लोकतान्त्रिक गणतन्त्र कि भोगतान्त्रिक तन्त्र ?

Read Time = 18 mins

- भुपेन्द्र थापा (माधव)
हतियारयुक्त सशस्त्र संघर्षभन्दा कुविचारबाट लडिने युद्ध वा संघर्षमूलुक र जनताका लागि खतरनाक एवं घातक सावित हुन्छ । नेपाली राजनीतिमा पार्टीहरूले गर्दै आएका बेइमानी बेविचार र गलत प्रवृत्तिप्रति प्रायः सबै नेता र कार्यकर्ता जानकार हुँदाहुँदै पनि नेतृत्वले जे जस्तो गरे पनि सोह्रैआना सही हो भन्नुपर्ने कार्यकर्ताको बाध्यताले नेपाली राजनीति डम्पिङ साइडको फोहोरमा परिणत हुन पुगेको छ । राजनीतिक ठेकेदारहरूको गलत व्यवहार र गलत भनाइको सही सुन्ने कान, सही देख्ने आँखा भएका अन्धभक्त कार्यकर्ता भएपछि त्यस्तो समाजविरोधी पंक्तिले समाजमा कस्तो सन्देश प्रवाह गर्ला ?

आज नेपाली राजनीति पार्टीभित्र विचार, सिद्धान्त र आदर्शका जगमा उभिने कुनै पनि सदस्य छैनन् । छन् त केवल नेताका भजनमण्डली, यदि नैतिकवान र इमानदार सदस्य हुने थिए भने नेतृत्वको सामूहिक, नैतिक पतन र सांस्कृतिक विचलनप्रति अवश्य स्वस्थ आलोचना र खबरदारी गर्ने थिए । यस्तै राजनीतिमा मौलाएको प्रवृत्तिका कारण राजनीतिलाई आफ्नो पैत्रिक सम्पत्ति ठान्ने, विरासतको विगुल फुक्दै हिँड्ने राजनीतिक दल र नेतृत्वको विस्तारै गति समाप्त हुन्छ भन्ने कुराको पूर्वसंकेत गत मंसिर ४ को निर्वाचन देखि भर्खरै सम्पन्न उपनिर्वाचनको परिणामले प्रमाणित गरि दिएको छ ।

पुराना दलहरूको यो अनपेक्षित परिणामबाट कसैले उत्साहित र निरुत्साहित हुनुपर्ने छैन । बरु ठूला र स्थापित भन्ने पुराना राजनीतिक दलहरूले समय नघड्किँदै बुझ्न र सच्चिन जरुरी छ कि यो मत परिणामले उनीहरूप्रति व्यक्त गरेको ‘राइट टु रिजेक्ट’ को एउटा जबर्जस्त बलियो प्रमाण हो । यो दलहरूप्रतिको अनादर मात्रै हुँदै होइन, संघीयता, धर्मनिरपेक्ष, समावेशी, समानुपातिक स्थानीय सरकार र समग्र गणतान्त्रिक संविधानप्रति आशंका व्यक्त गराउन गरिएको यो जनमत जाहेर भएको पनि कदापि हुँदै होइन र नेपालका स्थापित दलहरूको मूल्य, मान्यता, सिद्धान्त र नीतिप्रतिको जनअवज्ञा थालनिको प्रथम बिन्दु पनि होइन ।

जबसम्म पुराना दलको नेतृत्व र त्यसका अन्धभक्त अनुयायीहरू सच्चिँदैनन् तबसम्म जनतामा वितृष्णा, घृणा, अविश्वास र दलीय आबद्धतामाथिको खाडल तीव्र गतिमा गहिरो र फराकिलो बन्दै जानेछ । जनता बाध्य भएर नयाँ राजनीतिक विकल्पप्रति आर्कषित र नयाँ नेतृत्व खोज्न तयार हुनेछन् ।

हो त केबल नेताहरूको व्यक्तिगत स्वार्थ, अनैतिक महत्वाकांक्षा, गुटबन्दी, परिवारवाद, छाडा प्रवृत्ति र सत्ता केन्द्रित नैतिकहीन, सिद्धान्तहीन र विचारहीनताले निम्त्याएको विकृतिको चरम उपजमात्रै हो । जनता कुनै पार्टी, नेताको दास वा कसैको रैति हुँदै होइनन् । जनता त सचेत एवं चेतनशील समाज निर्माण गर्ने निर्णायक शक्ति, राज्य सञ्चालन, सरकार निर्माणका सशक्त सूत्रधार, दल र नेताहरूका निम्ति मालिक हुन् भन्ने तथ्य स्थापित गराउन गत निर्वाचनको अभिमतहरूले प्रष्ट हुँदैन र ? जबसम्म पुराना दलको नेतृत्व, त्यसका अन्धभक्त अनुयायीहरू सच्चिँदैनन् तबसम्म जनतामा वितृष्णा, घृणा, अविश्वास र दलीय आबद्धतामाथिको खाडल तीव्र गतिमा गहिरो र फराकिलो बन्दै जानेछ । जनता बाध्य भएर नयाँ राजनीतिक विकल्पप्रति आर्कषित नयाँ नेतृत्व खोज्न तयार हुनेछन् । परम्परागत राजनीतिक दल, नेतृत्वको अद्योगतिको मार्गचित्र गत स्थानीय निर्वाचनदेखि भर्खर सम्पन्न उपनिर्वाचनसम्म आइपुग्दा प्रष्ट भइसकेका छन् ।

असल राजनीतिमा इमान, नैतिक, सदाचार, पार्दशी वचनप्रति प्रतिबद्धलगायत गुणहरूको अपेक्षा राख्ने गरिन्छ, तर विडम्बना नेपाली राजनीतिमा पछिल्ला परिदृष्य भने त्यसको ठीकविपरीत पुष्टि भएको छ । यस्ता विकसित विकृतिका कारण असल, सक्षम, इमानदार व्यक्तिहरू राजनीतिबाट बहिर्गमित वा पलायन हुन बाध्य छन् । जसले गर्दा समग्र राजनीति बदनाम, दलाल, भ्रष्ट र अनैतिक झुण्डहरूको अड्डा झैं भएको छ । यसले मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक रूपान्तरणको नेतृत्व लिनबाट राजनीति नराम्रोसँग चुक्न पुगेको छ । मुलुक झण्डै साढे तीन दशकदेखि मूलतः परम्परागत राजनीतिक दल र त्यसका नेताहरूको चरम स्वार्थ र गहन महत्वाकांक्षाको बन्धक बन्दै आएको छ । राजनीति सबैभन्दा माथिल्लो मुहान हो ।

यसलाई सफा स्वस्थ र संलो राखिराख्न सकिएमात्र सामाजमा वितरण हुने सामाजिक सेवा वितरण, सामाजिक न्याय र सामाजिक सुरक्षाजस्ता मौलिक हकअधिकार निरन्तर सहज, सरलै वितरण हुँदै जानेछन् । तर राजनीतिक मुहानको मूल चरित्रलाई धमिलै छाडेर अरू तपसिलका विषय संलो खोज्नु मूर्खतामात्र हुनेछ । त्यसकारण राजनीतिको उचाइको मापन नैतिकता र आर्दशको बलमा उभिएको क्षमता, दक्षता भएको हुन आवश्यक छ । यी गुणविनाको राजनीतिक उचाइ शून्यसरह हुनेछ । गएका केही वर्षयता देखिएका संस्थागत भ्रष्टाचारदेखि लेनदेनका बार्गेनिङबाट के प्रष्ट हुन्छ भने राजनीति फोहोरको थुप्रोमा बिस्तारै–बिस्तारै परिवर्तन हुँदैछ ।

त्यसको उदाहरण नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महराको चाइनिजसँग, गोकुल बाँस्कोटाको पिन्टिङ पे्रस खरिदमा र नयाँ शक्तिको रूपमा उदाएको रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको मन्त्री बन्न पैसा दिनुपर्ने भन्दै व्यापारी दुर्गा प्रसाईंसँग गरेको लेनदेनको बार्गेनिङ नेपालको राजनीतिक दल र त्यसको नेतृत्व कुन सामाजिक धरातलमा उभिएको छ, प्रष्ट हुन्छ । नेपाली राजनीतिक मुहान सफा हुनुपर्छ भन्ने असल इमानदार राजनीतिक नेताहरू सबै पार्टीबाट गलहत्तिएका छन् जस्तै : नेपाली कांगे्रसभित्र कृष्णप्रसाद भट्टराईदेखि गणेशमान सिंह र प्रदीप गिरिसम्म, नेकपा एमालेमा भीम रावलहरू, नेकपा माओवादी केन्द्रमा मोहन वैद्य, विप्लव, धमेन्द्र, लोकेन्द्र विष्टलगायत जस्ता प्रतिबद्ध नेताहरू टिक्न सकेनन् ।

त्यसको पछिल्लो उदाहरण हो नेपाली कांगे्रसकको रूखको ओत लागेर बसेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त अर्थविद् डा.स्वर्णिम वाग्लेलाई पनि देउवा र आरजुको लेनदेनको अनैतिक झरीको बाछिटाले वाग्लेलाई पनि भिजायो । नेपाली राजनीतिक वृत्तमा लामो कालखण्डदेखि चाकडी, चाप्लुसी, भजनमण्डली, कोसेलीपात, आर्थिक लेनदेन र उपहार चढाउने राजनीतिले समग्र राजनीति धमिलेको छ । यसले समग्र राजनीतिक नेतृत्व नैतिक र इमानदारीबाट पतित भएको देखिन्छ । समाजमा विद्यमान राजनीतिक अभ्यास, नेतृत्वको स्वार्थी प्रवृत्तिले राजनीतिलाई नै आफ्नो आकांक्षा अनुकूल उपयोग र उपभोगको साधन बनाइएको छ । समाज र राजनीतिमै लागू हुने सार्वभौम नियमानुसार हरेक चल्न सक्नुपर्दछ । कुनै प्रणाली वा व्यवस्था सही, सहज रूपमा सञ्चालन गर्न राजनीतिक नेतृत्व, सबै तहका जननिर्वाचित प्रतिनिधि, आमजनताबीच अन्तरसम्बन्ध र सहकार्य आवश्यक पर्दछ । त्यसले मात्र असल प्रतिनिधिको आकांक्षा राख्ने सचेत र चेतनशील समाजसँगै असल एवं जनता र मुलुकप्रति उत्तरदायी सरकारको आकांक्षा राख्ने प्रतिनिधिको समूह निर्माण हुन्छ ।

राजनीतिक इमान र सामाजिक चेतनाले समाजका प्रत्येक एकाइहरूको इमान र आदर्शको जरामा सामाजिक चेतनाको मलजल र गोडमेलले न्युजिल्याण्ड संसारकै सबैभन्दा कम भ्रष्ट र स्वाभिमान मुलुकको सूचीमा दर्ज भएको छ । यो शिक्षा नेपाली राजनीति र नेतृत्वले कहिले ग्रहन गर्न सक्लान् ?

त्यसका लागि विगत कोट्याएर लामो इतिहास खोतल्न आवश्यक पर्दैन जहानियाँ १०४ वर्षे तानाशाही राणा शासनको कुरा कति गर्नु, अँध्यारो पञ्चायतको कालो ३० वर्षे निरंशुकताको बहस पनि धेरै भयो, २०४७ सालको प्रजातन्त्र पुनस्र्थापनासँगै बहुदल आएपछिका सुरुवाती १६ वर्ष देशको राजनीति कुन हदसम्म धमिलियो ? त्यसको पनि अब कुरा गर्नुको खासै त्यति अर्थ नहोला, नेपाली राजनीतिमा देखिएका संस्कार, संस्कृति, व्यवहार र त्यसको समालोचनामाथि थेसिस लेख्न विगत २०६२/०६३ को जगमा दोस्रो जनक्रान्तिपछि निकट विगतका लगभग १६ वर्ष पर्याप्त हुन्छ ।

शासन व्यवस्थाको स्वरूप नाममा कुनै तन्त्र वा वाद नौलो भए तापनि शासन व्यवस्थाको शिखरमा बस्ने शासक वा राजनीतिक नेतृत्वको सोचमा कुनै परिवर्तन नआएपछि मुलुक र जनताको अवस्थामा खासै तात्विक अन्तर आउने कुरै भएन । त्यसको पुष्टि विगतका १६ वर्षे लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाले प्रमाणित गरिसकेका छ । संसारका विकसित मुलुकहरूमा समय–समयमा राजनीतिक दल र नेतृत्वहरूको लोकप्रियताको सर्वेक्षण गर्ने गर्दछन् र सर्वेक्षण नतिजामा पार्टी र नेतृत्वको लोकप्रियता खस्कँदै गएको अवस्था देखिएमा पार्टीका नेतृत्वले शुद्धीकरणका लागि सहजै मार्ग प्रसस्त गर्ने गर्दछन्, उदाहरणका लागि न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्दाको प्रसंगमा आमनिर्वाचनको पूर्वसन्ध्यामा भएको सर्वेक्षणमा पार्टीको लोकप्रिया कमजोर देखिएपछि तात्कालीन पार्टी अध्यक्ष एन्ड्रयु लिटिल नेतृत्वबाट हटेर ३७ वर्षीया युवा जसिन्दाले पार्टीको नेतृत्व समालेकी थिइन् ।

राजनीतिक इमान र सामाजिक चेतनाले समाजका प्रत्यक एकाइहरूको इमान र आदर्शको जरामा सामाजिक चेतनाको मलजल र गोडमेलले न्यूजिल्याण्ड संसारकै सबैभन्दा कम भ्रष्ट र स्वाभिमान मुलुकको सूचीमा दर्ज भएको छ । यो शिक्षा नेपाली राजनीति र नेतृत्वले कहिले ग्रहन गर्न सक्लान् ? नैतिकता स्वविवेकीय क्षमता हो र नैतिकता भनेको आफैंले आफ्नो परीक्षा लिने परीक्षार्थी पनि हो । साँचै नैतिकताको परीक्षा लिने हो भने परीक्षामा उत्तीर्ण हुने नेपाली नेताहरूको संख्या प्रतिशत कति होला ? यस्ता काल्पनिक प्रश्नको उत्तर सम्झँदा पनि सिंगो मुलुक र आमजनतालाई कति रेक्टरको रिंगटा चल्दो होला ?
२०४६ सालको प्रजातन्त्र स्थापनादेखि यताको समग्र इतिहास र व्यवहारले देखाएका परिदृश्यबाट यी पुराना राजनीतिक दल र नेतृत्वहरू देश र जनतालाई तहसनहस गर्ने विनासकारी अनियन्त्रित नदी झैँ भएका छन् । जुन नदी बाटो हिँड्ने बटुवाको प्यास मेटाउने एक अँजुली पानी हुन सकेन, किसानको खेतीमा सोझिने सिँचाइ हुनसकेन, माछा मारेर जीविकोपार्जन गर्ने माझीको चुलो बाल्ने आधार बनेन देशको विकास र समृद्धिको ऊर्जा हुन सकेन, त्यो त केवल विनाशको बाढी बनेरमात्र बगिरहृयो, कहिले वारि–पारि गर्ने बटुवालाई बगाएर कहिले किसानको हराभरा खेती उजाडेर त कहिले गाउँ बस्ती र शहरलाई चुर्लुंम डुबाएर आशा, भरोसा र सपनाको विनाशमात्रै गर्दै हिँड्ने अनियन्त्रित विनाशकारी नदीमात्र हुन पुग्यो ।

लामो समयदेखि राजनीतिक विनाशकारी नदीको विपद् व्यहोर्दै आएका पीडित जनताहरू त्यही नदीमा कहिले दायाँ किनारामा त कहिले बायाँ किनारामा ठोकिएका ढुंगाहरू बटुलेर विनाशकारी मानवविरोधी, समाजविरोधी, सभ्यताविरोधी, प्राकृतिक सुन्दरताविरोधी र विकास अनि समृद्धिविरोधी नदीलाई विगत स्थानीय निर्वाचनदेखि संघ र प्रदेशको निर्वाचनसम्म आइपुग्दा केही हदसम्म बाँध लगाएर नदी फर्काउन सफल भएका छन् । जनताको आशा र भरोसाको अमूल्य मत बटुलेर प्रधानमन्त्रीदेखि वडा अध्यक्ष, सदस्यसम्म हुन सफल कुनै पनि प्रतिनिधिलाई राष्ट्रघाती एवं जनविरोधी कार्य गर्ने छुट छैन ।
विगत ३४ वर्षदेखि जनताले झेल्दै आएको राजनीतिक सिन्डिकेट गत उपनिर्वाचनमा सानदार रूपमा तोड्न सफल भएका छन् । यदि फेरि पनि पुराना दल र नेतृत्व नसच्चिने हो भने आउँदो आमचुनावमा सक्किने निश्चित छ । एक माघले चुनावी जाडो जाँदैन २०८४ को माघको जाडोको हेक्का पनि रहोस् निर्वाचन एउटा अस्थायी साधनमात्र हो भन्ने बुझ्न जरुरी छ । आममतदाता र आमनागरिकले सबै तहका नेता, कार्यकर्ता र आफूले निर्वाचित गरी पठाएका आमजनप्रतिनिधिको गलत प्रवृत्तिको स्वस्थ आलोचना गर्न सकेमात्र पार्टी, नेता, कार्यकर्ता, प्रतिनिधि, समाजमा नैतिकता, इमानदारीले प्रश्रय पाउने र धमिलो राजनीतिको मुहान संलिनेछ । सबैको चेतनाको आँखा खुल्न सकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?