अनशनरत सांसद गौतमको स्वास्थ्य अवस्था नाजुक

एउटा माग पूरा, १४ मागको भएन सुनुवाइ

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 6 mins

बर्दिया । सत्तारूढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतम विकास निर्माणका विभिन्न माग राख्दै विगत सात दिनदेखि आमरण अनशन बसिरहनु भएको छ । बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित गौतम जब्दीघाटको पुलमुनि १५ बुँदे माग राखेर वैशाख ३० गतेदेखि अनशन बसिरहनु भएको हो । अहिले उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । उहाँ राम्रोसँग उभिन र बस्न नसक्ने हुनुभएको छ । उहाँले सुतेरै अनशनलाई निरन्तरता दिइरहनु भएको छ । सांसद गौतमको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि चिकित्सकहरूले निगरानी बढाएका छन् ।

जिल्ला अस्पताल, बर्दियाका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेयले उच्च रक्तचाप र मधुमेहका बिरामी गौतमले सात दिनसम्म खाना नखाँदा स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बताउनुभएको छ । गौतमको शरीरमा पानीको मात्रा कम हुँदै गएको छ भने पिसाबमा किटोन बढी देखिएको छ । जसकारण मिर्गौला तथा मुटुमा प्रभाव पार्ने उहाँ बताउनुहुन्छ । उहाँलाई तत्काल उपचारको आवश्यकता भएको पाण्डेयको भनाइ छ । गौतमले माग पूरा नभएसम्म स्लाइन पानीसमेत नचढाउन भनेको डा. पाण्डेय बताउनुहुन्छ ।

बबई नदीको जब्दीघाट आसपासमा नयाँ पुल निर्माण, गुलरिया र भारतको मुर्तिहा नाका सञ्चालन, नदी नियन्त्रणका लागि पर्याप्त बजेट, बबई सिँचाइमा बजेट कटौती नगर्न, भुरीगाउँ-तेलपानी सडक निर्माणलगायत १५ सूत्रीय माग गौतमको छ । जसको पहिलो सूचीमा जब्दीघाटको भत्किएको पुल निर्माणको काम सुरु गर्नुपर्ने नै रहेको छ । सरकारसँग कुरा भए पनि अहिलेसम्म ठोस प्रगति नभएकाले सत्याग्रहलाई निरन्तरता दिने उहाँको अडान छ ।

उहाँको अनशनलाई ऐक्यबद्धता जनाउँदै दैनिक सयौँको संख्यामा नेता, कार्यकर्तादेखि बर्दियाबासीसमेत जब्दीघाट पूल पुगिरहेका छन् । गुलरिया नगरपालिका-५ का सन्तोष थारूले यो क्षेत्रको लागि पुल पहिलो आवश्यकता भएको हुँदा गौतमको अनशनमा समर्थन रहेको बताउनुभयो । बारबर्दिया नगरपालिका-६ का सुमन ओलीको भनाइ पनि उस्तै छ । उहाँले सरकारले गौतमको कुरा सुन्नैपर्ने बताउनुभयो । गौतमले उठाएका माग जायज भएको भन्दै बरिष्ठ पत्रकार तथा लेखक नरेन्द्रजँग पिटरले ऐक्यबद्धता जनाउँदै यस्तो अवस्था आउनु विडम्बना भएको बताउनुभयो । बर्दिया बार एसोसियसनका अध्यक्ष कमलप्रसाद पाण्डेले अनसनलाई ऐक्यबद्धता जनाउँदै सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो । अधिवक्ता खडानन्द तिवारीले पनि राज्य संयन्त्र नै दोषी भएको हुँदा जनपेक्षित मागलाई तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

यता सरकारले भने पप्पु कन्स्ट्रक्सनले बनाएर उद्घाटन नहुँदै बीचभागमा भाँचिएको जब्दिघाट पुल पुनर्निर्माणको विषयमा निर्णय गरे पनि अन्य मागहरूका बारेमा उच्चारणसम्म गरेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइने जनाएको छ । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले अर्थ मन्त्रालयसँग बजेटका लागि छलफल भएको र अबको १० दिन भित्रमा ठेक्का प्रक्रियाका लागि सूचना प्रकाशित गर्ने जानकारी दिनुभयो । बर्दियाका स्थानीय जनप्रतिनिधि, सांसदलगायत सबैसँग सल्लाह गरेर सहमतिमा पुगेको उहाँको भनाइ छ । पुराना पुलको अदालतमा मुद्दा भएको र त्यसको आसपास नयाँ ठाउँमा पुलको ठेक्कामा जान लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नभयो, ‘अर्थ मन्त्रीसँग मन्त्रिपरिषद् बैठकमा कुराकानी हुँदा अर्थले बजेट सुनिश्चित गर्नुपर्‍यो र प्राविधिक रूपमा गर्नुपर्ने काम विभागले गरिरहेको बताएको छु ।’ मन्त्री ज्वालाले सांसद गौतमलाई अनशन तोड्न पनि अनुरोध गर्नुभएको छ । उहाँले आफ्नो मन्त्रालयले माग सम्बोधन गरेको र अन्य विषयमा पनि अरू मन्त्रालयमा छलफल चलिरहेको जानकारी दिनुभयो ।

यता, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले भने भत्किएको पुल नदीको बीचबाट हटाउने काम सडक डिभिजन कार्यालयले सुरु गरिसकेको बताउनुभयो । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाटको पुल निर्माण कार्य सकिएलगत्तै हस्तान्तरण नहुँदै २०७४ सालमा भत्किएको थियो । भत्किएको पुलबाट मानिस ओहोरदोहोर गर्ने अवस्था भए पनि २०७९ साल असोज २० गते आएको बाढीले पूर्ण रूपमा पुल भत्काएपछि आउजाउ रोकिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?