‘नइ कीर्ति रत्न’द्वारा २०१ कवि र लेखक विभूषित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नइ प्रकाशनले ‘नइ कीर्ति रत्न’द्वारा २०१ कवि र लेखकलाई विभूषित गरेको छ । नइ प्रकाशनद्वारा शनिबार आयोजित समर्पण तथा लोकार्पण कार्यक्रममा कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि पुर्याएको योगदान स्वरुप कवि र लेखकलाई ‘नइ कीर्ति रत्न’ अलंकारद्वारा विभूषित गरिएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ(वैरागी काइला), समालोचक वासुदेव त्रिपाठी, प्रा. मुकुन्दशरण उपाध्याय र साहित्यकार भद्रकुमारी घलेले संयुक्त रूपमा पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सो अवसरमा साहित्यका विभिन्न विधामा कलम चलाउनुहुने हिमालय टाइम्सका प्रधान सम्पादक एवं साहित्यकार प्रा. पुरुषेत्तम दाहाल, मधुपर्कका नायब कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्ले, गोरखापत्र दैनिकका पूर्वसम्पादक कमल रिजाल, पत्रकार सुशिला तामाङ, पत्रकार युवराज नयाँघरे, डा. सुमन रेग्मी,  विजयरत्न तुलाधर, विजय हितान, भरत जंगम, प्राडा.गार्गी शर्मा सम्मानित हुनुभयो ।

त्यसैगरी शताब्दी पुरुष सत्यमोहन जोशी (मरणोपरान्त) यशोदा अधिकारी, रश्मी रिमाल, प्राडा. उषा ठाकुर, केदार शाक्य, हिरण्यकुमारी पाठक, हेमा मानन्धर, डा. शैलेन्दुप्रकाश नेपाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, मन्जुश्री गिरी, भगवती बस्नेत, जाकिर हुसैन, जैकी मोजाहुलगायत २०१ जना साहित्यकारलाई सम्मान प्रदान गरिएको थियो । सो अवसरमा नइ प्रकाशनले प्रकाशन गरेको दुई कृतिहरू ‘नइ कीर्ति लय र नइ प्रकाशनः कीर्ति र आकृति’ शीर्षकका पुस्तक पनि लोकार्पण गरिएको छ । भगवती बस्नेतले सम्पादन गर्नुभएको उक्त कृतिमा विभिन्न विधाका साहित्यकारका रचना समावेश गरिएका छन् ।

कार्यक्रममा नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँले नेपाली साहित्यको भण्डारलाई सम्पन्न बनाउन कलम चलाउनुहुने सर्जकलाई नइ प्रकाशनले सम्मान स्वरूप नइ कीर्ति रत्न अलंकार प्रदान गरिएको बताउनुभयो । नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले सो प्रकाशनका कीर्तिहरूको गरिमा र महिमाको अभिवृद्धिका लागि रचना प्रदान गर्नुहुने सर्जकको योगदानको विशेष कदर गर्दै आएको बताउनुभयो ।

समारोहमा विभूषित स्रष्टाद्वारा लिखित ‘नइ कीर्ति लय’ र ‘नइ प्रकाशन : कीर्ति र आकृति’ नामक दुई ग्रन्थको उपस्थित लेखक कविबाट सामूहिक लोकार्पण गरिएको थियो । नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि समर्पित नइ प्रकाशन आफ्नो क्षमताअनुसार नेपाली प्रतिभाका सिर्जनात्मक कौशललाई सुन्दर एवं रुचीपूर्ण ढंगले प्रस्तुत गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?