काठमाडौं । भारतको दक्षिणमा रहेको कर्नाटक राज्यमा गत साता भएको विधानसभा निर्वाचनमा विपक्षी कांग्रेस पार्टीले शानदार बहुमत ल्याएको छ । कुल २२४ सिट भएको विधानसभामा कांग्रेसले १३५ सिटका साथ स्पष्ट बहुमत हासिल गरेको हो । अघिल्लो चुनावको तुलनामा उसलाई ५५ सिटको फाइदा भएको छ । सत्तारूढ दल भारतीय जनता पार्टी भने सिट संख्या घटाएर ६६ मा सीमित भएको छ । अघिल्लो चुनावको तुलनामा उसले ३८ सिट गुमाएको हो । कर्नाटकको क्षेत्रीय पार्टीका रूपमा रहेको जनता दल सेक्युलर (जेडिएस)ले पनि चुनावमा निकै कमजोर प्रदर्शन गर्दै जम्मा १९ सिट जितेको छ । अघिल्लो चुनावको तुलनामा उसले १८ सिटको क्षति बेहोरेको छ ।
राष्ट्रियस्तरमा निकै कमजोर बन्दै गएको कांग्रेसलाई कर्नाटकमा प्राप्त बहुमतले सञ्जीवनी बुटीको काम गरेको बताइन्छ । अनि दक्षिण भारतका अन्य राज्यमा कतै पनि सरकार बनाउन नसकेको भाजपाले कर्नाटकसमेत गुमाउनुपरेको छ । भारतीय राज्य कर्नाटकको चुनाव राष्ट्रिय मुद्दाको सट्टा स्थानीय मुद्दामा केन्द्रित हुँदा कांग्रेस विजयी बन्यो । भाजपाका लागि दक्षिणको प्रवेशद्वार मानिने कर्नाटक आफ्नो हातबाट गुम्न पुग्यो । प्रधानमन्त्री नरेन्द्र मोदीको तुफानी प्रचारले पनि भाजपाको यो किल्ला बचाउन सकेन ।
कर्नाटकमा कांग्रेसले यसपटक समस्या पहिचान गर्नमा राम्रो चलाखी देखाएको छ । कांग्रेसले बढ्दो मुद्रास्फीति र बेरोजगारीलाई चुनावी मुद्दाको रूपमा उठायो । पार्टीले विजयी भएपछि महिलाका लागि कार्यान्वयन गर्ने वाचा गरेका योजनाले पनि प्रभाव देखाउँदा पाँच वर्षपछि कर्नाटकमा कांग्रेस सत्तामा आउने बाटो खुल्न पुग्यो ।
कर्नाटकको चुनावी नतिजाले कांग्रेसको मनोबल बढाएको छ । कांग्रेस अब राजस्थान, मध्यप्रदेश र छत्तीसगढको विधानसभा चुनावमा प्रवेश गर्नेछ र त्यसपछि २०२४ को लोकसभा चुनावमा यो उत्साह थप्दै भाजपालाई कडा टक्कर दिन सक्षम हुने चुनावी नतिजाले देखाएको विश्लेषण भएको छ । कर्नाटकको निर्वाचन कांग्रेसका पक्षमा आएपछि सो पार्टीका नेता राहुल गान्धीले नफरतको बजार बन्द भएको जिकिर गर्नुभएको छ । भारतीय जनता पार्टीलाई पराजित गर्दैै कांग्रेसले स्पष्ट बहुमत ल्याएपछि गान्धीले कर्नाटकबाट प्रेमको दोकान खुलेको टिप्पणी गर्नुभएको हो । ‘कर्नाटकमा घृणाको बजार बन्द भयो, प्रेमको पसल खुल्यो,’ गान्धीले निर्वाचन परिणामपछि भन्नुभयो, ‘कर्नाटकमा जनताको शक्तिले क्रोनी क्यापिटलिष्टलाई पनि हराएको छ ।’
यस्तै, जितपछि कंग्रेसका नेता सिद्धारमैयाले यो मोदी, अमित शाह र जेपी नड्डाविरुद्धको जनमत भएको बताउनुभएको छ । ‘प्रधानमन्त्री मोदी कर्नाटकमा २० पटक आउनुभयो । यसअघि कुनै पनि प्रधानमन्त्री चुनावमा यसरी आएका थिएनन्,’ उहाँले भन्नुभयो । कांग्रेसका प्रदेश प्रमुख डिके शिवकुमारले पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिनुभएको छ ।
यसैबीच, कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । उहाँले गभर्नरलाई राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताउनुभएको छ । भारतमा आगामी वर्ष सन् २०२४ मा लोकसभा निर्वाचन हुँदैछ । पछिल्ला दुई निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) चुनाव जित्दै नरेन्द्र मोदी प्रधानमन्त्री बन्नुभएको छ । आगामी चुनावमा भाजपालाई हराएर भारतको केन्द्रीय सत्तामा पुग्न विपक्षी दलहरूलाई एकजुट गर्ने प्रयास भइरहेका छन्, जसको शीर्ष नेतृत्वमा भारतीय कांग्रेस रहँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच