संसद्का दुवै सदनको बैठक आज, नीति तथा कार्यक्रममाथि छलफल हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुबै सदनको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा दिउँसो १ बजे बस्नेछ ।

प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०र८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । उक्त वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभामा जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरू तोकिएको छ ।

त्यस्तै राष्ट्रियसभाका सांसदहरूले भने जेठ ९ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्ने व्यवस्था गरिएको छ । दुबै सदनमा सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुहुनेछ ।

एमाले अध्यक्ष ओलीले आज संसद्‌मा सम्बोधन गर्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुने भएको छ ।

अध्यक्ष ओलीले बैठकको सुरुवातमै आफ्ना विचारहरू राख्ने कार्यक्रम छ । शनिबार एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकको सुरुमा एमाले संसदीय दलको तर्फबाट विचारहरू प्रस्तुत गर्नेबारे सांसदहरूलाई जानकारी गराउँदै भन्नुभयो, ‘मैले आइतबार केही कुराहरू राख्नेछु । ११ बजे छलफल सुरु हुन्छ प्रारम्भमै मैले हाम्रो संसदीय दलको तर्फबाट विचारहरूरु प्रस्तुत गर्नेछु । त्यसमा अलि समग्र कुराहरू अलि बढी राजनीतिक कोणबाट पनि आउने नै छन् ।’

अध्यक्ष ओलीले पार्टी संसदीय दलको तर्फबाट नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राख्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?