सम्पदा दोहन र सावधानी

हिमालय टाइम्स
Read Time = 7 mins

नेपाल विभिन्न सम्पदाले भरिपूर्ण देश हो । देश सानो भए पनि प्राकृतिक सम्पदा यहाँ पर्याप्त छन् । तिनलाई प्रकृति नखल्बल्याइकन निकाल्न र प्रयोग गर्न सके हामीलाई कुनै वस्तुको अभाव हुनेछैन भन्ने विषय विज्ञहरू बताउँछन् । आफूलाई पर्याप्त भई देशबाहिर निर्यात गर्न सकिने प्राकृतिक संशाधन हामीसँग छन् । प्राकृतिक देनमध्ये कै हो यार्सागुम्बा पनि । यो प्रकृतिको एउटा अमूल्य वरदान हो तर यसको संकलनका क्रममा भएका अनेकौं दुःखद् घटनातर्फ मनन् गर्नुपर्ने हुन्छ । नवलपरासीको पाँच किलोमिटर क्षेत्रको चुरे पहाड फलामै फलामले बनेको छ भनिन्छ । मुस्ताङमा ३५ टन युरेनियम छ र यसको मूल्य प्रतिकिलो २० करोडभन्दा बढी पर्छ भनिन्छ ।

अनेकौं प्राकृतिक संशाधन नेपालका विभिन्न ठाउँमा पाइन्छन् । बालुवा चालेर सुन खोजिने गरिन्छ भने स्लेट ढुंगादेखि अनेकौं प्रकारका पर्खाल बनाउने, छानो छाउने, घरका भित्तामा ठोक्ने, टाँस्ने र बाटामा छाप्ने प्रकारका ढुंगा हाम्रै देशमा छन् । विविध प्रकारका वनपैदावारहरू, प्राणीजन्य उपयोगी सामग्रीहरू, पाँचऔंले, धसिंगरे, जेठीमधु, पाखनवेद, सिलाजित, हड्चुर, सिलिंगी, कुड्की, बिखमा जस्ता जडिबुटी हुन् तिनबाट हामी पर्याप्त आयआर्जन गर्न सक्छौं । अब यार्सागुम्बा संकलनको सिजन भएको छ । मुगु, डोल्पा, जुम्लालगायत मध्यपश्चिम र सुदूरपश्चिमका हिमाली जिल्लामा यार्सागुम्बा पाइन्छ । हुन त हिमाली क्षेत्रका सबै ठाउँमा यार्सा पाउन सकिन्छ तर पूर्वका जिल्लाहरूमा यो न्यून मात्रामा मात्रै पाइने भएकाले यसको संकलन गरिँदैन ।

स्थानीय भाषामा यार्साकुम्बु, यार्चागुम्बो वा कीरा भनिने यो प्राणी हो कि वनस्पति भन्ने दोसाँधको अवस्थाको जडिबुटी हो । ६ महिना कीरो र बाँकी ६ महिना वनस्पति भएर रहने गर्छ भन्ने गरिन्छ । हेर्दा कीरोजस्तो देखिने, त्यसको एक छेउबाट कुनै वनस्पतिको टुसो पलाएको जस्तो देखिने यो जडिबुटी बहुमूल्य मानिन्छ । मानिसको यौनशक्ति बढाउने यार्सा टिप्न तल मध्यपहाडी क्षेत्रका जिल्लादेखि मानिसहरू जाने गर्दछन् । पहिले यसको त्यति महत्व थिएन, जब यो यौनशक्ति वृद्धि बढाउने जडिबुटी हो भन्ने प्रचार हुन थाल्यो अनि महत्व तथा मूल्य क्रमशः वृद्धि हुँदै आयो । स्थानीय तहमा मात्र एउटा जडिबुटीका रूपमा किनबेच हुने यार्सा विस्तारै टाढाटाढासम्म बिक्रीवितरण हुन थाल्यो ।

हाल अन्तर्राष्ट्रिय बजारमा बिक्रीवितरण हुने गरेको छ । यसको मूल्य दुई/चार सय रुपैयाँ प्रतिकेजी हुँदै हालका दिनमा प्रतिकेजी लाखौं पर्न थालेको छ । संकलन गर्न जानेहरूको संख्या बढ्दै गएको छ । जसले गर्दा विभिन्न खालका समस्या तथा विकृति सिर्जना भएका छन् । मानिसहरू केही महिनासम्मका लागि सातुसामल लिएर उतै गएर बस्ने गर्छन् । विद्यालय तहका विद्यार्थी पढाइ छोडेरै जाने गर्छन् । चिसोले कठांग्रिएर वा लेक लागेर सोही क्षेत्रमा केहीको मृत्युसमेत हुने गरेको छ ।

यतिमात्र होइन बेजिल्लाका मानिस आएर आफ्नो क्षेत्रमा यार्सा संकलन गरेको भनेर स्थानीय र बाहिरबाट गएकाबीच झडप हुने गरेको छ । झडप हुँदा केही वर्ष पहिले ज्यानसमेत गएको थियो । अहिले पनि झडपका घटना भएका छन् । स्थानीय सरकारले यार्सा संकलकहरूबाट कर लिने गरेको छ । तर, कतिपय कर नै नतिरी संकलनमा गएका कारण स्थानीय र संकलकबीच झडप हुँदा केही मानिस घाइते हुन पुगेका हुन् । यसतर्फ सतर्कता अपनाउनुपर्ने आवश्यकता छ । सरकारले यस्तो बहुमूल्य जडिबुटी संकलनमा जानेहरूलाई अनुमति दिएरमात्र पठाउनुपर्ने आवश्यकता देखिन्छ ।

उनीहरूलाई यसका लागि अनुमतिपत्रको कागज दिएर पठाएको खण्डमा अनुमति पाएको र नपाएको मानिस छुट्याउन सजिलो हुन्छ । साथै संकलित यार्साको तस्करी हुने सम्भावनालाई मध्यनजर गर्दै यार्सा संघीय वा स्थानीय सरकारले नै किनिदिएर देशबाहिर पठाउनुपर्ने अवस्था भए सरकारी तहबाट मात्रै निकासी गर्ने व्यवस्था हुनसके यस क्षेत्रमा हुने अनियमितता कम हुने सम्भावना हुन्छ । यस क्षेत्रमा थप विकृति सिर्जना हुन नदिन सरकार सचेत बन्नुपर्छ । अनियमितता नियन्त्रण गर्न र झडप हुन नदिन सरकारले त्यस क्षेत्रमा पर्याप्त संख्यामा प्रहरी तथा प्रशासनका मानिसहरू परिचालन गर्न सके अप्रिय घटनामा निश्चय न्यूनीकरण गर्न सघाउ पुग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?