पर्यटन प्रवर्द्धनका लागि विराट–बर्जु हाफ म्याराथन

हिमालय टाइम्स
Read Time = 7 mins

-निर्मल ढुंगाना
विराटनगर । पाँच हजार वर्ष पुरानो इतिहासको संरक्षण एवम् प्रचार गर्ने उदेश्यले कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘विराट–बर्जु खुल्ला हाफ म्याराथन’को आयोजना गरेको छ ।

शनिबार विराटनगरको १८ भेडियारीमा अवस्थित विराट राजाको दरबार क्षेत्र संग्राहलयबाट सुनसरीको बर्जु गाउँपालिकास्थित बर्जु तालसम्म करिब २३ कि.मी.को आफ म्याराथनको आयोजना गरिएको हो । अधिकांश समय विराट राजा दरवार संग्राहलय सुनसान हुने गरेको छ । उत्खनन् गरेर निकालिएका केही ऐतिहासिक सामग्रीबाहेक दरबार क्षेत्रको प्रचार प्रसारको अभावले अस्तित्व नै मेटिइसकेको छ । महाभारत कालमा पाण्डवहरू गुप्तवासका लागि विराट राजाको दरबारमा आएको किम्वदन्ती छ ।

वि.सं. २०२७ सालमा नेपाल पुरातत्व विभागले उत्खनन् गर्दा ४० वटा पञ्चमार्क नामक चाँदीका मुद्रा भेटिएको तथ्य सार्वजनिक भएको थियो । त्यसपछि, दरबार क्षेत्रलाई इशापूर्व कालको अवशेष मानिएको छ । राज्यको चासो र संरक्षण नपुग्दा धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको विराट दरबार क्षेत्र लोप हुने अवस्थामा पुगेको स्थानीयको गुनासो छ । तर शनिबार एकाएक बढेको घुईंचोले सर्वसाधारणको मन तान्यो । केही सम्भावनाहरु देखिए । स्थानीय अव यस क्षेत्रको विकास हुनेमा आशावादी देखिए ।

म्याराथनको उद्देश्य धार्मिक, प्राकृतिक र ऐतिहासिक दुई पर्यटकीय स्थानहरुको प्रचार गराउनु पनि थियो । करिब २३ किलोमिटर दूरीमा रहेका दुबै क्षेत्र धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक क्षेत्रहरु हुन् ।

सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा पर्ने बर्जु ताल करिब १ सय ५२ बिघामा फैलिएको छ ।
महाभारतकालीन समयसँग जोडिएको यस तालमा बिभिन्न प्रजातिका माछाहरु भेटिन्छन् भने सय बढि प्रजातिका चराहरु देख्न सकिन्छ ।

कोशी प्रदेशको राजधानी विराटनगरबाट नजिकै रहेका दुबै ऐतिहासिक क्षेत्रहरुको प्रवद्र्धन र विकास गराउने उद्देश्यसहित पर्यटन मन्त्रालयले हाफ म्याराथनको आयोजना गरेको हो । मन्त्रालयको आयोजना र एथ्लेटिक्स संघ मोरङको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । विराटनगरको भेडियारीबाट सुरु भएको म्याराथन बर्जु तालमा पुगेर समापन भएको थियो । प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका म्याराथन धावक नरेन्द्र सिंह रावल प्रथम भएका थिए । उनले १ घण्टा १७ मिनेटमा २३ किलोमिटरको दूरी तय गरेका हुन् ।

प्रतियोगितामा नेपाली सेनाकै सुशील कुमार शाहीले दोस्रो स्थान हाँसिल गरे भने बैतडीका म्याराथन धावक मोहनदेव जोशीले तेस्रो स्थान प्राप्त गरे । त्यस्तै, नेपाली सेनाका होमलाल श्रेष्ठ र श्रीकाश राईले चौथो र पाँचौं स्थान हाँसिल गरे भने सशस्त्र प्रहरीका किरणसिंह बोगटीले छैटौं स्थान हासिल गरे ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने रावलले १ लाख रुपैयाँ, द्वितीय हुने शाहीले ७५ हजार रुपैयाँ, र तृतीय हुने जोशीले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । चौथो, पाँचौं र छैटौं हुनेले सान्त्वना स्वरुप जनही १५ हजार रुपैयाँ प्राप्त गरे । पुरुष तर्फ प्रतियोगितामा १०१ जनाले प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै, महिलातर्फको ५ किलोमिटर म्याराथनमा नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भएकी छिन् । उनले १९ मिनेट ४ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । दोस्रो स्थानमा सशस्त्र प्रहरीकीे सिमा थारु चौधरी, नेपाल प्रहरीकी तिर्सना कुमालले तेस्रो स्थान हाँसिल गरिन् भने विराटनगरकी अंशु मण्डलले चौथो स्थान प्राप्त गरिन् । महिला म्याराथन तर्फ प्रथम हुने रेखाले २५ हजार, द्वितीय हुने चौधरीले २० हजार र तृतीय कुमालले १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेकी छिन् । प्रतियोगितामा २९ जना महिला सहभागी थिए ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले उद्घाटन गरेर सुरु भएको प्रतियोगिता हेर्न दर्शकहरुको उल्लेख्य सहभागिता थियो । खेलकुद र पर्यटनको माध्यमबाट कोशी प्रदेशको राजधानी वरपरका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको मन्त्री आचार्यले बताए ।

मन्त्री आचार्यले पर्यटनको माध्यमबाटै नेपालको समृद्धि हुने बताउँदै पर्यटन प्रवद्र्धन र पर्यटकीय क्षेत्रको विकासका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?