यार्सागुम्बा संकलनका लागि खुल्ला भए मुगुका पाटनहरू

हिमालय टाइम्स
Read Time = 9 mins

नृपेन्द्रबहादुर मल्ल/हिटा
मुगु । मुगुको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि वन प्रवेश खुला गरिएको छ । यार्सागुम्बा संकलनका लागि जिल्लाबासी र बाहिरी जिल्लाहरूबाट आउने सर्वसाधारणलाई शुक्रबारदेखि वन प्रवेश खुलाइएको हो । वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताहरूले मात्र वन प्रवेश अनुमति पाउने मुगुमकार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले जानकारी दिनुभयो ।

यार्सागुम्बा संकलनका लागि पाटन क्षेत्रमा प्रवेश गर्न आउनेहरूमध्ये जिल्ला भित्रका संकलकहरूलाई प्रतिव्यक्ति दुई हजार र बाहिरी जिल्लाका संकलकलाई प्रति व्यक्ति दुई हजार पाँच सयका दरले कर तोकिएको गाँउपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नं १ र २ मा पर्ने वन तथा पाटन क्षेत्रहरू रिमाड, ठूलो कुईकी, सानो कुईकी, च्यार्खुलेख, छापाखोला, टाँकेमा बढी यार्सागुम्वा पाइन्छन् ।

मुगुमा रहेका दर्जन बढी पाटनहरूमा पाइने यार्सागुम्बा संकलनका लागि जिल्लाभरीका स्थानीयका साथै छिमेकी जिल्लाहरू जुम्ला, कालिकोट, बाजुरा, हुम्लाबाट पनि सयौं जना आउने गरेका छन् । कर्णालीबासीलगायत मुगालीहरूको बर्सेनि खर्चको स्रोतका रूपमा रहेको यार्सागुम्बा विगत दुई वर्षयता कोरानाले गर्दा संकलन तथा बिक्री बन्द हुँदा स्थानीयहरूले आर्थिक समस्या झेल्दै आएका थिए ।

चीनसँग जोडिएको नाक्चेलाग्ना नाका नेपाल सरकारले पूर्णरूपमा खोल्न प्रयास नगर्दा संकलक तथा व्यापारीहरूले समयमै यार्साको उचित मूल्य पाउन सकिरहेका छैनन । एक महिना यार्सा संकलन गरेपनि संकलक तथा व्यापारीहरूले साउन महिनाको अन्तिम साताबाट चीनबाट ह्याजिमारमा लाग्ने हाट बजार खोल्दासम्म पर्खनुपर्ने बाध्यता छ ।

उच्च हिमाली क्षेत्र, अक्सिजनको कमी, छिन छिनमा परिरहने हिउँ र चिसोका कारण बर्षेनी पाटन क्षेत्रमा दर्जन बढीको मृत्यु हुने गरेपछि यो वर्षदेखि गाँउपालिकाले कर तिरेर वनक्षेत्रमा प्रवेश गर्ने संकलकहरूको दुर्घटनामा परे उपचार र मुत्यु भए परिवारलाई राहत पुगोस् भनेर यार्सा विमा गरिदिएको छ भने पाटन क्षेत्रमा कुनै दुर्घटना भए समयमै उद्दार, अपराधिक समूहलाई नियन्त्रण गर्न विगत वर्षहरू भन्दा बढी सुरक्षाकमीहरू खटाइएको छ ।

यो सिजनमा मुगुका गाउँगाउँबाट तन्नेरी उमेरदेखि ६० बर्ष सम्मका सबै यार्सागुम्बा टिप्न पाटन क्षेत्रतिर जाँदा गाँउघरमा बालबालिका र जेष्ठ नागरिकहरू मात्र देखिने गर्दछन् । मुगुका पाटनहरूमा तीन गुणस्तरका यार्सागुम्बा पाइन्छन् जसलाई स्थानीयहरू एक, दुई र तीन नम्बरमा बर्गिकरण गरेका छन् । यो वर्ष पाटनहरूमा एक नम्बरको सात सय, दुई नम्बरको चार सय र तीन नम्बरको यार्साको रेट दुई सय रुपैयाँ रहेको यार्सा व्यापारी तथा मुगु गाँउका स्थानीय र्छोतेन लामाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो रेट पाटनमा यार्सा संकलकहरूबाट खरिद गर्दा पर्ने मूल्य हो । यहाँबाट व्यापारीहरूले काठमाडौं, पोखरा, नेपालगञ्ज र दोस्रो देशतिर लैजाने गरेका छन् ।’ पाटनहरूमा यार्सा संकलन गर्न पुगेका संकलकहरूले संकलन अवधि एक महिनाभित्र न्यूनतम एक लाखदेखि पाँच लाखसम्म कमाउने गरेका छन् ।

नेपालको हिमालयतर्फ र तिब्बती सीमानामा करीब तीन हजारदेखि पाँच हजार मिटरको उचाईमा यार्सागुम्बा पाइन्छ । यसलाई औषधि र चिकित्सा पद्धतिमा महत्वपूर्ण औषधिको रुपमा लिने गरिन्छ । त्यही कारण नेपालमा मात्रै नभई विदेशमा पनि सुनभन्दा महँगो रूपमा लिने गरिन्छ । यो क्यान्सरको औषधि र खास गरी यौन क्षमता बढाउने काममा प्रयोग गरिन्छ । यही कारणले यसलाई ‘हिमालयको भियाग्रा’ पनि भन्ने गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा एक किलो यार्सागुम्बाको मूल्य करिब एक लाख डलर बराबर रहेको छ ।

प्रत्येक वर्ष वैशाखदेखि असारसम्म आ-आफ्नो समयअनुसार हजारौँ नेपालीहरू यार्सागम्बा टिप्न पहाडतिर लाग्ने गर्छन् । उनीहरू पुरै गाउँ र बस्ती नै खाली गरेर यार्सा टिप्न जाने गर्छन् । त्यति मात्रै होइन, उनीहरू स्कुल नै बन्द गरेर पहाडको माथिमाथि महिनौँ दिनसम्म बसोबास गरी यार्सा संकलन गर्ने गर्दछन् । नेपालमा मुगुसहित डोल्पा, जुम्ला, कालीकोट, दार्चुला, बझाङ, बाजुरा, जाजरकोट, रुकुम, रोल्पा, बाग्लुङ, म्याग्दी, पर्वत, मुस्ताङ, मनाङ, गोर्खा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, संखुवासभालगायत हिमाली जिल्लामा यार्सागुम्बा पाइन्छ ।

यार्सा पाटनमा झडप हुँदा पाँचजना घाइते
गाउँपालिकाले तोकेको कर नतिरी यार्सागुम्बा टिप्न पाटन पसेका संकलकहरूलाई नियन्त्रण गर्न खोज्दा भएको झडपमा पाँच जना घाइते भएका छन । मुगुको मुगुमकार्मारोङ–१ वाङरीका पाटनहरूमा कर नतिरी लुकिछिपी यार्सागुम्बा टिप्न पुगेका जुम्ला पातारासी गाउँपालिकाका स्थानीयहरूलाई वडा नं १ डोल्फु गाउँका बासिन्दाहरूले नियन्त्रण गर्न खोज्दा भएको झडपमा स्थानीय पाँचजना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा मुगुमकार्मारोङ गाउँपालिका-१ डोल्फु गाउँका कार्मा लामा, पेमा आङडाल लामा, छिरिङ मिन्जुक लामा र दुई जना अन्य घाइते भएको सशस्त्र प्रहरी नायव उपरिक्षक डम्बर रानाले बताउनु भयो । घाइतेमध्ये छिरिङ दुई महिनाकी गर्भवती हुनुहुन्छ । घाइते तीन मध्य छिरिङ र कार्मा अलि बढी घाइते भएको र तीनै जनालाई उपचारको लागि सदरमुकाम ल्याइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिनुभयो । यसअघि गत वैशाख २२ गते जुम्लाको पातारासी गाउँपालिका तल्फी गाउँका १५ जना चोर बाटो प्रयोग गरेर मुगुका पाटनहरूमा जाँदा हिउँ पहिरोमा परेर तीन जना बेपत्ता भएका थिए । बेपत्ताहरू अझै फेला पर्न सकेका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?