बेलढुङ्गामा आन्तरिक पर्यटकको लर्को

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । शनिवार (आज) म्याग्दी र बागलुङ सीमानामा पर्ने पर्यटकीय स्थल बेलढुंगामा आन्तरिक पर्यटकको घुईचो लागेको छ । म्याग्दी र बागलुङबाट एकैपटक पुगेका एक सय भन्दा बढी पर्यटकले बेलढुंगामा खचाखच भीड लागेको हो ।

बेलुढुंगामा घुम्न आउनेहरुको अत्याधिक भिडले बेलढुंगा खचाखच भरिएको छ । घुम्न आउनेहरुमा अधिकांश युवायुवतीहरु रहेका छन् ।
पछिल्लो समय पूर्वाधार विस्तार भएकाले पनि घुम्न आउनेको संख्या छ । कुनै समय सुनसान जस्तै बेलढुंगामा भकिम्ली र धम्जातर्फबाट सडक सञ्जाल पुगेको छ भने पक्की पदमार्ग, बेलढुंगामा बनेको संरचनाले समेत सहज भएको छ ।

“वैशाख महिनालागे यता बेलढुंगामा थेगिनसक्नुको भीड छ, यस्तो भीड अहिलेसम्म देखिएको थिएन्” स्थानीय श्यामबहादुर पुनले भन्नुभयो“बेलढुङ्गामा भौतिक पूर्वाधार निर्माण भएसँगै यहाँ घुम्न आउने आन्तरिक पर्यटकहरुको संख्या तीन गुणाले वृद्धि भएको हो ।
उहाँका अनुसार चार वर्षअघिसम्म यहाँ भौतिक पूर्वाधार निर्माण भएको थिएन । त्यतिबेला दैनिक १५/२० जनाका दरले म्याग्दी र बागलुङबाट युवा युवतीहरु घुम्न र रमाइलो गर्नका लागि आउथे तर अहिले दैनिक ६० देखि एक सय जनासम्म यहाँ आउने गरेका छन् ।

म्याग्दीको बेनी नगरपालिका ३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सीमामा रहेको बेलढुङ्गाबाट म्याग्दी,बागलुङ,पर्वत लगाएतका जिल्लाका चार दर्जन बढी ठाउँहरु, म्याग्दी नदीको नागबेली दृश्य र हिमश्रृङ्खलाका साथै वसन्तऋतुमा लालीगुराँसे जंगलको अवलोकन गर्न सकिन्छ ।

बेलढुङ्गा आउने पर्यटकलाई धम्जाको ओखलेमा स्थापना गरिएको सामुदायिक घरबासका कारण सहज भएको छ ।

बेलढुङ्गा आउँदा निकै आनन्दित र ऊर्जा थपिएको पर्वतको ज्ञादीबाट पहिलो पटक बेलढुंगाको भ्रमणमा आउनुभएका तिलक पौडेलले बताउनुभयो । “समाचार र सामाजिक सञ्जालबाट थाहा त पाएको थिए, तर यहाँ आएपछि सुनेभन्दा राम्रो लाग्यो, पदमार्ग र हिमालको दृश्यले मनै लोभ्यायो”, उहाँले भन्नुभयो ।

ढुङ्गा छापेर बनाइएको रेलिङसहितको पदमार्ग, प्रवेशद्वारा, सूचना बोर्ड र प्राकृतिक भ्यूटावरका रूपमा रहेको बेलढुङ्गालाई भत्केपछि बनाइएको नयाँ संरचनाले थप आकषर्ति बनाएको छ ।

यहाँबाट हिमशङ्खला, म्याग्दी सदरमुकाम बेनीसहित उच्च पहाडी भेगको अवलोकन गर्न सकिन्छ । प्राकृतिक पहाडको टुप्पोलाई नामकरण, प्रचार–प्रसार तथा पूर्वाधार निर्माणका कारण पर्यटक यहाँ आउन थालेको स्थानीय गोपाल श्रीसको भनाइ छ । “पालिका र गण्डकी प्रदेशले सहयोग गरेको छ, पाँच वर्षदेखि घरबाससमेत सञ्चालन गरेका छौं,” बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालकसमेत रहेका श्रीसले भन्नुभयो, “अहिले शुक्रबार र शनिबार अरु समयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन् ।”

दुवै जिल्लाका स्थानीयवासीको पहल र प्रयत्नपछि अहिले फेरि बेलढुङ्गा नयाँ स्वरुप ल्याएको मात्रै छैन, बेलढुङ्गालाई राष्ट्रियरूपमा नै चिनाइसकेको छ ।
गुमनाम रहेको बेलढुङ्गाको विशेषता र प्रचार–प्रसारका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । बेलढुङ्गाको विकासका लागि गण्डकी प्रदेश सरकारले दुई वर्षअघि रु २० लाख र चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको थियो ।

करिब दुई घण्टाको सडक यात्रापछि बागलुङ बजारबाट पुग्न सकिने सो गन्तव्यमा म्याग्दीतर्फबाट समेत सजिलै पुगिन्छ । समुद्री सतहदेखि दुई हजार छ सय १२ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट देखिने सुन्दर हिमशृङ्खलादेखि दुई विभिन्न जिल्लाका गाउँघर र प्राकृतिक मनोरम दृश्य देख्दा मनै लोभ्याउने गरेको बेनी नगरपालिका ३ का वडाअध्यक्षम पदम पुनले बताउनुभयो । बेलढुंगामै फराकिलो संरचना,बनभोजस्थल सहित समुहमा गएर रमाईलो गर्ने स्थानहरु भएकाले समेत घुम्न जानेहरुलाई सहज भएको छ ।

बेलढुंगाबाट म्याग्दीका अधिकांस भूभागका साथै बागलु, पर्वत, कास्की, गुल्मी जिल्लाका भूभाग देखिने बेनपा–३ का वडा सदस्य रत्न जिसीले जानकारी दिनुभयो ।

बेलढुंगा धार्मिकस्थल स्वर्गाआश्रमबाट करिव ४५ मिनेटको दुरीमा छ । चट्टानबाट अवलोकन प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्न सकिने हुँदा यहाँ पर्यटकको भीड लाग्ने गर्दछ । । बेलढुंगा आसपासको क्षेत्रबाट धौलागिरि,गुर्जा,चुरेन,निलगिरी लगायतका एकदर्जन हिमश्रंखला, लालीगुराँसको घना जंगल,बन्यजन्तुको बासस्थानका साथै मनोरम दृष्यहरू देखिन्छ ।

आधादशक अगाडीसम्म बेलढुंगामा पुग्न भिरालो जमिनमा डोरी जस्तै बनेर बसेका नियालोको साहरा लिनुपर्ने अवस्था थियो भने अहिले चुचुरोमै पदमार्ग पुगेको छ । प्राचीनकालमा तपस्या गर्ने गएका सप्त ऋषीहरुले तपस्या गर्ने क्रममा ठुला पत्थरमा बनाएको बाटो हुदै पुगिने उक्त ठाउँलाई सप्त ऋषी बेलढुङ्गा समेत भन्ने गरिन्छ । स्वर्गाआश्रमदेखि बेलढुंगासम्म २ सयबर्ष अगाडीसम्म तपस्या गर्ने स्थानहरु अहिले पनि सजिलै पहिचान गर्न सकिन्छ । जोखिमपूर्ण तरिकाले पुगेपनि फर्कने बेलामा सहज हुने गरेको स्थानीयले बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?