तलब नपाएपछि कार्यालयमा तालाबन्दी

Read Time = 4 mins

सर्लाही । गत भदौदेखि तलब नपाएपछि सर्लाहीको सागरनाथ वन विकास परियोजनाका कर्मचारी आन्दोलित भएका छन् । उनीहरूले सोमबार परियोजनाको मुख्य कार्यालयमा तालाबन्दी गरेका छन् । सागरनाथ वन विकास परियोजना देशकै एकमात्र वनमा आधारित परियोजना हो । २०३५ सालमा तत्कालीन सरकारले सर्लाही, महोत्तरी, रौतहटको करिब १३ हजार पाँच सय १२ हेक्टरमा सागरनाथ वन विकास परियोजना अघि सारेको थियो । तर, सागरनाथ वन विकास परियोजना केही वर्षयता आर्थिक तथा प्राविधिकरूपमा अत्यन्त कठिन परिस्थितिवाट गुज्रिरहेको छ । सम्पूर्ण वनकर्मीको अध्ययन थलो, नेपालकै सबैभन्दा ठूलो वृक्षारोपण र कपिस व्यवस्थापनको नमुना, वन क्षेत्रबाट नेपालमा सबैभन्दा बढी राजस्व संकलन गर्ने संस्थाका कर्मचारीले नै गत वर्ष भदौदेखि तलब पाएका छैनन् ।

तलबभत्ता नपाउँदा घरव्यवहार चलाउनै मुस्किल परेको परियोजनामा कार्यरत कर्मचारी छत्र लामा बताउनुहुन्छ । वन क्षेत्रको विकास र हरियो वन नेपालको धन नारालाई साकार बनाउन सक्ने र वातावरणीयरूपले समेत अब्बल रहेको सागरनाथ परियोजना नेपालमै टिक तथा मसला काठको सबैभन्दा धेरै उत्पादन दिने क्षेत्रका रूपमा रहेको छ । परियोजना हाल एक सय ७० कर्मचारी स्थायी, करार र दैनिक गरी रोजगारी सिर्जना गर्न सफल भएको छ ।

सबै कर्मचारीले तलबभत्ता नपाउँदा वनको सुरक्षा गर्न र अतिक्रमणबाट बचाउनसमेत गाह्रो परेको परियोजनाका सहायक परियोजना प्रमुख शिवेन्द्रप्रसाद चौधरी बताउनुहुन्छ । मन्त्रिपरिषद्ले वन पैदावार विकास समिति र टिम्बर कर्पोरेसन मर्ज गरी वन निगम निर्माण गर्ने निर्णयपछि सुरु भएको विवादमा मधेश प्रदेशबाट परियोजना मधेश प्रदेशले सदुपयोग तथा व्यवस्थापन गर्न पाउनुपर्ने भन्दै २०७६ साल साउन ४ मा सर्वोच्च अदालतमा रिट दायर गरेपछि झन् परियोजना दल-दलमा फसेको हो ।

परियोजना आर्थिक तथा प्राविधिकरूपमा अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेको हो । परियोजना कुन सरकार मातहत रहने भन्ने विवाद एकातिर रहिरहँदा अर्कोतिर वन पैदावार विकास समितिमा अध्यक्ष राजनीति नियुक्तिबाट आउने र त्यस्ता व्यक्तिले सबै वनजंगल नबुझ्ने गरेका कारण समस्या आएको परियोजना प्रमुख रामकिशोर यादव बताउनुहुन्छ । यस्ता परियोजना संरक्षणमा तीनवटै तहका सरकार लागिपरेमा आर्थिक तथा वातावरणीयरूपमा समेत देशले ठूलो फाइदा लिन सक्ने विज्ञहरू बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?