मुद्दा फस्र्योट नहुँदै दोषी करार !

‘अनुसन्धान प्रभावित पार्ने गरी विवरण चुहाइयो’

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा धेरैको चासो छ । प्रकरणको चासो र चर्चा स्वदेशमा मात्रै होइन विदेशसम्म छ । नहोस् पनि किन ? नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ ठगी भएको छ । त्यो पनि उच्च पदस्थ राजनीतिज्ञ र प्रशासककै मिलेमतोमा । प्रकरणमा जोडिएकाहरू दोषी वा निर्दोष के हुन् ? त्यो अदालतले प्रष्ट्याउने नै छ । प्रकरणमा पक्राउ परेका र केही फरारसहित ३० जनाविरुद्ध सरकारी वकिलको कार्यालय बुधबार जिल्ला अदालत काठमाडौंमा आरोपत्र दायर गरेको छ ।

आरोपपत्र दायर भएसँगै प्रकरण कानुनी छिनोफानेतिर गएको छ । तर, रोचक के छ भने अदालतमा आरोपपत्रसमेत दायर नहुँदै विभिन्न सञ्चार माध्यममा भए÷नभएका विवरणहरू सार्वजनिक भएका छन् । यो क्रम निकै लामो समय चल्यो । विभिन्न स्रोतको हवाला दिँदै सञ्चार माध्यममा आएका विवरणहरू गम्भीर त छन् नै, त्यत्तिकै अप्रत्यासित र उत्तेजकसमेत छन् ।

विभिन्न स्रोतको हवाला दिएर आएका विवरणहरूमा विभिन्न व्यक्तिहरूलाई करोड रुपैयाँका बिटा थमाइएको उल्लेख छ । सम्बन्धित व्यक्तिलाई जानकारी छ/छैन थाहा छैन तर, आरोपितले घर, कार्यालय, बालुवाटार र सिंहदरबारमै पुगेर करोड बुझाएको बयान दिएका छन् । आरोपितले बयानमा पोलेकाहरू साच्चै दोषी हुन् वा प्रतिसोधकै आधारमा बयानमा पोलियो ? कुनै तथ्य प्रमाण छैन ।

सामाजिक सञ्जालको युगमा तिनै विवरणका आधारमा आम मान्छेले धारणा बनाइरहेका छन् । यो निकै गम्भीर विषय हो । मानौँ कुनै व्यक्तिविरुद्ध अहिले जेजति विवरण बाहिर आएका छन् भोलि अदालतबाट सफाइ पाउँदा के हुन्छ ? उसको सामाजिक जीवन कस्तो हुन्छ ? जबकि सञ्चार माध्यममा आएका विवरणअनुसार आम मान्छेले दोषी करार गरिसकेको छ । यसरी भएभरका विवरण छताछुल्ल हुँदा दुईवटा प्रभाव पर्न सक्छ । पहिलो जो साच्चै दोषी छ उसले आफूविरुद्धका प्रमाण नष्ट गर्ने र थप चनाखो बन्ने अवसर पाउन सक्छन् । दोस्रो निर्दोष भएकाहरू सामाजिक बहिष्कारमा पर्न सक्छन् । जुन अहिलेको परिस्थितिमा घातक हुनसक्छ । सामाजिक सञ्जाल हेरेर एकपाखे धारणा बनाउनेहरूको जमात ठूलो छ । जुन जमात तथ्य र तर्कभन्दा पनि हल्लाका भरमा बढी कुद्ने र कुतर्क गर्ने गर्छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी मुद्दामा प्रभाव पार्ने विवरणहरू बाहिर ल्याउन नहुने बताउनुहुन्छ । अनुसन्धान नसकिँदै यसरी विवरणहरू बाहिर आउँदा मुद्दामा प्रभाव पर्ने उहाँको बुझाइ छ । ‘कुनै पनि केसमा अनुसन्धान जारी रहँदासम्म विवरणहरू बाहिर ल्याउनु हुँदैनथ्यो । मुद्दामा प्रभाव पार्ने खालका विवरण सकेसम्म गोप्य नै राख्नुपथ्र्याे,’ उहाँले भन्नुभयो, ‘मिडिया पनि स्मार्ट भयो । वास्तवमा अनुसन्धान नसकिँदासम्म यसरी बाहिर आउनु हुँदैनथ्यो । यसले आरोपितहरू भाग्ने र आफूविरुद्धको प्रमाण मेटाउने अवसर पाउँछ ।’

अनुसन्धानको धर्म निर्वाह नगरेको देखियो, ‘पिक एण्ड चुज’ गर्न पाइँदैन : त्रिपाठी
पक्राउ परेका र सरकारले प्रतिवादी बनाएर आरोप पत्र दायर भएकाहरूबाहेक पनि प्रकरणमा जोडिएका छन् । आरोपितले बयानमा नाम लिएका कतिपयसँग प्रहरीले सोधपुछसम्म गरेन । कतिपयलाई भने आरोपितको बयानकै आधारमा पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने काम भयो । यसले अनुसन्धान पद्धति र सरकारको नियतमाथि प्रश्न उठाएको छ । आरोपितले बयानमा पोलेकाहरूसँग किन सोधपुछ गरिएन भन्ने अहम् प्रश्न उठेको छ । सँगै बयानमा पोलिएकाहरूमाथि पनि नैतिक प्रश्न उठेको छ । उनीहरू साच्चै दोषी हुन् वा निर्दोष ? उनीहरूले स्पष्टीकरणसमेत दिने अवसर गुमाएका छन् । अनुसन्धानमै नतानिएकाले उनीहरूमाथि आम मान्छेले नैतिक प्रश्न उठाइरहनेछन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठी पनि प्रहरीले अनुसन्धानको धर्म निर्वाह नगरेको बताउनुहुन्छ । आरोपितले बयानमा नाम लिएका र पोलेका व्यक्तिलाई सोधपुछसमेत नगरिँदा अनुसन्धानमा प्रश्न उठ्ने उहाँको भनाइ छ । प्रहरीले ‘पिक एण्ड चुज’ गरेको उहाँले बताउनुभयो । ‘अुसन्धानको धर्म निर्वाह गरेको देखिएन । पिक एण्ड चुज गर्न पाइँदैन,’ उहाँले भन्नुभयो, ‘आरोपितले पोलेका कसैलाई पक्राउ पुर्जी जारी गर्ने र पक्राउ गर्ने तर, कसैलाई सोधपुछसमेत नगर्ने हुनुहुँदैन । अनुसन्धान सेलेक्टिभ देखियो । यद्यपि, निरन्तर जारी रहने भनिएको छ ।’

प्रकरणमा मेरो कुनै संलग्नता छैन : प्रमुख राई
शरणार्थी प्रकरणका आरोपितको बयानमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका केही व्यक्तिसहित तत्कालीन गृहसचिव तथा हालका अख्तियार प्रमुख प्रेमकुमार राईको पनि नाम मुछिएको छ । अख्तियार प्रमुख आयुक्त राईको गाडीमा तीन करोड रुपैयाँ राखिदिएको बयान आरोपितले दिएका छन् । तर, प्रहरीले यसतर्फ कुनै अनुसन्धान नै गरेन ।

तत्कालीन प्रधानमन्त्री ओलीको सचिवालयका केही व्यक्ति र राईमाथि पनि नैतिक प्रश्न उब्जिएको छ । तर, राई भने प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्नुहुन्छ । आफू कुनै पनि हालतमा संलग्न नभएको केसमा जबरजस्ती नाम जोडिएकाले कुनै नैतिक प्रश्न नउठ्ने उहाँको तर्क छ । ‘मैले केही नगरेको, नजानेको, नबुझेको, र नबोलेको मान्छेमाथि कसरी नैतिक प्रश्न आउँछ ?’  उहाँ भन्नुहुन्छ, ‘कुनै पनि बिचौलियाले केके बोले ? किन बाहिर ल्याइयो मैले जान्ने कुरा भएन । हचुवाका भरमा बिचौलियाले कहिले तीन करोड, कहिले दुई करोड र कहिले एक करोड दिएको भनेको छ । गाडीको डिकीमा राखिदिएको भन्छ रे, अनि डिक्की खुलै हुन्छ ? त्यत्तिकै लगेर कसैले करोड करोड राख्छ ?’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?