दोलखामा जेठ ५ बाट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

हिमालय टाइम्स
Read Time = 3 mins

नवराज शिवाकोटी/हिटा
दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा जेठ ५ गतेबाट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु हुँदैछ । चेस होम दोलखाको आयोजनामा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुन लागेको हो । सोमबार चेस होम दोलखाले एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।

प्रतियोगितामा नेपाल च्याम्पियन भइसकेका १० खेलाडी तथा विभिन्न देशका खेलाडीहरूको सहभागिता रहने आयोजक चेस होम दोलखाका अध्यक्ष गोविन्दमान श्रेष्ठले जानकारी दिनुभयो । स्वच्छ छविका आदर्श पुरुष नेपाली कांग्रेसका स्वर्गीय नेता भीमबहादुर तामाङको स्मृतिमा प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

ट्रफी सार्वजनिक कार्यक्रम भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । ट्रफी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मानन्धरले आर्थिक समृद्धिका लागि खेल क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै भीमेश्वर नगरमा अन्तर्राष्ट्रिय चेस प्रतियोगिताको आयोजनाबाट यहाँको पर्यटन क्षेत्रमा ठोस योगदान पुग्ने आशा व्यक्त गर्नुभयो । सोही अवसरमा उहाँले खेल पर्यटनको विकासका लागि नगरले नगरका विभिन्न तीन ठाउँमा साइकल मार्ग निर्माण गर्ने योजना निर्माण गरेको मेयर मानन्धरले बताउनुभयो ।

जेठ ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले एक लाख, द्वितीय हुनेले ६० हजार तथा तृतीय हुनेले ४० हजार रुपैयाँ, ट्रफी तथा मेडल प्राप्त गर्ने आयोजकले बताएको छ । यसैगरी चौथोदेखि तेह्रौं स्थान प्राप्त गर्नेहरूले नगद तथा मेडल प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट भेट्रान, उत्कृष्ट महिला खेलाडीहरू, उमेर समूहअनुसारका उत्कृष्ट खेलाडीहरूलगायतलाई नगद पुरस्कार प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा कुल ४७ खेलाडीहरूलाई चार लाख ८३ हजार नगद पुरस्कार वितरण गरिने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?