सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय समस्या सम्बोधन गर्न सक्दैन : महासचिव पोखरेल

विवेक खड्का दाङ, संवाददाता
Read Time = 4 mins

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय समस्या सम्बोधन गर्न नसकेको बताउनुभएको छ ।

प्रेस चौतारी दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै पोखरेलले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सामाजिक, सांस्कृतिक, आर्थिक बिषय ओेझेलमा पारेको आरोप लगाउनुभयो । महासचिव पोख्रेलले बढ्दो आर्थिक संकट, सांस्कृतिक हस्तक्षेप र सामाजिक विचलनका मुद्दा अहिलेको प्रमुख समस्या भएपनि सरकारले ल्याएको नीति कार्यक्रमले छुन नसकेको बताउनुभयो । ‘न नीति न कार्यक्रम जस्तो आयो सरकारको नीति तथा कार्यक्रम’ उहाँले भन्नुभयो–‘ सरकारले ल्याएको नीति तथा कार्यक्रमको चर्चा हुनुपर्थ्यो ।

यस्तै उहाँले मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्न राजनीतिक धुव्रिकरण आवश्यक रहेको बताउनुभयो । जनताको विकास र समृद्धिको आशालाई राजनीतिक अस्थिरताले असर गरेको उहाँको भनाइ छ । नेकपा एमाले अहिले सरकार बनाउने गिराउने खेलमा नलाग्ने दावी गर्नुभयो । एमालेको ध्यान ०८४ को आम निर्वाचनमा ध्यान केन्द्रित गरेको उहाँको दावी छ ।

अर्को प्रसंगमा महासचिव शंकर पोख्रेलले सत्तापक्षले भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने खेल सुरु गरेको दाबी गर्नु भएको छ । हिरासतमा लिइएकाहरुको बयान फेर्ने देखि सत्तापक्षकै ठूला नेताहरुको नाम जोडिन थालेपछि मुख्य दोषी उम्काउने खेल सुरु भएको पोख्रेलको दाबी छ । शरणार्थी प्रकरण घटना राष्ट्रघात भएको भन्दै निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो ।

एकीकृत समाजवादीका केन्द्रीय सचिव विश्वासीसहितका कार्यकर्ता एमाले प्रवेश

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासीसहित दाङबाट प्रतिनिधित्व गर्ने दुई केन्द्रीय सदस्य र कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

समाजवादीका यसअघिका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, दाङ जिल्ला अध्यक्ष सुरामणी बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली, जिल्ला सचिव डिल्लीबहादुर डाँगी, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मासहितका नेता कार्यकर्ता एमाले पार्टी प्रबेश गर्नुभयाे ।

नेकपा एमालेमा प्रवेश गर्नुभएका भागवत विश्वासीले अब समाजवादी पार्टी नेकपा माओवादीसंग एकता गर्ने तत्पर भएकाले आफुहरु आफ्नै घरमा फर्किएको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीका नेता एवं सांसद मेटमणी चौधरीले पार्टीमा जोडिने र छुट्ने क्रम निरन्तर चलिरहने भएकोले यसलाई अन्यथा लिन नुहुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?