भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान-२०७९’ दीप श्रेष्ठ र शक्ति वल्लभलाई प्रदान

Read Time = 3 mins

काठमाडौं । भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ यो वर्ष गायक दीप श्रेष्ठ र संगीतकार शक्ति वल्लभलाई प्रदान गरिएको छ । भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्स्प्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा हरेक वर्ष प्रदान गरिँदै आएको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ आज राजधानीमा एक कार्यक्रम आयोजना गर्दै प्रदान गरिएको हो ।

यो वर्ष गायनतर्फ गायक श्रेष्ठ र संगीततर्फ संगीतकार वल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको हो । यसको पुरस्कार राशि जनही ५० हजार रुपैयाँ छ । धेरै पुरस्कार तथा सम्मान पाए पनि भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान पाउँदा भने आफूहरूलाई विशेष लागिरहेको उहाँहरूले बताउनुभयो ।

यस्तै, ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक भिपी सिंहलाई प्रदान गरिएको छ । ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ गत वर्षदेखि कमजोर आर्थिक अवस्था भएका तथा औषधोपचार गर्नबाट वञ्चित भएका संगीतकर्मीलाई दिन सुरु गरिएको हो । यसको पुरस्कार राशि २५ हजार रुपैयाँ छ । सो अवसरमा संगीतकार शक्ति वल्लभले भजन शिरोमणि भक्तराज आचार्य संगीतको विश्वविद्यालय भएको बताउनुभयो । संगीतका साधक भक्तराज आचार्य आफूलाई मनपर्ने गायक भएको भन्दै उहाँ नेपाली सांगीतिक क्षेत्रको विश्वविद्यालय भएको जिकिर गर्नुभयो ।

वल्लभले भक्तराज आचार्यलाई उहाँका छोराहरू सत्यराज आचार्य र स्वरूपराज आचार्यले संगीतको विश्वविद्यालय बनाएको बताउनुभयो । ‘सुरुमा भक्तराज आचार्य संगीतको स्कुल हुनुहुन्थ्यो । यो स्कुललाई अहिले सत्य र स्वरूपले संगीतको विश्वविद्यालय बनाएका छन्’, शक्ति वल्लभले भन्नुभयो, ‘यसलाई सत्य र स्वरूपले अझै बृहत् बनाउँदै लैजाने मेरो विश्वास छ ।’ यस्तै, गायक दीप श्रेष्ठले नेपाली सांगीतिक क्षेत्रमा भक्तराज आचार्यको अतुलनीय योगदान रहेको चर्चा गर्नुभयो । रेडियो नेपाललाई आचार्यले ठूलो योगदान दिएको दीपको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?