मौद्रिक नीतिको तेस्रो समीक्षा सकारात्मक : सिएनआई

Read Time = 6 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउन केही लचिलो बन्ने प्रयास गरेको भन्दै नेपाल उद्योग परिसंघ(सिएनआई)ले सकारात्मकरूपमा लिएको छ । उसले मन्दीमा रहेको अर्थतन्त्रलाई गति प्रदान गर्ने दिशातर्फ राष्ट्र बैंकले आगामी कदम चाल्ने संकेतका रूपमा लिएको छ । ८.५ प्रतिशत रहेको बैंकदर एक प्रतिशतले घटाई ७.५ प्रतिशत कायम गरिएका कारण ब्याजदर घट्न गई बजारमा माग बढाउन केही सहयोग पुग्ने सिएनआईको अपेक्षा छ ।

बैंक तथा वित्तीय संस्थाबाट जारी भएका ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनका लागि स्रोत (निक्षेप) का रूपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्था २०८० पुससम्मका लागि निरन्तरता दिइनु पनि सकारात्मक रहेको सिएनआईले जनाएको छ । पछिल्ला दुर्ई त्रैमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रसँग सम्बद्ध ऋणीले सुविधा पाउने गरी पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउने घोषणाले ऋणीलाई केही सहजता प्रदान गर्ने सिएनआईको ठहर छ ।

होटल तथा रेष्टुरेन्ट, पशुपक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र पाँच करोडसम्मकोे अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असारभित्र पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्थाले ठूला तथा मझौला उद्योगलाई वाञ्छित लाभ नहुने भए पनि लघु, घरेलु तथा साना उद्योगलाई सहुलियत हुने बताइएको छ ।

वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारण कर्जा चुक्ता गर्नुपरेको कठिनाइलाई अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जालाई ब्याज नियमित रहेको अवस्थामा कुनै किसिमको हर्जाना÷शुल्क नलिने गरी तीन महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्ने एवं लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीलाई कर्जा चुक्ता गर्नुपरेको कठिनाइसमेत दृष्टिगत गरी २०८० असारभित्र कर्जाको पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सक्ने पनि सकारात्मक रहेको सिएनआईले जनाएको छ ।

तर, उच्च ब्याजदर, समग्र मागमा आएको उच्च संकुचनजस्ता कारणबाट उद्योगी व्यवसायी तथा लगानीकर्ताको मनोबल अत्यन्त कमजोर अवस्थामा रहेकाले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको विद्यमान परिस्थितिलाई सहज बनाउन सिएनआईले दिएका केही सुझाव समीक्षामार्फत् सम्बोधन गरिए पनि आर्थिक संकटबाट बाहिर ल्याउन सुधार आवश्यक रहेको जनाएको छ । उसले बजार चलायमान बनाउन सेयर बजार तथा घरजग्गा कारोबारलाई प्रोत्साहन हुने गरी मौद्रिक नीतिको समीक्षा गर्न आग्रह गरेको छ । निर्यातमूलक उद्योगका लागि बोण्डेड वयर हाउसको सुविधा पाएका उद्योगका लागि कच्चा पदार्थ आयात गर्दा जारी गरिने बैंक ग्यारेन्टीमा एक सय ५० प्रतिशतको जोखिम भार तत्काल घटाइनुपर्नेमा पनि सिएनआईले जोड दिएको छ ।

घरेलु महासंघ पनि सकारात्मक
नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षालाई सकारात्मक भन्दै प्रभावकारी कार्यान्वयनका लागि आग्रह गरेको छ । तर, लघु, घरेलु तथा साना उद्यमीलाई बैंकहरूले सहुलियतपूर्ण कर्जा उपलब्ध नगराएको उद्यमीको व्यापक गुनासो रहेका सन्दर्भमा २०७९ चैतसम्म एक लाख ४७ हजार आठ सय सात ऋणीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको तथ्यांकप्रति भने महासंघले शंका गरेको छ ।

साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालन सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको दुर्ई करोडसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी एकपटकका लागि तोकिएका शर्तको अधिनमा रही २०८० असारभित्र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्थालाई महासंघले सकारात्मकरूपमा लिएको छ ।

कृषिलगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोरोना महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई उपलब्ध गराइने पुनर्कर्जा सुविधालाई निरन्तरता दिनु, २०८० जेठसम्म भुक्तानीको भाखा रहेको कर्जाको साँवा÷ब्याज ऋणीले भाखा नाघेको ३० दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्थालाई पनि स्वागतयोग्य रहेको महासंंघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?