द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न राष्ट्रसंघ प्रमुखको आग्रह

Read Time = 4 mins

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुभएको छ । महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षासम्बन्धी बहसमा भन्नुभयो, ‘लामो समयदेखि सशस्त्र द्वन्द्वको घातक असर आमनागरिकले भोग्दै आएका छन् । अब हामीले उनीहरूको रक्षा गर्ने आफ्नो वाचा पूरा गर्ने समय आएको छ ।’

उहाँले युद्धकलामा नागरिकको सुरक्षा गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न विश्व असफल भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मानवीय कानुनप्रति अझ बढी सम्मान गर्न आग्रह गर्नुभएको थियो ।

गतवर्ष जनघनत्व भएका क्षेत्रमा तैनाथ विष्फोटक हतियारका कारण ज्यान गुमाउनेमा ९४ प्रतिशत सर्वसाधारण रहेको राष्ट्र संघको तथ्यांक छ । सन् २०२२ मा विश्वका ११ करोड ७० लाखभन्दा बढी मानिसले तीव्र भोकमरीको सामना गर्नुपरेको थियो, जसको मुख्य कारण युद्ध र असुरक्षा थियो ।

गुटेर्रेसले द्वन्द्वले आमनागरिकमा पारेको प्रभावलाई कम गर्नुपर्नेमा जोड्दिनुभयो । उहाँले भन्नुभयो, ‘केही युद्धरत पक्षहरूले बालबालिकाको सुरक्षा गर्न र मानवतावादीलाई खाँचोमा परेका मानिससम्म पुग्न दिन कदम चालेका छन् । यो सकारात्मक कदम हो । तर अझै यो अपर्याप्त छ ।’

खाद्य सुरक्षालाई सम्बोधन गर्दै जारी युद्धका बीच युक्रेनबाट खाद्यान्न निर्यात गर्न ‘ब्ल्याक सी इनिसियटिभ’ जस्ता उपायहरूको साथै रुसी खाद्य र मललाई विश्व बजारमा ल्याउनेसम्बन्धी समझदारी पत्रबारे पनि उहाँले उल्लेख गर्नुभयो ।

गत नोभेम्बरमा, उहाँको पहलमा राज्यहरूले जनघनत्व भएका क्षेत्रहरूमा विष्फोटक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउने वा निषेध गर्ने राजनीतिक घोषणापत्र पारित गरेका थिए ।

‘अझै पनि, डरलाग्दो सत्य के छ भने अन्तर्राष्ट्रिय मानवीय कानुनमा निहित प्रतिबद्धता अनुसार विश्वले नागरिकको सुरक्षा गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न असफल भइरहेको छ’, गुटेरेसले जेनेभा कन्भेन्सनलाई संकेत गर्दै भन्नुभयो, ‘यसको सम्मान सुनिश्चित गर्न हामीलाई कार्य र जवाफदेहीको आवश्यकता छ । त्यो राजनीतिक इच्छाशक्तिमा भर पर्छ ।’

महासचिव ले अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्व रोक्न, नागरिकको सुरक्षा गर्न, शान्ति कायम गर्न र युद्धको राजनीतिक समाधान खोज्न जारी प्रयासलाई थप तीव्रता दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘जहाँ युद्ध जारी छ, त्यहाँ सबै देशले अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्नुपर्छ र यस परिषद्का सदस्यहरूको विशेष जिम्मेवारी छ ।’

‘यसबाहेक, हतियार निर्यात गर्ने देशहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना नगर्ने कुनै पनि पक्षसँग व्यापार गर्न इन्कार गर्नुपर्छ’, उहाँले भन्नुभयो । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?