ढोरपाटन नगरपालिकाका मेयर चार दिनदेखि सम्पर्कविहीन, शेयर सदस्यको करोडौँ बचत हिनामिना

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली सम्पर्कविहीन हुनु भएको छ । नगर उपप्रमुख नेपालीले धनबहादुर कायत (कल्याण) लाई कार्यवाहक दिएर चार दिनदेखि सम्पर्कविहीन भएका छन् । उनी परिवारसहित सम्पर्कविहीन भएका हुन् ।

वैशाख ५ गते लेखेको कार्यवाहकको पत्र आफ्नो टेवलमा फेला परेको उपप्रमुख कायतले बताउनुभयो । उहाँले एक साता अगाडि प्रहरी चौकीमा भेट भएको भन्दै त्यसपछि प्रमुख नेपालीसँग सम्पर्क नभएको बताउनुभयो ।

उपप्रमुख कायत भन्नुहुन्छ– “मेरो टेवलमा ६ गते मात्रै कार्यवाकहको पत्र आएको छ, मेयर कहाँ हुनुहुन्छ भन्ने अहिले सम्पर्क भएको छैन, केही दिन अगाडि त भेट भएको थियो, म योजना अनुगमनमै ब्यस्त भएको हुँदा केही दिनदेखि भेटसमेत भएको छैन, सम्पर्क पनि भएको छैन ।”
इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहनु भएका नगर प्रमुख नेपालीमाथि करोडौं रकम हिनामिनाको आरोप लागेको छ । प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले इमेज सहकारीका बचत कर्ताहरुले हाम्रो बचत डुब्ने भयो भन्दै अध्यक्षलाई खोज्न निवेदन दिएको हुँदा तालुक निकायहरुमा खबर गरेको बताउनुभयो ।

उहाँले संभावित घटना हुनबाट रोक्न सबै तिर खोजतलासीका लागि पत्रचार गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी श्रेष्ठ भन्नुहुन्छ– “निवेदन आएपछि हामीले धेरै पटक सम्पर्क गर्न खोज्यौाँ तर उहाँसँग सम्पर्क हुन सकेन, संभावित दुर्घटना हुनबाट रोक्नका लागि तालुक निकायहरुमा पनि खबर गरेका छौँ, हामीहरु पनि खोजी कार्यमा जुटेका छौँ ।”

सहकारीमा बचत फिर्ताका गर्नेहरुको भिड छ । मेयर नेपालीले वैशाख दोस्रो साता आफ्नो भएभरको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

नेपालीसहित सात जना अध्यागमनको निशानामा

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका संस्थापक अध्यक्षसहित संचालकहरुलाई गृहमन्त्रालय सिमा तथा अध्यागमन शाखाले यात्रा रद्द गर्नका लागि पत्रचार गरेको छ ।

बचतकर्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय बागलुङको आगहपछि अध्यागमन विभागले सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, संचालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र सदस्य झगबहादुर शाहीको यात्रा रद्द गर्न सबै निकायलाई पत्रचार गरेको छ ।

निगमले भागेर विदेश पलायन हुन सक्ने भन्दै उनीहरुको यात्रा रद्द गर्न पत्राचार गरेको हो । नेपालीसहितका जिम्मेवार व्यक्तिहरु सम्पर्क विहिन भएपछि वचतकर्ताहरु यतिबेला तनावमा छन् ।

नेपाली फरार भएपछि बचतकर्ताले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बागलुङ आइतबार रातिसम्म धर्ना दिएका थिए । रकम हिनामिना भएको थाहा पाएपछि वैशाख पहिलो सातानै बचतकर्ताले सहकारीमा धर्ना दिएका थिए । त्यस बेला संस्थापक अध्यक्ष नेपालीले आफ्नो सम्पत्ति बेचेर भए पनि बचत फिर्ता गर्ने बताउनु भएको थियो । तर चार दिनदेखि उहाँनै सम्पर्कविहीन भएपछि बचतकर्ताले संस्थाका कर्मचारी लालमती मगरलाई कारबाहीको मागसमेत गरेका छन् ।

इमेज सहकारीको वित्तीय अवस्थाको यथार्थ जानकारी लिई वचत फिर्ताका लागि आवश्यक पहलकमदी गर्न सहकारी रजिष्ट्रारको कार्यालयले पोखराले आजदेखि काम थाल्ने भएको छ । कार्यालयमा वचतकर्ताहरुले हिजो निवेदन दिनु भएको छ, हामीले आजदेखि संस्थाको यथार्थ अवस्था पत्ता लगाई संस्थापक अध्यक्ष र सञ्चालकहरुको जग्गा रोक्का राख्ने, उनीहरुको बैंक खाता रोक्का राख्ने देखि आवश्यक प्रक्रिया अगाडि बढाउछौ, रजिष्ट्रार रोशन अर्यालले भन्नुभयो,– ‘बचतकर्ताको रकम डुब्न नदिनका लागि आवश्यक सबै प्रक्रिया अगाडि बढाउछौ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *