बैतडीमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीबाट एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका-१ रीमकी २६ वर्षीया दमयन्ती भट्ट जोशीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्रसिंह डोबालले बताउनुभयो ।

सोमबार राति शल्यक्रियाद्वारा बच्चा जन्माएकी दमयन्तीको अत्यधिक रक्तश्राव भएका कारण मंगलबार हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको उहाँले जानकारी दिनुभयो । दमयन्तीलाई बैतडीमै ६ युनिट रगत चढाएको र थप उपचारका लागि अन्यत्र रेफर गर्नुपरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी डोबालले बताउनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दमयन्तीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुविधा सम्पन्न अस्पतालमा लगिएको हो । समस्यामा परेका गर्भवती तथा सुत्केरी महिलापुरुषलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तगर्त हेलिकप्टरमार्फत उद्धार गरिँदै आएको छ ।

महिला बालबालिका जेष्ठ नागरिक मन्त्रालय मार्फत् सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बैतडीमा हाल सम्म ८ जना गर्भवती तथा सुत्केरी महिलाहरूको हवाइ उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शंकर बहादुर बोहराले जानकारी दिनुभयो ।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?