म्याग्दीको भकिम्लीमा घरबास व्यवस्थापनसम्बन्धी तालिम सुरु

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको डोलेमा सिपमूलक घरवास पर्यटन व्यवस्थापन तालिम सुरु भएको छ ।

‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद’ धवलागिरि प्राविधिक शिक्षालय थासाङ गाउँपालिका–३, लेते, मुस्ताङको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

बेनपा–३, भकिम्ली वडा कार्यालय र धौलागिरि पर्यटन परिषद म्याग्दीको समन्वय तथा व्यवस्थापनमा १२ दिनसम्मको सिपमूलक घरवास अर्थात् होमस्टे तालिम आजदेखि सुरु भएको आयोजकले जनाएको छ । तालिमको उद्घाटन गर्दै भकिम्लीका वडा अध्यक्ष पदमबहादुर पुनले ग्रामीण भेगमा सञ्चालित होमस्टे तालिमले स्थानीय उत्पादनको प्रचारप्रसार हुनुका साथै बिक्री, वितरण तथा बजारीकरणमा सहयोग पुग्ने बताउनुभयो ।

वडाध्यक्ष पुनले घरवास पर्यटन व्यवस्थापनसम्बन्धी तालिमले ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने बताउँदै अब गाउँमा खाली तथा बाँझो रहेका जग्गा जमिनहरुको व्यवस्थापनको साथै गह्रा सुधार गरी खेतीयोग्य जमिनको रुपमा परिणत गर्नुपर्ने बताउनुभएको छ । उहाँले स्थानीयवासीलाई उत्पादन र व्यवसायमा जोडिएर आफ्नो आर्थिकस्तर सुधार गर्न सकेको खण्डमा विदेश जानुनपर्ने भन्दै तालिम लिएपछि प्रभावकारी रुपमा होमस्टे कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

धौलागिरि पर्यटन परिषद म्याग्दीका अध्यक्ष अमर बानियाँले ग्रामीण भेगमा होमस्टे कार्यक्रम सञ्चालन गरी स्थानीयको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित धवलागिरि प्राविधिक शिक्षालयको समन्वयमा पर्यटन परिषदमार्फत घरवास तालिम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले म्याग्दी पर्यटकीय सम्भावना बोकेको जिल्ला भए पनि त्यसको उपयोग तथा प्रचारप्रसार हुन नसकेको बताउँदै अब घरवास कार्यक्रममार्फत ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले म्याग्दी जिल्लाको धेरै ठाउँमा होमस्टेलगायत पर्यटनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ ।

धौलागिरि प्राविधिक शिक्षालय लेते, मुस्ताङका प्रशिक्षक लोकेश खड्काले होमस्टे कार्यक्रमसम्बन्धी तालिम छोटो र लामो अवधिको हुने बताउँदै अहिले भकिम्लीमा छोटो अवधिको तालिम आयोजना गरिएको जानकारी दिनुभयो । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा, म्याग्दीका अध्यक्ष दिपक पौडेलले उद्यमको विकास गरेर अगाडि बढ्नुपर्ने बताउँदै भकिम्ली क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकास, प्रवद्र्धन र प्रचारप्रसारका लागि होमस्टे कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

तालिमका प्रमुख प्रशिक्षक घनश्याम गिरीले होमस्टे तालिमले आफ्नो दैनिकीलाई परिमार्जन गरेर अगाडि बढाउने बताउँदै अहिलेको समय धेरै प्रतिस्पर्धात्मक रहेकाले तालिममा सिकेको ज्ञान, सिपलाई व्यावसायिक रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । भकिम्लीका स्थानीय अगुवा प्रितीप्रसाद पुनले भकिम्लीमा होमस्टे कार्यक्रम सञ्चालन गर्न विगतमा आफूले धेरै प्रयास गरेको भए पनि त्यो सफल हुन नसकेको भन्दै अब होमस्टे सञ्चालन गर्नका लागि आफू तयारी अवस्थामा रहेको बताउनुभयो ।

भकिम्लीका २० जना सहभागी तालिममा होमस्टे कार्यक्रमको विभिन्न विषयहरुमा सहजीकरण गरिने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?