यार्सागुम्बा संकलनका लागि खुल्ला भए मुगुका पाटनहरू

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 9 mins

नृपेन्द्रबहादुर मल्ल/हिटा
मुगु । मुगुको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि वन प्रवेश खुला गरिएको छ । यार्सागुम्बा संकलनका लागि जिल्लाबासी र बाहिरी जिल्लाहरूबाट आउने सर्वसाधारणलाई शुक्रबारदेखि वन प्रवेश खुलाइएको हो । वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताहरूले मात्र वन प्रवेश अनुमति पाउने मुगुमकार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले जानकारी दिनुभयो ।

यार्सागुम्बा संकलनका लागि पाटन क्षेत्रमा प्रवेश गर्न आउनेहरूमध्ये जिल्ला भित्रका संकलकहरूलाई प्रतिव्यक्ति दुई हजार र बाहिरी जिल्लाका संकलकलाई प्रति व्यक्ति दुई हजार पाँच सयका दरले कर तोकिएको गाँउपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नं १ र २ मा पर्ने वन तथा पाटन क्षेत्रहरू रिमाड, ठूलो कुईकी, सानो कुईकी, च्यार्खुलेख, छापाखोला, टाँकेमा बढी यार्सागुम्वा पाइन्छन् ।

मुगुमा रहेका दर्जन बढी पाटनहरूमा पाइने यार्सागुम्बा संकलनका लागि जिल्लाभरीका स्थानीयका साथै छिमेकी जिल्लाहरू जुम्ला, कालिकोट, बाजुरा, हुम्लाबाट पनि सयौं जना आउने गरेका छन् । कर्णालीबासीलगायत मुगालीहरूको बर्सेनि खर्चको स्रोतका रूपमा रहेको यार्सागुम्बा विगत दुई वर्षयता कोरानाले गर्दा संकलन तथा बिक्री बन्द हुँदा स्थानीयहरूले आर्थिक समस्या झेल्दै आएका थिए ।

चीनसँग जोडिएको नाक्चेलाग्ना नाका नेपाल सरकारले पूर्णरूपमा खोल्न प्रयास नगर्दा संकलक तथा व्यापारीहरूले समयमै यार्साको उचित मूल्य पाउन सकिरहेका छैनन । एक महिना यार्सा संकलन गरेपनि संकलक तथा व्यापारीहरूले साउन महिनाको अन्तिम साताबाट चीनबाट ह्याजिमारमा लाग्ने हाट बजार खोल्दासम्म पर्खनुपर्ने बाध्यता छ ।

उच्च हिमाली क्षेत्र, अक्सिजनको कमी, छिन छिनमा परिरहने हिउँ र चिसोका कारण बर्षेनी पाटन क्षेत्रमा दर्जन बढीको मृत्यु हुने गरेपछि यो वर्षदेखि गाँउपालिकाले कर तिरेर वनक्षेत्रमा प्रवेश गर्ने संकलकहरूको दुर्घटनामा परे उपचार र मुत्यु भए परिवारलाई राहत पुगोस् भनेर यार्सा विमा गरिदिएको छ भने पाटन क्षेत्रमा कुनै दुर्घटना भए समयमै उद्दार, अपराधिक समूहलाई नियन्त्रण गर्न विगत वर्षहरू भन्दा बढी सुरक्षाकमीहरू खटाइएको छ ।

यो सिजनमा मुगुका गाउँगाउँबाट तन्नेरी उमेरदेखि ६० बर्ष सम्मका सबै यार्सागुम्बा टिप्न पाटन क्षेत्रतिर जाँदा गाँउघरमा बालबालिका र जेष्ठ नागरिकहरू मात्र देखिने गर्दछन् । मुगुका पाटनहरूमा तीन गुणस्तरका यार्सागुम्बा पाइन्छन् जसलाई स्थानीयहरू एक, दुई र तीन नम्बरमा बर्गिकरण गरेका छन् । यो वर्ष पाटनहरूमा एक नम्बरको सात सय, दुई नम्बरको चार सय र तीन नम्बरको यार्साको रेट दुई सय रुपैयाँ रहेको यार्सा व्यापारी तथा मुगु गाँउका स्थानीय र्छोतेन लामाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो रेट पाटनमा यार्सा संकलकहरूबाट खरिद गर्दा पर्ने मूल्य हो । यहाँबाट व्यापारीहरूले काठमाडौं, पोखरा, नेपालगञ्ज र दोस्रो देशतिर लैजाने गरेका छन् ।’ पाटनहरूमा यार्सा संकलन गर्न पुगेका संकलकहरूले संकलन अवधि एक महिनाभित्र न्यूनतम एक लाखदेखि पाँच लाखसम्म कमाउने गरेका छन् ।

नेपालको हिमालयतर्फ र तिब्बती सीमानामा करीब तीन हजारदेखि पाँच हजार मिटरको उचाईमा यार्सागुम्बा पाइन्छ । यसलाई औषधि र चिकित्सा पद्धतिमा महत्वपूर्ण औषधिको रुपमा लिने गरिन्छ । त्यही कारण नेपालमा मात्रै नभई विदेशमा पनि सुनभन्दा महँगो रूपमा लिने गरिन्छ । यो क्यान्सरको औषधि र खास गरी यौन क्षमता बढाउने काममा प्रयोग गरिन्छ । यही कारणले यसलाई ‘हिमालयको भियाग्रा’ पनि भन्ने गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा एक किलो यार्सागुम्बाको मूल्य करिब एक लाख डलर बराबर रहेको छ ।

प्रत्येक वर्ष वैशाखदेखि असारसम्म आ-आफ्नो समयअनुसार हजारौँ नेपालीहरू यार्सागम्बा टिप्न पहाडतिर लाग्ने गर्छन् । उनीहरू पुरै गाउँ र बस्ती नै खाली गरेर यार्सा टिप्न जाने गर्छन् । त्यति मात्रै होइन, उनीहरू स्कुल नै बन्द गरेर पहाडको माथिमाथि महिनौँ दिनसम्म बसोबास गरी यार्सा संकलन गर्ने गर्दछन् । नेपालमा मुगुसहित डोल्पा, जुम्ला, कालीकोट, दार्चुला, बझाङ, बाजुरा, जाजरकोट, रुकुम, रोल्पा, बाग्लुङ, म्याग्दी, पर्वत, मुस्ताङ, मनाङ, गोर्खा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, संखुवासभालगायत हिमाली जिल्लामा यार्सागुम्बा पाइन्छ ।

यार्सा पाटनमा झडप हुँदा पाँचजना घाइते
गाउँपालिकाले तोकेको कर नतिरी यार्सागुम्बा टिप्न पाटन पसेका संकलकहरूलाई नियन्त्रण गर्न खोज्दा भएको झडपमा पाँच जना घाइते भएका छन । मुगुको मुगुमकार्मारोङ–१ वाङरीका पाटनहरूमा कर नतिरी लुकिछिपी यार्सागुम्बा टिप्न पुगेका जुम्ला पातारासी गाउँपालिकाका स्थानीयहरूलाई वडा नं १ डोल्फु गाउँका बासिन्दाहरूले नियन्त्रण गर्न खोज्दा भएको झडपमा स्थानीय पाँचजना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा मुगुमकार्मारोङ गाउँपालिका-१ डोल्फु गाउँका कार्मा लामा, पेमा आङडाल लामा, छिरिङ मिन्जुक लामा र दुई जना अन्य घाइते भएको सशस्त्र प्रहरी नायव उपरिक्षक डम्बर रानाले बताउनु भयो । घाइतेमध्ये छिरिङ दुई महिनाकी गर्भवती हुनुहुन्छ । घाइते तीन मध्य छिरिङ र कार्मा अलि बढी घाइते भएको र तीनै जनालाई उपचारको लागि सदरमुकाम ल्याइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिनुभयो । यसअघि गत वैशाख २२ गते जुम्लाको पातारासी गाउँपालिका तल्फी गाउँका १५ जना चोर बाटो प्रयोग गरेर मुगुका पाटनहरूमा जाँदा हिउँ पहिरोमा परेर तीन जना बेपत्ता भएका थिए । बेपत्ताहरू अझै फेला पर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव… खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः उपनेता अर्याल घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए