नक्कली भुटानी शरणार्थी छानविनको प्रगति विवरण जानकारी गराउन माग

प्रधानमन्त्रीको भारत भ्रमणप्रति आशंका

अनिल क्षेत्री
Read Time = 18 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानविनको प्रगति विवरण सदनमा जानकारी गराउन माग गरेको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै विपक्षी दल नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानविनको विषयमा सदनमा जारी दिन माग गर्दै भन्नुभयो, ‘यस्तो जघन्य अपराधमा विषयमा आजसम्म सरकारले यो सार्वभौम संसद्मा यति छानविन भएको छ यति प्रगति भएको छ नेपाल सरकारलाई भन्न के कारणले समस्या भइरहेको छ । यसको अनुसन्धानमा ढिला सुस्ती केही आलटाल किन भइरहेको छ । सरकारलाई संसद्मा छानविनसहितको विषयमा जानकारी गराउन सभामुखसँग रुलिङको माग गर्दछु ।’

शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न चेतावनी
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न चेतावनी दिनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई सही रूपमा टुंगोमा पुर्‍याएर भ्रष्टाचारका अन्य फाइलहरू खोल्न सरकारलाई आग्रह गर्दै सांसद सापकोटाले भन्नुभयो, ‘मानव तस्कर सहितको विषय अगाडि आएको छ । सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा अगाडि जानुपर्छ । यसलाई विषयान्तर गर्नु भनेको अन्तत भ्रष्टाचारलाई सघाउ पु¥याउनु हो ।’

आरआर क्याम्पसका पाँचसय विद्यार्थीको नतिजा के भएको हो ?
माओवादी केन्द्रका सांसद माधव सापकोटाले त्रिभुवन विश्वविद्यालय र आरआर क्याम्पसको लापरबाही कारण झण्डै ५ सय विद्यार्थीको भविष्यमा नै प्रश्न चिन्ह खडा हुने स्थिति आएको जिकिर गर्दै भन्नुभयो, ‘आर आर क्याम्पस भन्छ, त्रिविको परीक्षा नियन्त्रण कार्यालयको गल्ती भयो, त्रिविको परीक्षा नियन्त्रण कार्यालय भन्छ, हाम्रो गल्तीले कमजोरी भयो । एकले अर्कोलाई दोषारोपण गर्ने र पाँच सयभन्दा बढी विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्ने काम भइरहेको छ । सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषीउपर गम्भीर कारबाहीको माग गर्दछु ।’

शीर्ष नेताको भेटघाटले मिलेमतोको आशंका : यादव
जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी सामान्य भ्रष्टाचारको मुद्दा मात्र नभई राष्ट्रद्रोह भएको टिप्पणी गर्नुभएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दा देशद्रोह भएको टिप्पणी गर्दै यादवले भन्नुभयो, ‘यो सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गरिँदै छ, यो सामान्य भ्रष्टाचार मात्र होइन, देशद्रोह हो । यसले राजनीतिमा अविश्वासको वातावरण सिर्जना गरिरहेको छ । झन् केही दिनयता ठूला तीन दलका नेताहरू निरन्तर भेटिरहेकामा आशंका भएको छ । भेटघाटले यो मुद्दामा मिलेमतो गर्न खोजेको त होइन ? भन्ने शंका उत्पन्न भएको छ ।’

शरणार्थी प्रकरणमा खेद प्रस्ताव पारित गर्न माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा खेद प्रस्ताव पास गर्न प्रस्ताव गर्नुभएको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले राज्यकै लज्जाको विषय भएकाले खेद प्रस्ताव पारित गर्न प्रस्ताव गर्दै भन्नुभयो, ‘नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन कहाँ पुगेको छ ? सरकारको गृहमन्त्रीलाई संसद्मा आएर जवाफ दिन अनुरोध गर्छु । नेपाल राष्ट्रको लागि सभामुखतर्फ सरकारलाई यो घटनाप्रति लज्जाबोध गरेर यो घटनाप्रति खेद प्रस्ताव पास गर्न माग गर्छु ।’ रास्वपाका अर्का सांसद मनीष झाले नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूले योजनाबद्ध रूपमा सार्वजनिक हुने मौका पाइरहेको भन्दै प्रश्न उठाउनुभएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण सरिरहने, तर पूर्वराजालाई स्वागत गर्ने ?
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमण सरिरहेकोमा आशंका व्यक्त गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पन्तले भन्नुभयो, ‘हाम्रो प्रधानमन्त्री भारत जान्छु, जान्छु भन्नुहुन्छ । भ्रमण सरेको स¥यै छ । फेरि कहिले हुने हो थाहा छैन । तर, नेपालको प्रधानमन्त्रीलाई भारत आउन नदिएर पर्खाइराख्दा राजालाई उत्तर प्रदेशमा स्वागत गरिएको छ । नेपालका पूर्वराजालाई स्वागत गर्ने सन्दर्भमा त्यहाँका मुख्यमन्त्री र मन्त्रीहरूले बोलेका विषय आपत्तिजनक छन् ।’

नेपालका तत्कालीन राजालाई भारत भ्रमणमा बोलाइएको भन्दै सांसद पन्तले भन्नुभयो, ‘यही हो खेल, भारतमा नेपालको प्रधानमन्त्रीलाई आउन नदिने, तर नेपाली जनताले हटाएको राजालाई प्रधानमन्त्रीको सट्टा स्वागत गर्ने ? यो प्रेसर डिप्लोमेसी । के मेरो एजेण्डा पूरा गर्छौ ? तिमीले बोकेर आउने एजेण्डा र कार्यसूचीमा मेरो एजेण्डा पर्छ कि पर्दैन ? अनि मात्रै भारतमा स्वागत गर्छु भनेर दबाब दिन राजालाई भारतमा बोलाइयो ।’

सांसद पन्तले सरकारले नेपाली नागरिकको वित्तीय गोपनीयता विदेशी कम्पनीलाई सुम्पिन खोजिएको आरोपसमेत लगाउँदै भन्नुभयो, ‘नेपाल राष्ट्र बैंक तथा वाणिज्य बैंकहरूले बनाएको डिजिटल भुक्तानी प्रणाली प्रधानमन्त्रीको भ्रमणको समयमा एजेण्डा बनोस् भनिएको छ । दुःखको कुरा भारतीय दूतावासको दबाबमा राष्ट्र बैंक संलग्न कम्पनीलाई नदिएर भारतीय कम्पनी जेएसआईलाई ठेक्का दिने प्रस्ताव सरकारले भारत भ्रमणको क्रममा लैजाँदै छ । र एजेण्डा बन्दैछ ।’

आरोपीहरू नै सडकमा ‘भ्रष्टाचारी मूर्दावाद’ भन्दै हिँडेको आरोप
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचार विरुद्धको आन्दोलनमा भ्रष्टाचारीहरू नै संलग्न रहेको आरोप लगाउनुभएको छ । तीन दशकभन्दा लामो समयदेखि यस्तै चलिआएको दाबी गर्दै शाहीले भन्नुभयो, ‘अहिले भ्रष्टाचारविरुद्धको आन्दोलन सडकमा भइरहेको छ । स्वयम् भ्रष्टाचारको आरोप लागेका आरोपीहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा ‘भ्रष्टाचारी मूर्दावाद’ भन्दै हिँडेका छन् । भ्रष्टाचारविरुद्धका कुरा उठ्छन्, स्वयम् भ्रष्टाचारका आरोपित भ्रष्टाचारविरुद्धको आन्दोलनमा जान्छन् ।’

ओम्नी र बालुवाटार प्रकरण पनि छानविन गर्छौं: पौडेल
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनलाई टुंगोमा पुर्‍याएपछि अन्य भ्रष्टाचारका प्रकरणमा पनि छानविन गर्नुपर्ने बताउनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनलाई प्रभावित पार्नका लागि अरू प्रकरणको पनि छानविन गर्नुपर्ने भनेर विषयान्तर गर्न खोजिएको टिप्पणी गर्दै पौडेलले भन्नुभयो, ‘एउटा विषयको छानविन चलिराखेको बेलामा, अर्को विषय उठाइदिएर विषयान्तर नगरौँ । ओम्नी प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, बालुवाटार प्रकरण, एनसेल प्रकरण, सुन तस्कर प्रकरण पनि उठेका थिए । यी विषयको पनि छानविन गरौँला ।’

चरित्रहत्या गरिएको भन्दै राणाको आपत्ति
नेपाली कांग्रेस केन्द्रीय सदस्य आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम निष्कर्ष आओस् भनेर आफू आतुर रहेको जिकिर गर्नुभएको छ । सांसद राणाले आफ्नो चरित्रहत्या गरिएको टिप्पणी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा को दोषी हो, को होइन प्रष्टसँग आउनुपर्ने माग गर्दै भन्नुभयो, ‘त्यसको सत्यतथ्य चाँडै नै उजागर गर्न माग गर्दछु । यो केसको अन्तिम रिपोर्टका लागि मभन्दा आतुर कोही छैन । म के पनि भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा पुगिसकेको रहेछ । त्यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशका फेक मिडियामा सरकारको निगरानी हुनुप¥यो ।’ सांसद राणाले शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियो छानविनका लागि प्रहरीमा बुझाएको तर ६ दिनसम्म पनि रिपोर्ट नआएको भन्दै आपत्ति जनाउनुभयो ।

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक समितिमा
भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि दफावार छलफल संसदीय विषयगत समितिमा पुगेको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयकलाई सम्बन्धित समितिमा पठाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट खानेपानीमन्त्री महिन्द्रराय यादवले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ । यो विधेयकमा मुख्यतः सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था छ । यस विषयमा कतिपय दल र सांसदहरूले विरोध गर्दै आएका छन् ।

सुनुवाइ समिति गठनको नियमावली मस्यौदा समिति गठन
प्रतिनिधिसभाले संयुक्त समिति गठनका लागि ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समिति’ गठन गरेको छ । संघीय संसद्मा संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन गरी दुईवटा संयुक्त समिति छन् । यी समिति संयुक्त बैठक सञ्चालन नियमावलीअनुसार सञ्चालित हुने भएकाले संशोधन गर्न लागिएको हो । नियमावली बनेपछि दुवै संयुक्त समिति गठन हुनेछन् । सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले मस्यौदा समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्नुभएको थियो ।

कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने र नेकपा एमालेका सांसद योगेश भट्टराईले नियमावली मस्यौदा समितिको सदस्यहरूको नामसम्बन्धी प्रस्तावको समर्थन गर्नुभएको थियो । समितिमा अनिता देवी, जीवन परियार, ध्रुुवबहादुर प्रधान, नागिना यादव, पूर्णबहादुर घर्ती, महेश बर्तौला, मेटमणि चौधरी, रञ्जुकुमारी झा, रमेश लेखक, रामहरि खतिवडा, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, सरिता प्रसाईं, सुवासचन्द्र नेम्वाङ, सोविता गौतम र हितराज पाण्डे सदस्य रहनुभएको छ । नियमावली मस्यौदा समितिलाई सात दिनको समय दिइएको छ । समितिको सभापति भने समितिकै बैठकले चयन गर्नेछ ।

रायमाझी पक्राउ परेको सूचना संसद्‌मा
सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा बैठकमा सुनाउनुभएको छ । सभामुख घिमिरेले ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा रायमाझीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले वैशाख ३१ गते राति ८ः२५ बजे बूढानीलकण्ठ–४ बाट पक्राउ गरेर हिरासतमा राखेको सदनलाई जानकारी गराउनुभएको हो । रायमाझी पक्राउ परेको सूचना जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार संघीय संसद् सचिवालयलाई जानकारी गराएको थियो । रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा नियमावलीको नियम २४८ (१) बमोजिम संसद्लाई जानकारी गराएको सभामुख घिमिरेले बताउनुभयो ।

संसद् बैठक स्थगित
आगामी जेठ ४ गते प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले आगामी जेठ ४ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभएको हो । सोही दिन बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेछ । संसद् सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउनेछन् ।

विषयगत समितिको बैठक बस्दै
आजदेखि प्रतिनिधिसभाअन्तर्गत रहेका १० वटा विषयगत समितिको बैठक सुरु हुने भएका छन् । गठन भएका सबै समितिको पहिलो बैठक बिहान ९ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ । यसपछि समितिका बैठकहरू नियमित रूपमा अघि बढ्ने सचिवालयले जनाएको छ । प्रतिनिधिसभा सुरु भएको पाँच महिनापछि र समिति गठन भएको झण्डै दुई सातापछि संसदीय समितिहरूको बैठक बस्न लागेको हो । समिति सभापति निर्वाचित हुनुअघि सुरुवातका बैठकहरू समितिमा रहेका ज्येष्ठ सदस्यको सभापतित्वमा बस्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?