कांग्रेसले बालकृष्ण खाँणलाई तत्काल कारबाही नगर्ने

अदालतको निर्णय पर्खिनुपर्ने निष्कर्ष, पक्राउ पर्दैमा दोषी भन्न नमिल्ने जिकिर

अनिल क्षेत्री
Read Time = 8 mins

काठमाडौं । नेपाली कांग्रेस नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका पार्टीका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई तत्काल निलम्बन नगर्ने निष्कर्षमा पुगेको छ ।

पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बिहीबार बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले तत्काल कारबाही आवश्यक नभएको ठहर गरेको हो ।

बैठकपछि पार्टी सहमहामन्त्री जीवन परियारले बैठकमा पूर्वगृहमन्त्री खाँणका सम्बन्धमा छलफल भए पनि त्यसबारे पार्टीले अहिले कुनै पनि निष्कर्ष ननिकालेको जानकारी दिँदै भन्नुभयो, ‘कुनै पनि मुद्दामा अनुसन्धानको क्रममा कोही पनि व्यक्ति पक्राउ पर्नेबित्तिकै ऊ दोषी ठहर भएको भन्ने हुँदैन । ऊ आरोपित मात्रै हो । त्यसैले बालकृष्ण खाँणको हकमा पनि त्यही कुरा हो ।’

खाँणले अनुसन्धानलाई सघाइरहेको भन्दै सहमहामन्त्री परियारले भन्नुभयो, ‘उहाँ बुटवल जानुभएको थियो । त्यतैबाट भाग्न पनि सक्नुहुन्थ्यो । तर, निवासबाटै पक्राउ पर्नुभयो । ‘उहाँले अनुसन्धानका लागि सहयोग पुर्याउनुभएको छ । अनुसन्धान हुन्छ । त्यसपछि मुद्दा अदालतमा पुग्छ । अदालतले दिएको निर्णय सबैले मान्ने हो । हामी जोकोही पनि दोषीलाई उन्मुक्ति दिन मिल्दैन भन्ने निष्कर्षमा छौँ ।’

कांग्रेस कहिल्यै पनि दोषीलाई उन्मुक्ति दिने पक्षमा नरहेको दाबी गर्दै सहमहामन्त्री परियारले भन्नुभयो, ‘कांग्रेस अहिले होइन, कहिल्यै पनि दोषीलाई उन्मुक्ति दिने पक्षमा उभिँदैन, त्यो इतिहासले देखाएको कुरा हो । हामी अदालतको फैसलालाई मान्छौँ । कोही व्यक्तिमाथिको अनुसन्धानमा दक्खल पुर्याउँदैनौँ । हामी अनुसन्धानमा सहयोग गर्छौँ ।’

एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई कारबाही गर्दा कांग्रेसले किन गर्न सकेन भन्ने प्रश्नमा सहमहामन्त्री परियारले कांग्रेसले दोषी ठहरिएपछि मात्रै कारबाही गर्ने जवाफ दिँदै भन्नुभयो, ‘दोषी ठहरिए के गर्ने भन्ने अदालतको निर्णयपछि नै केही निर्णय होला । अदालतमा विचाराधीन विषयमा कांग्रेसले आधिकारिक धारणा अहिले नै बनाएर जान हुन्न ।’

बैठकमा महामन्त्री गगनकुमार थापाले अनुसन्धानलाई सघाउन खाँणले आफैँ पार्टीबाट अलग भएको घोषणा गर्नुपर्ने बताउनुभएको थियो । महामन्त्री थापाको उक्त प्रस्तावमा पार्टी उपसभापति धनराज गुरुङले पनि समर्थन जनाउनुभएको थियो ।

बैठकमा नागरिकतासम्बन्धी विधेयकका विषयमा समेत छलफल भएको जानकारी दिँदै परियारले भन्नुभयो, ‘नागरिकता विधेयकका बारेमा हामीले गम्भीर रूपले छलफल ग¥यौँ । यसबारे प्रधानमन्त्री र राष्ट्रपतिले पनि कानुनविद्हरूसँग समेत छलफल गरिरहनुभएको छ । संविधानबमोजिम संसद्बाट पारित भएर गएको विधेयक राष्ट्रपतिले रोकेर राख्नुभयो । अब त्यो विधेयकलाई कसरी जारी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । हामीले अब थप कानुनविद्हरूसँग परामर्श गरेर एउटा निष्कर्षमा पुग्ने सहमति गरेका छौँ ।’

बैठकले कोशी प्रदेश सरकारमा तालमेलका लागि माओवादी केन्द्रसँग छलफल गर्ने निर्णय गरेको छ । हाल कोशी प्रदेशमा एमाले र माओवादीको सरकार छ । यसका लागि दुईजना महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्दम्बेलाई छलफल गर्ने जिम्मेवारी बैठकले दिएको छ । पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले भ्रातृ संगठन, पार्टीको नीति अधिवेशन गर्नुपूर्व केन्द्रीय कार्यसमिति बैठक राख्नेसमेत निर्णय गरेको सहमहामन्त्री परियारले जानकारी दिनुभयो ।

पार्टी सभापति देउवाको छटपटी
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना विश्वासपात्र पार्टीका प्रभावशाली नेता एवं आफ्नै नेतृत्वको सरकारका गृहमन्त्री बालकृष्ण खाँण समातिएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई छटपटी परेको छ ।

बुधबार बसेको पदाधिकारी बैठकमा पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई पार्टीबाट निलम्बनको प्रस्ताव गर्नुभएको थियो । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाँणलाई बुधबार चाबहिलस्थित मनमैजुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । खाँणमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद दिएको छ ।

खाँण पक्राउ परेलगत्तै सभापति शेरबहादुर देउवाले खाँण निकटका कांग्रेस नेताहरूसँग छलफल गर्नुभएको थियो । त्यसपछि देउवाले पार्टीका शीर्ष नेताहरूसँग पनि छलफल गर्नुभएको थियो ।

देउवाले पार्टीको बैठकअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नुभएको थियो । प्रधानमन्त्री प्रचण्ड र देउवाबीच करिब एक घण्टा वान टु वान वार्ता भएको बताइएको छ । खाँणलाई जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । सोही प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् ।

एमालेले रायमाझीलाई बुधबार पार्टीबाट निलम्बन गरेको थियो । पार्टीको बैठक बस्नुअघि देउवाले बुधबार प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्नुभएको थियो । प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्री र देउवाबीच सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा छलफल भएको दाबी गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?