एमाले सचिवालय बैठक : केन्द्रिय कमिटी बैठकका लागि १० एजेण्डा तय

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ ।

मंगलबार केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले सो निर्णय गरेको हो । सचिव रायमाझीको नाम पनि सो प्रकरणमा आएकाले उहाँले विधिपूर्वक, कानुनपूर्वक अनुसन्धानको काममा सघाउनुपर्ने निर्णय गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो । पक्राउ पूर्जी जारी गरिएका एमाले सचिव रायमाझी फरार रहनु भएको छ । तर अनुसन्धानको प्रक्रियालाई उहाँले सघाउनुपर्ने पार्टीले निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताउनु भयो ।

उहाँले भन्न भयो, ‘त्यसमा हामीले लामो छलफल गरिराख्न परेन । नेकपा एमाले कानुनको शासनमा विश्वास गर्ने पार्टी हो । त्यसकारण कानुनको परिपालन गर्ने कुरामा हामीले निर्वाह गर्नुपर्ने भूमिकाहरु खासगरी हाम्रो कमरेड टोपबहादुर रायमाझी अनुसन्धानमा सन्दर्भमा उहाँको नाम आएको छ । यो कानुनको शासन, विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक, कानुनपूर्वक अनुसन्धानको प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ ।’

यसैगरी बैठकले यही बैशाख २८ गतेदेखि सुरु हुने पार्टी केन्द्रिय कमिटी बैठकमा प्रस्तुत गर्ने १० वटा एजेण्डाहरु पनि तय गरेको छ । जस अनुसार भदौं १० र ११ गते सम्पन्न केन्द्रिय कमिटी बैठकयताको राजनीतिक घटनाक्रमहरुसहितको राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नु हुनेछ ।

त्यसैगरी मिसन ग्रासरुट अभियानको समिक्षा गरी पार्टी केन्द्रले र प्रदेश कमिटीहरुले वार्षिक कार्ययोजना बनाउने छ । हालसम्म केन्द्रिय सचिवालय बैठकले गरेको निर्णयहरु पनि बैठकले अनुमोदन गर्ने एजेण्डा तय गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताउनु भयो ।

बैठकमा नवप्रवेशीहरुको व्यवस्थापन गर्ने विषयमा पनि छलफल हुने एजेण्डा तय गरिएको छ । समसाययिक राजनीतिक परिस्थितिको समिक्षा गर्ने र अध्यक्ष ओलीको मन्तव्यसहित बैठक समापन गर्ने एजेण्डा एमालेले तय गरेको छ ।

प्रचार विभाग प्रमुख गुरुङले भन्नु भयो, ‘आजको बैठकको मुख्य एजेण्डा चाँही बैशाख २८ गतेबाट सुरु हुने केन्द्रिय कमिटी बैठकको एजेण्डा तय गर्नु थियो । आजको बैठकले हाम्रो केन्द्रिय कमिटी बैठकमा छलफल गर्नुपर्ने विषयहरुको सूचि तयार गरेको छ । पहिले एजेण्डा चाँही २०७९ साल भदौं १० र ११ गते सम्पन्न भएको केन्द्रिय कमिटी बैठकयता आजको मितिसम्म भए, गरेका राजनीतिक घटनाहरुको बारेमा, यस विषयमा धेरै राजनीतिक घटनाक्रमहरु परिवर्तन भएका छन ।नेपालको सन्दर्भमा पनि बाम गठबन्धनको सरकार बनेर, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर त्यो निर्वाचनको म्यान्डेटमा बामपन्थी प्रगतिशील तथा देशभक्तहरुको गठबन्धन सरकार बनेपनि त्यो सरकार ६० दिन नपुग्दै ढल्यो । र, नयाँ गठबन्धनका साथ नयाँ सरकार बनेको छ । हामी प्रतिपक्षमा छौं । यी सबै राजनीतिक घटनाक्रमहरुको बारेमा पार्टी अध्यक्षको तर्फबाट राजनीतिक प्रतिवेदन पेश हुन्छ ।दोस्रो चाँही केन्द्रिय कमिटीको चौंथो बैठकपछि भएको निर्णयहरुको जानकारी र अनुमोदन गराउने काम हुन्छ । यसबीचमा हाम्रो सचिवालयको धेरै बैठकहरु भएको छ । त्यसले महत्वपूर्ण निर्णयहरु गरेको छ । ती महत्वपूर्ण निर्णयहरुको अनुमोदन गराउने काम हुन्छ । तेस्रो, आयोगका प्रमुखहरुको सम्बोधन हुन्छ । खासगरीकन अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र केन्द्रिय सल्लाहकारका अध्यक्षज्यूहरुले छोटोछोटो आफ्नो प्रतिवेदन बैठकमा प्रस्तुत गर्नु हुन्छ ।चौथो, एजेण्डा हाम्रो मिसन ग्रासरुटको छ । त्यसको समिक्षा हुन्छ । यसको समिक्षा चाँही नौं वटै प्रदेशको सात वटा भौगोलिक प्रदेशहरु र दुई वटा गैर भौगोलिक प्रदेशहरुको समिक्षात्मक प्रतिवेदन त्यो प्रदेशको पार्टी प्रमुख, जसले यो अभियानको पनि संयोजन गर्नु भएको थियो । उहाँहरुले प्रस्तुत गर्नु हुन्छ । सचिवहरु नभएको ठाउँमा त्यस प्रदेश कमिटीको इन्चार्ज कमरेडहरुले प्रस्तुत गर्नु हुनेछ । समिक्षात्मक रिर्पोट पछि हामी छलफलमा जान्छौं । त्यो छलफलको आधारमा प्रदेश स्तरीय वार्षिक कार्ययोजना बन्छ । पार्टीले यो मिसन रुटलाई पनि आधार मानेर वार्षिक कार्ययोजना तयार गर्ने काम गर्छ । यो हाम्रो छैठौं एजेण्डा हो । कम्तीमा वर्षमा एक पटक पार्टीका केन्द्रिय कमिटीका सदस्यहरु जुनजुन भूगोलको प्रतिनिधित्व गर्नु भएको भएपनि हामीेले अर्को ठाउँमा पठाउने, त्यसका लागि केन्द्रिय सदस्यहरु तयार हुने । त्यस आधारमा हामी कार्य विभाजन गर्छौं । र, नवप्रवेशीहरुको पनि व्यवस्थापन गर्छौं । त्यसैले नवप्रवेशीहरुको जिम्मेवारीको व्यवस्थापनको काम हुन्छ । त्यसपछि समसामयिक राजनीतिक प्रस्तावहरुबारे छलफल हुन्छ । अध्यक्षको मन्तव्य सहित बैठक समापन हुन्छ ।’

एमालेले अन्य पार्टीबाट प्रवेश गरेकाहरुलाई व्यवस्थापन गर्ने काम नभएकाले उनीहरुको कार्य विभाजनको काम पनि सो बैठकले गर्ने जनाएको छ । बैठकमा विभिन्न आयोगका अध्यक्षहरुको पनि समिक्षात्मक प्रतिवेदन पेश हुने र त्यसउपर पनि छलफल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?