कृषि सहकारी र सानिमाबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबीच बीमासम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत देशभर रहेको नेपाल कृषि सहकारी केन्द्रीय संघका सदस्यता प्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाका विपन्न तथा साना किसान सदस्यलाई म्यादी जीवन बीमा सेवा प्रदान गर्ने योजना रहेको छ ।

म्यादी बीमा एक प्रकारको लागत प्रभावी जीवन बीमा योजना हो । योजनाअन्तर्गत बिमितको मृत्यु भएमा बीमांक बराबर रकम प्रदान गरिनेछ ।

संघले स्थापनाकालदेखि नै ग्रामीण गरिबी न्यूनीकरण र समावेशीकरणका लागि आफ्नो सदस्यको क्षमता वृद्धि गरी असल अभ्याससाथ सामाजिक पुँजीको विकास गर्न उत्पे्ररणा गर्ने नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । संघले विविध कार्यक्रममार्फत् आफ्ना सदस्य संस्थालाई कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न, व्यावसायिक योजना तथा रणनीतिक योजना बनाउन सहयोग पुर्‍याई गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । हाल संघबाट नेपालका ७७ जिल्लामा १२ सयभन्दा बढी संस्थामा आबद्ध १२ लाखभन्दा बढी साना किसान परिवारले सेवा लिइरहेका छन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स अर्थात् साबिक रिलायन्स लाइफ इन्स्योरेन्स र साबिक सानिमा लाइफ इन्स्योरेन्स आपसमा गाभिएर बीमा व्यवसाय प्रदान गर्दै आएको छ । कम्पनीले हाल विविध योजनामार्फत् देशभर रहेका एक सय ७५ शाखामार्फत् १० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?