तामाकोशी ५ का लागि १३ अर्ब ७४ करोड ऋण सम्झौता

Read Time = 6 mins

काठमाडौं । दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी ५ जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको हो । जनताको जलविद्युत् कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्वसाधारणलाई समेत सेयर निष्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने बताइएको छ । आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आइतबार नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोशी जलविद्युत् कम्पनी र कोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
सबैका लागि, समृद्धिका लागि र स्वच्छ वातावरणका लागि हरित ऊर्जा नेपालको सम्भावना र आवश्यकता रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले जलविद्युत्को उत्पादन बढाउने, प्रसारण तथा प्रणालीका पूर्वाधार विस्तारमा काम भइरहेको बताउनुभयो ।

उहाँले खपत बढाउन र देशभित्र खपत गरी बढी भएको विद्युत् निर्यातका लागि बजार सुनिश्चित गर्ने प्रयास भइरहेको पनि बताउनुभयो । आयोजना तोकिएकै समय र लागतमा सम्पन्न गरी विकास निर्माणमा ढिला हुँदा उठ्ने प्रश्नको जवाफ दिनुपर्ने मन्त्री बस्नेतको भनाइ थियो ।

निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादित विद्युत् यहीं खपत गरी बढी भएको निर्यात गर्न बजार सुनिश्चित हुँदै गएको बताउनुभयो । भारत र बंगलादेश नेपालमा उत्पादित विद्युत् किन्न आतुर रहेको जिकिर गर्दै उहाँले ती देशमा विद्युत् बिक्री गर्दा वर्षायामको विद्युत्को राम्रो दर पाउने अवस्था बन्दै गएको बताउनुभयो ।

कोषका प्रशासक धितालले जलविद्युत् क्षेत्रमा करिब आठ सय मेगावाटका आयोजनामा ४० अर्ब रुपैयाँभन्दा बढी कोषले लगानी गरेको जानकारी दिँदै निर्धारित समय र लागतमा निर्माण सम्पन गरी आयोजनालाई नमुना बनाइनुपर्नेमा जोड दिनुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत भण्डारीले आयोजनाको निर्माण चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसाथ काम भइरहेको बताउनुभयो ।

तामाकोशी ५ चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्किएको पानी उपयोग गरी निर्माण हुन लागेको क्यास्केड आयोजना हो । तामाकोशी ५ ले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुनपर्ने भएकाले आयोजनालाई आकर्षक मानिएको छ ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट निस्किएको पानी आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने सिभिल संरचनाको निर्माण भइसकेको छ भने हाइड्रो मेकानिकलको काम बाँकी रहेको छ । आयोजनाले आठ किलोमिटर सुरुङ, विद्युत् गृह, करिब दुई किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्नेछ । आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनोटका लागि टेण्डर प्रक्रियामा रहेको छ भने विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेका छन् । आयोजना निर्माणमा आवश्यक पर्ने करिब एक सय ३३ रोपनी निजी जग्गा अधिग्रहण गरिसकिएको छ । कम्पनीका अनुसार आयोजनाबाट वार्षिक ४९ करोड ५१ लाख युनिट विद्युत् उत्पादन हुनेछ । माथिल्लो तामाकोशीमा रोलवालिङ खोला मिसाएपछि आयोजनाबाट उत्पादन हुने विद्युत् वृद्धि भई ५४ करोड ३५ लाख युनिट पुग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?