन ।’

१८ घण्टा समय दिएर काम गर्नेछु : खेलकुदमन्त्री
नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरूले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्ने गरी काम गर्ने बताउनुभएको छ । बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताउनुभयो । आम नागरिकले देख्ने गरी काम गर्ने उहाँको भनाइ छ । ‘समग्र खेलजीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा अहिलेसम्म अभाव छ, खेलाडी र पदाधिकारीले जे अभाव महसुस गर्नुभएको छ, त्यसलाई मध्यनजर गरेर काम गर्ने प्रयास गर्नेछु,’ उहाँले भन्नुभयो, ‘सकेसम्म देखिने र धेरै मानिसको चित्त बुझ्ने गरी काम गर्नेछु । हरेक कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ । म १८ घण्टाको समय दिएर काम गर्नेछु ।’

स्वास्थ्यमन्त्री बस्नेतका चार निर्णय
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले कोभिड, डेंगु र अन्य सरुवा रोग फैलिन नदिन तीनै तहका सरकारको समन्वयमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गर्नुभएको छ । बिहीबार पदभार ग्रहण गरेलगत्तै मन्त्री बस्नेतले स्वास्थ्य बिमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने दोस्रो निर्णय गर्नुभएको हो । त्यस्तै, आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकलाई अधिकतम परिचालन गर्ने निर्णय गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?