रियलको हार, एट्लेटिकोको जित

Read Time = 3 mins

म्याड्रिड । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड पराजित हुँदा एट्लेटिको म्याड्रिडले भने जित हात पारेको छ । रियलले भ्यालेन्सियासँग एक-शून्यले हार बेहोर्‍यो । भ्यालेन्सियाका डिएगो लोपेजले खेलको एकमात्रै गोल गर्नुभएको थियो । उहाँले खेलको ३३औँ मिनेटमा गोल गर्नुभएको हो ।

खेलको अन्त्यतिर भने भिनिसियस जुनियर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो । त्यसले खेलको नतिजामा केही फरक परेन । यस हारसँगै रियल ३५ खेलबाट ७१ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । भ्यालेन्सिया ४० अंक जोडेर १३औँ स्थानमा छ ।

अर्काे खेलमा एट्लेटिको म्याड्रिडले ओसासुनालाई तीन-शून्यले पराजित गर्‍यो । एट्लेटिकोको जितमा यान्निक कारास्को, सहुल निग्वेज र एन्जल कोरेआले गोल गर्नुभयो । यस जितसँगै दोस्रो स्थानमा उक्लिएको एट्लेटिकोको ३५ खेलबाट ७२ अंक पुगेको छ । पराजित ओसासुना ४७ अंक जोडर १०औँ स्थानमा छ ।

यस्तै, अग्सवर्गलाई पराजित गर्दै बोरुसिया डर्टमुण्ड जर्मन बुण्डेसलिगाको शीर्षस्थानमा उक्लियो । अग्सवर्गलाई तीन-शून्यले पराजित गर्दै डर्टमुण्ड बुण्डेसलिगाको उपाधिबाट एक जित टाढा छ ।

डर्टमुण्ड २०११-१२ पछि पहिलोपटक बुण्डेसलिगा जित्ने बलियो स्थितिमा छ । अब डर्टमुण्डले अन्तिम खेलमा माइन्जसँग २७ मार्चमा खेल्नेछ । यस खेलमा जित निकालेमा डर्टमुण्ड च्याम्पियन बन्नेछ । अर्काे खेलमा बायर्न म्युनिखले कोल्नसँग अंक गुमाएको खण्डमा डर्टमुण्डलाई बराबरीको नतिजा पनि च्याम्पियन बन्न पर्याप्त हुनेछ ।

शीर्षस्थानमा उक्लिएको डर्टमुण्डको ३३ खेलबाट ७० अंक पुगेको छ । समान खेलबाटै बायर्नको ६८ अंक छ । अग्सवर्ग ३४ अंक जोडेर १४औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?