पाल्पा गोल्डकप हुने

हिमालय टाइम्स
Read Time = 3 mins

पाल्पा । पाल्पा जिल्ला फुटबल संघले कर्णेल उजिर सिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिताको घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ऐतिहासिक व्यक्तित्व कर्णेल उजिर सिंहको नाममा पाल्पा गोल्डकपको घोषणा गरिएको हो ।

प्रतियोगिता जेठ १२ गतेदेखि सञ्चालन हुने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणयजंग राणाले बताउनुभयो । प्रतियोगितामा पाल्पा, रूपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, स्याङ्जा, कास्की, चितवन र काठमाडौंका गरी १६ टिमको सहभागिता रहने आयोजक संघले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद तीन लाख, पाल्पाली करुवा ट्रफी र मेडल पाउनेछन् । यस्तै, दोस्रो हुने टिमले नगद एक लाख ५० हजार, पाल्पाली करुवा ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद तीन हजार दिइनेछ । उत्कृष्ट गोलरक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिनेछ ।

संघले प्रतियोगिताको मुख्य प्रायोजकका लागि सात लाख, सह-प्रायोजकका लागि चार लाख र ब्यानरका लागि १५ हजार सहयोगको अपेक्षा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । यसबाहेक विभिन्न आठवटा उप-समिति गठन गरेर अघि बढेको जनाएको छ ।

ग्राउण्डका दर्शकले ५० रुपैयाँ तिर्नुपर्नेछ, ज्येष्ठ नागरिक, विद्यार्थीलाई ५० प्रतिशत छुट दिइनेछ । प्रतियोगिता अवधिभरका लागि दुई हजार पाँच सय रुपैयाँ तिर्नेले विशेष पास पाउनेछ । प्रतियोगितामा १५ खेल हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?