एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ

पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति

डिबी शर्मा
Read Time = 15 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ पर्नुभएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका उहाँलाई प्रहरीले आइतबार साँझ काठमाडौंबाटै पक्राउ गरेको हो । प्रहरी स्रोतले उहाँ काठमाडौंको बुढानीलकण्ठस्थित पासीकोटमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको पुष्टि गरेको छ । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आउनुभएका उहाँ त्यहीँबाट फरार हुनुभएको थियो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले उहाँविरुद्ध वैशाख २० मा पक्राउ पुर्जी (वारेन्ट) जारी गरेको थियो । त्यससता फरार रहँदै आउनुभएका उहाँलाई आइतबार भने प्रहरीले पक्राउ गर्न सफल भएको हो । उहाँ भारत भागेको आशंका गरिएपनि काठमाडौंमै भेटिनुभएको हो । प्रहरीले रायमाझी पक्राउ नपरेपछि ७७ वटै जिल्लामा नियन्त्रणमा लिन सर्कुलर गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले रायमाझीलाई प्रहरीले ट्र्याक गरिरहेको अवस्थामा उहाँ शनिबार काठमाडौं प्रवेश गरेको सूचना पाएको र उहाँलाई पक्राउ गरिएको जानकारी दिनुभएको हो ।

वैशाख २० मै प्रहरीले उहाँका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएकै दिन सन्दीप पक्राउ परेपनि टोपबहादुर भने प्रहरीलाई छल्दै फरार हुन सफल हुनुभएको थियो । एमालेले सुरुमा उहाँको बचाउ गरेपनि चौतर्फी दवाव भएपछि वैशाख २७ मा पार्टीले निलम्बन गरेको थियो । त्यसको अघिल्लो दिन प्रहरीले उहाँको ललितपुरस्थित घरमा खानतलासीसमेत गरेको थियो । खानतलासी गरेपनि प्रहरीले उहाँलाई फेला पार्न सकेको थिएन । नक्कली भुटानी शरणार्थी प्रकरणमा अब रायमाझीसँगै १३ जना पक्राउ परिसकेका छन् ।

यसैबीच, उक्त प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेतासमेत रहनुभएका खाँणसहित १२ जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौंबाट थप चार दिनको म्याद मागेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंको मागबमोजिम उनीहरूलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । यसअघि अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै रकम असुलेको आरोपमा उनीहरूलाई विभिन्न मितिमा प्रहरीले पक्राउ गरेको थियो । यसमध्ये पूर्वगृहमन्त्री खाँणलाई गत बुधबार उहाँकै निवास चाबहिलस्थित मैजुबहालबाट पक्राउ गरेको थियो । खाँणसहित तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, ठगी गिरोहमा संलग्न केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राईलगायत पक्राउ परेका छन् ।

मेरो संलग्नता छैन : खाँण
पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले नक्कली शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्नुभएको छ । आइतबार म्याद थपका लागि अदालत लैजाने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै खाँणले शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्नुभएको हो । ‘म संलग्न छैन,’ सरकारी वकिल कार्यालयबाट निस्किँदै गर्दा खाँणले भन्नुभयो । यसअघि खाँणलाई जमानतमा छाड्न उहाँका कानुन व्यवसायीले माग गरेका थिए । तर, काठमाडौं जिल्ला अदालतले जमानीमा छाड्न अस्वीकार गरेको हो । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलाई वकिलको जमानीमा छाड्ने कानुन नभएको भन्दै अदालतले जमानीमा छोड्न अस्वीकार गरेको हो ।

बादलका छोरा प्रतीक र कांग्रेसका पूर्वसांसद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
शरणार्थी प्रकरणमा जोडिएका थप दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रकरणमा जोडिएका कांग्रेस नेता तथा पूर्वसांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीहरूविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो । शेर्पा कांग्र्रेसबाट २०७० को संविधानसभा सदस्य निर्वाचनमा रामेछाप-१ बाट निर्वाचित हुनुभएको थियो । प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गर्नुभएको थियो । शेर्पा प्रहरी सम्पर्कबाहिर हुनुहुन्छ । उहाँलाई प्रहरीले खोजिरहेको छ । यस्तै, बादल गृहमन्त्री हुँदा उहाँका सल्लाहार रहनुभएका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान प्रतीक थापाविरुद्ध पनि सोझिएको थियो । प्रतीक पनि प्रकरणमा संलग्न रहेको प्रमाण प्रहरीले भेटेपछि पक्राउ पुर्जी जारी भएको हो । उहाँलाई पनि प्रहरीले खोजतलास गरिरहेको छ ।

शीर्ष नेताको बैठकमा नक्कली शरणार्थी प्रकरण प्रवेश
प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा नक्कली शरणार्थी प्रकरणले प्रवेश पाएको छ । आइतबार बालुवाटारमा बसेको प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष तीन नेताको बैठकमा शरणार्थी प्रकरणले प्रवेश पाएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । उहाँका अनुसार शीर्ष नेताहरूको बैठकमा शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल भएको हो । शीर्ष तीन नेताले शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने सहमति रहेको बताउनुभएको उहाँले बताउनुभयो । ‘प्रसंगवश विषय उठेको थियो । मैले तपाईंहरू तीन नेता बस्नेबित्तिकै शरणार्थीबारे छलफल गर्न बस्यो भनेर चर्चा हुन्छ भनेर प्रश्न उठ्ने गरेको छ भनेँ,’ नेम्वाङले भन्नुभयो, ‘उहाँहरूले हामी तीन दलबीच एउटा समझदारी छ । संविधान र कानुनबमोजिम निष्कर्षमा पुगोस् भन्ने हाम्रो चाहना हो, त्यही कुरा भनिदिए हुन्छ भन्नुभयो ।’ पछिल्लो समय माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लगातार भेटवार्ता भइरहेको छ । आइतबारको बैठकमा भने तीनै पार्टीका संसदीय दलका उपनेता र प्रमुख सचेतकसमेत थिए ।

शरणार्थी प्रकरणमा वर्तमान सरकारले सक्षमता प्रदर्शन गर्न आवश्यक : आचार्य
पूर्वराजदूत नीलाम्बर आचार्यले सिद्धान्त नमिल्ने पार्टीहरू मिलेर बारम्बार सरकार बनाउनु संस्थागत अपराध भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा टंकप्रसाद आचार्य प्रतिष्ठानले आयोजना गरेको नक्कली शरणार्थीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले जतिपटक निर्वाचन भएर सरकार परिवर्तन भए पनि भ्रष्ट र अपराधकर्मीको संगठनको जालोले निरन्तरता पाइराखेको बताउनुभयो । उहाँले भुटानी शरणार्थी प्रकरणमा वर्तमान सरकारले सक्षमता प्रदर्शन गर्न आवश्यक रहेको बताउनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरण एउटा घनिभूत संगठित अपराध भएको उहाँको भनाइ थियो । नक्कली शरणार्थी प्रकरण मानव तस्कर र राज्य विरुद्धको अपराध भएको उहाँले टिप्पणी गर्नुभयो । अपराधमा संलग्नहरू धेरै शक्तिशाली हुने र उनीहरूलाई संरक्षण दिनेहरू महाशक्तिशालीहरू भएको बताउनुभयो । ‘नक्कली भुटानी शरणार्थी प्रकरण एउटा घनिभूत संगठित अपराध हो । नक्कली शरणार्थी मात्रै नभएर मानव तस्करलगायत अन्य धेरै किसिमको अपराध हो,’ उहाँले भन्नुभयो, ‘राज्यलाई खोक्रो पार्ने अपराध हो । अपराध किन बढिरहेको छ भने अपराधमा संलग्न धेरै शक्तिशाली हुन्छन् । शक्तिशालीहरूलाई संरक्षण दिनेहरू महाशक्तिशाली भएका हुन्छन् । वर्तमान सरकारले यो घटनामा सक्षमता प्रदर्शन कायम राख्नुपर्छ ।’

प्रहरीले आफ्नै पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु साहसीपूर्ण काम : उपाध्याय
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले प्रहरीले आफ्नै पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु साहसीपूर्ण काम भएको बताउनुभयो । उहाँले सरकार दृढतापूर्वक लाग्दा कुनै पनि काम गर्न सकिने कुरा नक्कली भुटानी शरणार्थी प्रकरणले देखाएको बताउनुभयो । भ्रष्टाचार विरुद्धमा सबै एकजुट हुनसके देशलाई परिवर्तन गर्न सकिने उहाँको भनाइ छ । उहाँले शरणार्थी प्रकरण सामसुम बनाउन ठूला दलका नेताहरूले नै सक्रियता देखाएको आरोपसमेत लगाउनुभयो । यस्तै, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपालमा सम्पूर्ण पार्टी नीतिगत भ्रष्टाचारमा लिप्त रहेको बताउनुभयो । सांसद सिंहले नेपालमा भ्रष्टाचार विभिन्न रूपमा हुने गरेको बताउनुभयो ।

प्रहरीले असाध्यै राम्रो काम गरिराखेको छ, उसलाई काम गर्न दिऊँ : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरण छानविनका लागि नेपाल प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिन नेपाल सरकारसँग माग गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रकरणलाई स्वतन्त्र र निष्पक्ष ढंगले छानविन गर्न प्रहरीलाई वातावरण बनाइदिन सरकार, नागरिक समाज र सञ्चार क्षेत्रसँग पनि आग्रह गर्नुभएको हो । आइतबार आफ्नै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शरणार्थी प्रकरणमा मुछिएकाहरूले प्रहरीको अनुसन्धानमाथि नै प्रभाव पार्ने खालका गतिविधि गरिरहेको बताउनुभयो । शरणार्थी प्रकरणमा संलग्नहरू ढिलोचाँडो सबै तानिने उल्लेख गर्दै उनीहरू कसैले पनि उन्मुक्ति पाउन नहुने उहाँको भनाइ छ । ‘कुनै पनि भ्रष्टाचारीलाई उन्मुक्ति दिनु हुँदैन । प्रहरीले असाध्यै राम्रो काम गरिराखेको छ । उसलाई काम गर्न दिऊँ,’ उहाँले भन्नुभयो, ‘अहिले सरकार, नागरिक समाजसँग र सञ्चार जगतसँग हाम्रो आग्रह छ-स्वतन्त्रतापूर्वक, निष्पक्षतापूर्वक प्रहरीलाई काम गर्ने वातावरण दिऊँ । कसैले पनि उन्मुक्ति पाउनु हुँदैन ।’ जेठ ४ गते वसन्तपुरमा नक्कली भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचार र भ्रष्टाचारविरुद्ध खबरदारी सभा गर्ने उहाँले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?