रातो मत्स्येन्द्रनाथको भोटो आज देखाइँदै

उपत्यकामा सार्वजनिक बिदा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा आज (बिहीबार) मनाइँदै छ । सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो ।
ललितपुरको जावालाखेलमा आयोजना गरिने जात्राको राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गर्नुहुनेछ । भोटो देखाउने जात्राका लागि मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । मत्स्येन्द्रनाथको जिम्मामा रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो कसको हो भनी राष्ट्र प्रमुखको उपस्थितिमा देखाउने चलन रहिआएको छ ।

जावलाखेलमा भोटो देखाइसकेपछि त्यसैदिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बोकेर बाजागाजाका साथ बुङ्मतीस्थित उनकै मन्दिरमा पु¥याउने चलन छ । मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा पुर्‍याएपछि मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ ।
लोकोक्तिअनुसार धेरै पहिले एकजना नेवार कृषकले करकोताका नामक देवतासँगबाट उनलाई सहयोग गरेकाले एउटा भोटो उपहार पाएका हुन्छन् । एकदिन उनी जावलाखेलमा भोटेजात्रा हेर्नलाई आउँदा कसैले आफ्नो भोटो लगाएको देखेर छक्क पर्दछन् । उक्त भोटो लगाएका मान्छे र कृषकबीच भोटोका विषयमा चर्काचर्की परेपछि स्थानीयले भोटोको वास्तविक मालिक सप्रमाण नआउन्जेलसम्मका लागि भनेर भोटो बुंग द्यः मा राख्ने निर्णय हुन्छ । त्यसपछि आजसम्म उक्त भोटोको कोही वास्तविक मालिक छ भने अगाडि प्रमाणसहित लिन आउन आहृवानका साथ प्रदर्शन गरिने चलन छ ।

यस्तै, अर्को किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उहाँले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाउनुभयो । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित चक्रधर मिलेर मत्स्येन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याउनुभएको थियो ।

काठमाडौं उपत्यकामा मुहार रातो हुनुभएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । उहाँलाई लोकनाथ, रातो मत्स्येन्द्रनाथ, मच्छिन्द्रनाथ, बुंगमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रही आएको छ ।

करुणमयलाई ३२ हातका साथै ४८ फिट अग्लो रथमा विराजमान गराइन्छ । मत्स्येन्द्रनाथको रथ ८०० सालमा नरेन्द्रदेवका छोरा राजा वरदेवले बनाउने चलन चलाउनुभएको थियो । रथलाई जात्रा अवधिभर ललितपुरको टोल टोल घुमाउने प्रचलन रहेको छ । सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् । यो जात्रा वैशाख महिनाको शुक्लपक्षअन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाउने गरिन्छ ।

बौद्धहरूले करुणामय र सिद्धेश्वरका रूपमा पूज्ने मत्स्येन्द्रनाथको जात्रा भक्तपुरका राजा नरेन्द्रदेव र काठमाडौंका बन्धुदत्तले चलाएको भन्ने गोपाल वंशावलीमा उल्लेख छ । यस अवसरमा सरकारले आज(बिहीबार) उपत्याकामा सार्वजनिक बिदा पनि दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?