नेपालले वेस्टइण्डिजसँग खेल्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आगामी महिना जिम्बाबेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले दुईपटकको विश्वकप विजेता वेस्टइण्डिजसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको विश्वकप छनोटको समूह विभाजनमा नेपाल र वेस्टइण्डिज समूह ‘ए’ मा परेका हुन् ।

समूह ‘ए’ मा नेपाल, वेस्टइण्डिज, जिम्बाबे, अमेरिका र नेदरल्याण्ड्स छन् । समूह ‘बी’ मा आयरल्याण्ड, श्रीलंका, युएई, स्कटल्याण्ड र ओमान छन् । प्रतियोगिता १८ जुन देखि ९ जुलाईसम्म जिम्बाबेमा हुनेछ ।

सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल जिम्बाबेसँग १८ जुनमा खेल्नेछ । नेपालले दोस्रो खेल २० जुनमा अमेरिकासँग खेल्नेछ । नेपालले वेस्टइण्डिजसँग २२ जुनमा खेल्नेछ । नेपालले २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ । यदि समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ ।

सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् । सुपर सिक्समा सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

यदि नेपालले सुपर सिक्समा स्थान बनाउन नसके प्लेअफ खेल्नेछ । फाइनल भने जुलाई ९ मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपालले सोमबार नै २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ ।

नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनाश बोहोरा रहनुभएको छ ।

नेपालमा एक हप्ताको बन्द प्रशिक्षणपछि अन्तिम तयारीका लागि दक्षिण अफ्रिका जानेछ । नेपालले एक हप्ताको तयारीपछि अन्तिम टोली घोषणा गर्नेछ । नेपालले दक्षिण अफ्रिकामा नेदरल्याण्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै प्रतियोगिताको अन्तिम तयारी गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?