एउटा यस्तो मन्दिर : जहाँ भगवान् छोइँदैनन्, पुजारी बिटुला हुँदैनन्

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । विकसित मुलुकका मानिसहरु चन्द्रलोकमा पुगे पनि मंगल ग्रहमा वस्ती बसाउने कोशिस गरेपनि नेपालमा भने अझै पनि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जातीय छुवाछुत कायमै छ । नेपालको संविधानमा जातीय विभेदलाई प्रोत्साहन गर्न नपाइने उल्लेख गरेको छ तर, यहाँका अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ ।

छुवाछुत अपराध मानिएसँगै सहभोजको आयोजना गर्ने गरेपनि केही ठाउँमा अझै पनि दलित र गैरदलितको मन्दिर नै अलगअलग भेटिन्छन् । कथित उपल्लो जातिले चाहेको बेलामा मन्दिरमा पूजाआजा गर्दा दलित समुदाय चाडपर्वमा समेत पुजारीकै अवरोधका कारण मन्दिरभित्र पस्नसमेत पाउँदैनन् ।
तर, म्याग्दीको मंगला गाउँपालिका–१, पूर्णगाउँ चिसापानीमा अवस्थित दुर्गा भगवती कालिका माईको मन्दिरका पूजारी चन्द्रबहादुर राम्जाली भने दलित मन्दिरमा पुग्दा खुसी हुँदै स्वागत गर्नुहुन्छ । पूजारी राम्जालीले दलित समुदायकाले समेत आफूले चाहेको बेला पूजा गर्ने सुविधा मिलाउनु भएको हो ।

परम्परागत रूपमा रहेको कुसंस्कारको अन्त्यको आवश्यकता रहेको भन्दै पूजारी राम्जालीले मन्दिरभित्रका भगवानले दलित र गैरदलित भनेर छुट्टाउन नसक्ने बताउनु यभो । ‘म दलित समुदायका व्यक्तिहरु पूजाआजा गर्न आउँदा धेरै खुसी हुन्छु, उहाँहरु मन्दिरभित्र प्रवेश गर्दा मेरो अनुहार उज्यालो हुन्छ’ पूजारी राम्जालीले भन्नुभयो ‘यहाँ भगवान छोइदैनन्, पुजारी बिटुला हुँदैनन् ।’

‘भगवान छोइन्छ’ भन्दै दलितलाई मन्दिरमा बेइज्जत गर्नेहरूलाई उदाहरण बनेको उहाँले बताउनु भयो । उहाँले मन्दिरभित्रका भगवानलाई पूजा गर्दा सबै खुसी हुने बताउँदै मान्छेले मान्छेलाई भेदभाव गर्न तत्कालीन समयमा समाजमा केही टाठा बाठाले अर्कालाई निच देखाउने प्रयास गरेको बताउनु भयो ।
आफूलाई ठूलो देखाउन हिन्दु धर्मभित्र गलत परम्पराको थालनी भएको बताउँदै पूजारी राम्जालीले मन्दिरमा दलितले नै बनाएको प्रसाद वितरण समेत गरिएको बताउनु भयो ।

‘समाजका सबै एकैपटक मन्दिरमा प्रवेश गर्न मिल्छ,‘छुत अछुत हुन्छ भन्ने बनावटी कुरामात्रै हो’पूजारी राम्जालीले भन्नुभयो ।
मन्दिरमा पूजारी बन्न चाहने दलित यूवाहरुलाई समेत स्वागत गर्न आतुर रहेको उहाँको भनाई छ । उहाँले छुवाछुतको अन्त्यमा करिब ५० प्रतिशतभन्दा धेरै भूमिका मन्दिरको पूजारीको हुने बताउनु भयो ।

करिब तीन दशकदेखि मन्दिरको सेवामा सक्रिय राम्जालीले मन्दिरमा जानेलाई छुवाछुत गलत भएको भन्दै लामो प्रवचन समेत दिने गर्नुभएको छ । दैनिक मन्दिरमा आउने भक्तजनमा अहिले दलित समुदायका धेरै हुन्छन् ।

पूजाआजा गर्न सहज होस् भनेर उहाँले दलित अगुवालाई नै चावी समेत दिनुभएको छ । उहाँको सक्रियता र प्रयासलाई सबै जातीले साथ दिएका छन् ।

‘दलितले मन्दिरमा पूजा गर्दा धर्म नास हुन्छ भन्नेहरूलाई समेत खुसी बनाएर पठाएको छु‘ दलितमाथि थिचोमिचोले भगवान दुःखी हुनुहुन्छ भन्ने तर्कमा सिंगो समुदायको साथ छ’ उहाँले भन्नुभयो । मन्दिरमा छुवाछुत अन्त्य भएको जानकारी पाएपछि धेरै दलितले बषौंपछि मन्दिरको दर्शनका लागि आएको स्थानीय जनआवास आधारभुत विद्यालयका प्रधानाध्यापक सुनबहादुर विश्वकर्माले बताउनु भयो ।

‘पूजारीको सक्रियताले पनि छुवाछुतको अन्त्य हुन्छ,‘ जात फालेको आरोप लगाउनेहरू अहिले सँगै साथ दिएको देखेका छौ’ प्रअ विश्वकर्माले भन्नुभयो । उहाँले पूजारी राम्जालीबाटै मन्दिरमा दलितले बनाएको भोजन समेत ग्रहण गरेपछि अन्य जातिले समेत धमाधम लिन थालेको बताउनु भयो । मन्दिरमा पूजाआजा गर्न पूजारीको न्यानो स्वागत र साथले स्थानीय दलित समुदायका बासिन्दा प्रफुल्ल भएका छन् ।

आधुनिक समाजमा दलितले छुँदा मन्दिर अपवित्र हुन्छ भन्ने भ्रमको अन्त्य गर्न एकपटक मन्दिरमा पाल्न समेत पूजारी राम्जालीले अनुरोध गर्नुभएको छ । सन् १९८३ सालमा निर्मित जिर्ण मन्दिर निर्माणमा करिब ९ लाख खर्च भएपनि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशबाट ४ लाख, वडाबाट १ लाख ३० हजार, मंगला गाउँपालिका ८५ हजार बाहेक सबै चन्दा सहयोगमा चिटिक्कको मन्दिर बनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?