धादिङमा ६० प्रतिशत उच्च रक्तचापको विरामी

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 7 mins

धादिङ । जिल्ला अस्पताल धादिङमा ६० प्रतिशत विरामीहरुमा उच्च रक्तचाप भएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेण्डेन्ट रुद्रमणी भण्डारीले बताउनु भएको छ ।

गर्मीमौसम सुरु भएसँगै धादिङ जिल्लामा विरामीहरुको संख्या हवात्तै बढेता पनि बढीमा उच्च रक्तचापका विरामीहरुको संख्या बढी रहेको मेसु भण्डारीले बताउनुभयो । भण्डारी भन्नुभयाे, 'पछिल्लो समय धादिङमा विरामीहरुको चाप छ, । विभिन्न रोगका विरामीहरु छन् प्राय जसो रक्तचापकै विरामीहरु छन् । कोहीलाई आँखामा, कोहीलाई मुटुमा कोहीलाई आन्द्रामा यस रोगले हान्छन् । कतिपयले त औषधी सेवन गरिरहेका छन् । उच्च रक्तचाप हुँदा अत्यधिक टाउको दुख्ने, एक्कासी नाकबाट रगत बग्ने, रिंगटा लाग्ने, थकाइ महसुस हुने, कानमा समस्या, थकान, चिन्ता वाक्वाक् लाग्ने, मुटुको धड्कन बढ्ने र बीचबीचमा मुटुको धड्कन रोकिए जस्तो लगायत लक्षण देखा पर्छन् ।'

यस्ता समस्या आएमा समयमै निजिकैको अस्पतालमा उपचार गर्न समेत मेसु भण्डारीले अनुरोध गरेको छ ।

आज विश्व उच्च रक्तचाप दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस चलन छ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो । बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । नेपालमा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगबाट सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् ।

स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले नेपालमा गरेको ‘स्टेप सर्भे’ अनुसार २०१९ को तथ्यांक अनुसार ‘३९ प्रतिशत मृत्युको हिस्सा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगबाट हुने गरेको छ । युवावस्थामै ३० देखि ६९ वर्षका २५ प्रतिशतमा उच्च रक्तचापको समस्या छ । साइलेन्ट किलरको रूपमा रहेको उच्च रक्तचाप मृत्युको प्रमुख कारण बन्दै गएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा‍ ओममूर्ति अनिलले बताउनुभयो । उहाँका अनुसार ४० वर्षभन्दा माथिका मानिसमा ५० प्रतिशत र १५ देखि २४ वर्षको उमेर समूहमा १० प्रतिशतलाई उच्च रक्तचापको समस्या छ । उच्च रक्तचाप ९० प्रतिशतलाई लक्षणविहीन हुन्छ भने करिब १० प्रतिशतलाई मात्रै लक्षण देखिन्छ । नेपालमा करिब ४७ लाख जनसंख्यामा उच्च रक्तचापको समस्या रहेको छ । जसमध्ये ४ लाख मानिस उपचारको दायरामा छन् ।

त्यसमध्ये २ लाखको उच्च रक्तचाप नियन्त्रणमा आएको भए पनि बाँकी ४५ लाखमा यो समस्या नियन्त्रणमा आएको छैन । स्वास्थ्य सेवा विभाग अन्तर्गतको एकीकृत सूचना व्यवस्थापन प्रणालीको तथ्यांक अनुसार पछिल्ला वर्षमा उच्च रक्तचापको लक्षण सहितको समस्या लिएर अस्पताल पुग्ने बिरामी तीव्र गतिले बढेका छन् । पाँच वर्षअघि २०७४/७५ मा ४ लाख ३ हजार ९ सय ४५ जना अस्पताल पुगेको तथ्यांक छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा ४ लाख ९९ हजार ४ सय ८५, २०७६/७७ मा ७ लाख ४१ हजार ५ सय ८२, २०७७/७८ मा ६ लाख ५७ हजार १ सय ६३ र २०७८/७९ मा ७ लाख ९५ हजार ८७ उच्च रक्तचापको समस्या लिएर अस्पताल पुगेका थिए । सरकारी तथ्यांकले अस्पताल पुगेका मध्ये उच्च रक्तचापका बिरामी ‘छैटौं’ स्थानमा रहेको छ । यसै गरी आर्थिक वर्ष २०७९ साउनदेखि चैतसम्म ६ लाख ४९ हजार ८ सय २९ जना उच्च रक्तचापका विरामी छन् । गत आर्थिक वर्ष उच्च रक्तचापको कारण १० हजार १ सय ८९ जना अस्पताल भर्ना भएका थिए । जबकी, चार वर्षअघिको तुलनामा यो संख्या दोब्बर रहेको थियो । एकीकृत सूचना व्यवस्थापन प्रणालीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा उच्च रक्तचापका ५ हजार ७ सय ११ बिरामी अस्पताल भर्ना भएका थिए । २०७५/७६ मा ८ हजार ६ सय ३३, २०७६/७७ मा ७ हजार ८ सय ३३ र २०७९ साउनदेखि चैतसम्म ३ हजार ४ सय २९ जना यसका कारण अस्पताल भर्ना भएका छन् । विशेषज्ञको अनुभवका अनुसार शहर–बजारमा झण्डै–झण्डै तीन जनामध्ये एक जनालाई र ३५ प्रतिशतसम्म वयस्कहरू १८ वर्षभन्दा माथिलाई उच्च रक्तचापको समस्या रहेको छ । नेपालमा पछिल्लो अध्ययनले नसर्ने रोगका कारण युवावस्थामै (३० देखि ६९ वर्षका) २२ प्रतिशतको मृत्यु हुने गरेको छ ।

पछिल्लो समयमा खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको विशेषज्ञहरूको भनाइ छ । केही समय अगाडिसम्म मृत्युको प्रमुख कारण सरुवा रोग हुने गथ्र्यो । विशेषज्ञका अनुसार अहिले श्वास–प्रश्वास सम्बन्धी समस्या, मुटु, उच्च रक्तचाप, मधुमेह, क्यान्सर तथा मिर्गौला रोगहरू प्रमुख कारण बन्न पुग्नु चिन्ताको विषय बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?