राजधानीका अव्यवस्थित तारको व्यवस्थापन गर्दै महानगर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका अव्यवस्थित तार हटाउन सुरु गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाबीच आइतबार भएको छलफलमा सोमबारदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेवाप्रदायक कम्पनी सहमत भएपछि तार हटाउन सुरु गरिएको हो ।

महानगर बलका प्रहरी उपरीक्षक मनोज लामिछानेका अनुसार सोमबार माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तार हटाइएको छ । महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवाप्रदायक कम्पनीलाई यही वैशाख २७ गतेभित्र अव्यवस्थित तार हटाउन आग्रह गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौं महानगरसहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो । त्यसलगत्तै महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको थियो ।

वैशाख २७ गतेसम्म सरोकारवाला निकायले तार नहटाए महानगरपालिका आफैँले हटाउने तयारी गरिरहेको महानगर बलका प्रहरी उपरीक्षक लामिछानेले बताउनुभयो । ‘आइतबारको छलफलमा सोमबारदेखि नै तार हटाउने विषयमा सहमति भएको थियो, त्यहीअनुसार हामीले तार हटाउन सुरु गरेका हौँ । सुरुमा माइतीघर मण्डला र न्युरोड क्षेत्रमा रहेका अव्यवस्थित तारको व्यवस्थापन गरिनेछ ।’

आइतबार भएको बैठकले राजधानीका विभिन्न क्षेत्रमा चरणबद्ध रूपमा तार व्यवस्थापन गर्ने निर्णय गरेको इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)ले जनाएको छ । सहमतिअनुसार झुण्डिएका तार काट्ने र प्रयोग नभएका ५० प्रतिशत तार हटाइने भएको छ । पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्युरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने बताइएको छ । अव्यवस्थित तारका कारण पछिल्लो समय राजधानीमा दुर्घटना बढिरहेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?