काठमाडौं । ८० मिनेटसम्म लिएको अग्रतालाई अन्तिम १० मिनेट कायम राख्न नसक्दा जावलाखेल युथ क्लब राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी फुटबल क्लबसँग बराबरीमा रोकिएको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा जावलाखेलले दुई गोलको अग्रता जोगाउन नसक्दा मनाङ मस्र्याङ्दी क्लवबिरुद्ध दुई/दुईको बराबरीमा रोकिएको हो । निकै रोमाञ्चक बनेको खेलमा जावलाखेलका लागि एनकोटो मासोबी र हिसुब थपलियाले सुरुवाती अग्रता दिलाए पनि मनाङका लागि विशोन गुरुङ र सुमित श्रेष्ठले अन्तिम १० मिनेटभित्र दुई गोल गरेपछि मनाङ अंक खोस्न सफल भएको हो ।
बराबरीपछि शीर्षस्थानमा रहेको जावलाखेलले दोस्रो स्थानमा रहेको चर्च ब्वाइजसँग तीन अंकको अग्रता बनाउने अवसर गुमाएको छ । सुरुवातमा आक्रामक खेल्दै मनाङलाई दबाबमा राखेको जावलाखेलका लागि खेलको ३४औँ मिनेटमा मासोबीले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । विनोद केसीले प्रदान गरेको बललाई नियन्त्रणमा लिँदै मनाङका गोलकिपर दीप कार्कीलाई बिट गर्दै मासेबीले जाली चुमाउन सफल हुनुभएको थियो । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन र जावलाखेल पहिलो हाफमा अग्रता कायम राख्न सफल भएको थियो । ७५औँ मिनेटमा हिसुबले जावलाखेलको अग्रता दोब्बर बनाउनुभयो । हिसुबले फोडे फोफनाको पासलाई सदुपयोग गर्दैै टोलीलाई अगाडि बढाउँदा ८१औँ मिनेटमा विसोनले गोल गर्दै खेललाई दुई/एकको स्थितिमा ल्याउनुभयो । विसोनले कोफी टिमोथी कोडुको पासलाई सदुपयोग गर्दै आकर्षक गोल गर्न सफल हुनुभएको थियो । त्यसपछि तालमेलको अभावको फाइदा उठाउँदै मनाङले अन्तिम मिनेटमा गोल थप्दै खेल दुई/दुईको बराबरीमा ल्यायो र दुवै टोलीबाट थप गोल हुन सकेन । बाँकी समयमा बल पोजिसनमा अगाडि देखिएको मनाङले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेन ।
यससँगै लिगमा मनाङविरुद्ध जावलाखेल अपराजित रहृयो । पहिलो लिगमा जावलाखेल तीन/शून्यले विजयी भएको थियो । यस बराबरीसँगै जावलाखेलले शीर्षस्थानमा स्पष्ट तीन अंकको अग्रता लिने अवसर गुमाएको हो । जावलाखेलको १८ खेलमा ३१ अंक छ । एक खेल कम खेलेको चर्च ब्वाइज ३० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । मनाङ १८ खेलमा २२ अंकका साथ सातौँ स्थानमा उक्लिएको छ ।
यस्तै, लिगअन्तर्गत आइतबार एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा पनि न्युरोड टिम (एनआरटी) र फ्रेण्ड्स क्लबले पनि समान दुई/दुई गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीमा रोकिए पनि फ्रेण्ड्स क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसन क्षेत्र छाडेको छ । खेलको २८औँ मिनेटमा रफिक अमिनुले फ्रेण्ड्सलाई अग्रता दिलाउनुभएको थियो ।
५८औँ मिनेटमा अमित तामाङको आत्मघाती गोलमार्फत् एनआरटी बराबरीमा आएको थियो । ६६औँ मिनेटमा अमितले पेनाल्टीमार्फत् गोल गर्दै फ्रेण्ड्सलाई दुई/एकले अगाडि बढाउनुभयो । ८९औँ मिनेटमा निकोलसले गोल गर्दै एनआरटीलाई हारबाट जोगाउनुभयो । लिगमा एनआरटीविरुद्ध फ्रेण्ड्स अपराजित रहेको हो । पहिलो लिगमा फ्रेण्ड्स तीन/एकले विजयी भएको थियो । यस बराबरीसँगै १८ खेलमा २० अंक जोडेको फ्रेण्ड्स १२औँ स्थानमा उक्लिएको छ । फ्रेण्ड्सको रेलिगेसन क्षेत्रको नेपाल पुलिस क्लबको भन्दा मात्र एक अंक बढी छ । एनआरटी १८ खेलमा २२ अंकका साथ नवौँ स्थानमा यथावत् छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच