मौलिक लोक बाजाको १५ दिने प्रशिक्षण शुभारम्भ

Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक प्रतिष्ठान नेपाल र काठमाडौं महानगरपालिकाको सहकार्यमा नेपाली मौलिक लोक बाजाको १५ दिने प्रशिक्षण कार्यक्रमको समुद्घाटन भएको छ । काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित महासंघको सभाहलमा बुधबार समुद्घाटन भएको उक्त कार्यक्रम जन सांस्कृतिक प्रतिष्ठान, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीको अध्यक्षता र काठमाडौं महानगरपालिकाकातर्फबाट वडा नं. २८ का वडा अध्यक्ष भाइकाजी कायस्थको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालका उपाध्यक्ष आर.सी.न्यौपाने, राष्ट्रिय जनसंगीत कलाकार संघका अध्यक्ष वैकुण्ठ महत र प्रशिक्षकहरू अतिथिको रूपमा हुनुहुन्थ्यो । सो कार्यक्रममा जन सांस्कृतिक प्रतिष्ठान, नेपालका महासचिव अशोककुमार राईले मौलिक लोक बाजा प्रशिक्षण आयोजना गर्नुको औचित्य तथा महत्वको बारेमा विधागत मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालका उपाध्यक्ष आर.सी.न्यौपानेले कला, साहित्य, संगीत, वाद्यवादनको ऐतिहासिक महत्व तथा मानव जीवनमा कलाले गर्ने मार्गनिर्देश एवं सौन्दर्यको मूल्यबोधको बारेमा गहन्तम् विचार प्रस्तुत गर्दै राष्ट्रियता र कला साहित्य एकअर्कामा परिपूरक रहेको दार्शनिक विषयमा मन्तव्य राख्दै कार्यक्रम सफलताको शुभकामनासमेत व्यक्त गर्नु भएको थियो ।

प्रशिक्षण कार्यक्रमले राष्ट्रिय कला, वाद्यवादन, गीत, संगीत, साहित्य, संस्कृति तथा राष्ट्रिय लोक सौन्दर्यको उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

दश विधाका दर्जनौ प्रशिक्षार्थी सहभागी भएको उक्त १५ दिने (१०-२४) प्रशिक्षण कार्यक्रममा सनाई, बाँसुरी, खैँजडी, सारङ्गी, टुङ्ना, खिँ, डम्फु मादल, धिमे, ढोलक, जस्ता वाध्यवादनको प्रशिक्षण हुनेछ । प्रशिक्षणमा प्रशिक्षकको रूपमा सनाईमा धनबहादुर गुरुङ, बाँसुरीमा गोपालदेव घतानी, सारंगीमा भरत नेपाली, टुङ्नामा छेवाङ तेन्जिङ लामा, ताल बाजामा भरत बुढाथोकी र नरेश प्रजापतिलगायत प्रशिक्षकहरू हुनुहुन्छ ।

ऐतिहासिक प्रशिक्षण कार्यक्रमका संयोजकको रूपमा प्राज्ञ अशोककुमार राई हुनुहुन्छ । कला संगीतको क्षेत्रमा गहिरो विज्ञता प्राप्त गर्नुभएका अशोक राई प्रमुख प्रशिक्षक रहेको विशेष प्रशिक्षणले नेपाली मौलिक लोक बाजाको विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

सांस्कृतिक आन्दोलनका अग्रज तथा प्रतिष्ठानका अध्यक्ष प्रेमनाथ अधिकारीको नेतृत्वमा रहेको जनसांस्कृतिक प्रतिष्ठान, नेपाल र मेयर बालेन साहको नेतृत्वमा रहेको काठमाडौं महानगरपालिकाबीचको सहकार्यमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रमले राष्ट्रिय कला, वाद्यवादन, गीतसंगीत, साहित्य, संस्कृति तथा राष्ट्रिय लोक सौन्दर्यको उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । तस्वीर : हरि थापा ‘किरण’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?