लखनउ आइपिएलको प्लेअफमा

Read Time = 3 mins

लखनउ । लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६८औँ खेलमा कोलकाता नाइट राइडर्सलाई एक रनले हराउँदै प्लेअफमा स्थान पक्का गरेको छ । जितका लागि १७७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७५ रनमात्रै बनाउन सक्यो । कोलकातालाई अन्तिम ओभरमा २१ रन चाहिएका बेला रिंकु सिंहले अन्तिम तीन बलमा दुई छक्का र एक चौका प्रहार गरे पनि टोलीको हार टार्न सक्नुभएन ।

कोलकातालाई अन्तिम १२ बलमा ४१ रन चाहिएका बेला १९औँ ओभरमा रिंकुले नवीन उल हकलाई सुरुवाती तीन बलमा लगातार चौका र पाँचौँ बलमा छक्का प्रहार गर्दै जितको आशा दिलाउनुभएको थियो ।

रिंकुले ३३ बलमा छ चौका र चार छक्कासहित ६७ रन बनाउनुभयो । त्यसअघि ओपनर जेसन रोय २८ बलमा सात चौका र एक छक्कासहित ४५ रनमा आउट हुनुभयो । त्यसबाहेक कोलकाताका वेंकटेश ऐर २५, नितिश राणा आठ, रहमानउल्लाह गुरबाज १० र आन्द्रे रसेल सात रनमा आउट हुनुभयो ।

लखनउका रवि विश्रोइले चार ओभरमा २३ रन खर्चेर दुई विकेट लिनुभयो । यश ठाकुरले तीन ओभरमा ३१ रन खर्चेर दुई विकेट लिनुभयो ।
त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । लखनउका निकोलस पुरनले ३० बलमा चार चौका र पाँच छक्कासहित सर्वाधिक ५८ रनको योगदान दिनुभयो । ओपनर क्विन्टन डि कक २८, प्रेरक माकांड २६ र आयुष बदोनी २५ रनमा आउट हुनुभयो ।

छैटौँ विकेटका लागि पुरन र बदोनीले ४७ बलमा ७४ रनको साझेदारी गर्दै टोलीका लागि महत्वपूर्ण प्रदर्शन गर्नुभएको थियो ।
गुजरात १३ खेलमा नौमा जित र चारमा हारसहित १८ अंकका साथ शीर्षस्थानमा छ । चेन्नई १४ खेलमा आठमा जित र पाँचमा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रहृयो । लखनउ १४ खेलमा आठमा जित र पाँचमा हारसहित १७ अंकका साथ तेस्रो स्थानमा छ । चेन्नईको नेटरनरेट ०.६५२ र लखनउको ०.२८४ छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?