पाल्पामा पनि सवारी लाइसेन्स नविकरण, बुटवल, पोखरा, काठमाडौं जानुपर्ने बाध्यता हट्यो

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । पाल्पाबाट सवारी चालक अनुुमति पत्र (लाइसेन्स) नविकरणका लागि बुटवल, पोखरा, काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । पाल्पामै पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण सेवा सुरु भएसँगै त्यो बाध्यता हटेको हो ।

यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ४ गतेदेखि लाइसेन्स नविकरणको सेवा सञ्चालनमा ल्याएको छ । पाल्पा, गुल्मी, अर्घाखाँचीका सवारी चालकहरुको सेवालाई मध्यनजर गरी पाल्पाको तानसेनमा लाइसेन्स नविकरणको सेवा सुरु गरिएको हो । सेवा सञ्चालनको पहिलो दिन एक जनाले सेवा लिएका छन् भने दोस्रो दिन शुक्रबार ६ जनाले सेवा लिइसकेको कार्यालय प्रमुख केशव सुनारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘आवश्यक कागजात लिएर आउने सेवाग्राहीहरुलाई सहजै सेवा दिएका छौं ।’ जिल्लाबाटै नविकरणको सेवा सुरु भएसँगै सेवाग्राहीलाई सहज भएको छ । लाइसेन्स नविकरण गर्न बुटवल, पोखरा जानुपर्ने बाध्यता हटेको भन्दै सवारी चालकहरु समेत उत्साहित भएका छन् । अहिले दैनिक १५–२० जनासम्मलाई सेवा दिन सकिने गरी व्यवस्थापन मिलाइएको कार्यलय प्रमुख सुनारले बताउनुुभयो । तानसेन नगरपालिका–बर्तुङ्ग देवकोटाचोकमा रहेको कार्यालयबाट सेवा प्रवाह भइरहेको छ ।

नविकरणका लागि सक्कल नागरिकताको प्रमाण पत्र, सक्कल सवारी चालक अनुमति पत्रको प्रमाणपत्र र निरोगिताको प्रमाणपत्र आवश्यक पर्ने जनाइएको छ । पाल्पामा सवारी चालक परीक्षण केन्द्र (ट्रायल सेन्टर) को समेत निर्माण भएको छ । यातायात व्यवस्था सेवा कार्यालयले तानसेन नगरपालिका ७, ठाँटी क्षेत्रमा ट्रायल सेन्टर निर्माण गरेको हो ।

यातायात व्यवस्था विभागको स्विकृती पछि ट्रायल सेन्टरको सेवा समेत सञ्चालनमा ल्याइने यातायात व्यवस्था कार्यालय पाल्पाका प्रमुख सुनारले बताउनुुभयो । सेन्टरको २०७८ चैतमा लुम्बिनी प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेँगाले शिलान्यास गर्नुभएको थियो । ट्रायल सेन्टरबाट पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँचीका बासिन्दा लाभान्वित हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?