प्रयास गरे सफलता असम्भव छैन

हिमालय टाइम्स
Read Time = 7 mins

संसार प्रसिद्ध शासक नेपोलियन बोनापार्टले असम्भव भनेको मुर्खहरूको डायरीमा मात्र हुन्छ भनेका थिए भन्ने भनाइ छ । यसको आसय गर्न चाहने हो भने जस्तोसुकै असम्भव मानिएको काम पनि सम्भव गराउन सकिन्छ भन्ने हो । हाम्रै सन्दर्भमा भन्ने हो भने पनि फैदसिंहले महेश खोलो काटेर त्रिशूलीमा खसाएर गल्छीको बस्ती बसाएका थिए । खोज्दै जाने हो भने यस्ता अरू धेरै दृष्टान्त हुन सक्छन् । यहाँ सन्दर्भ हो परीक्षा भएको एक हप्ताभित्र सवारी चालक अनुमतिपत्र दिनेसम्बन्धी । अनुमतिपत्र नपाएको मानिसले कुनै पनि क्षेत्रको काम गर्न पाउँदैन । अनुमति पत्र लिनुको आसय कि उक्त व्यक्ति सो कामका लागि दक्ष छ भन्ने हुन्छ कि सरकारले तोकेको कानुनी दायरामा आएको छ भन्ने बुझिन्छ ।

देशको आयको स्रोत कर हो । कुनै पनि अनुमतिपत्र लिनाले उक्त व्यक्ति वा पक्ष करको दायरामा आएको छ भन्ने हुन्छ । तर, काममा ढिलासुस्ती हाम्रो संस्कार, संस्कृति, परम्परा र व्यवहार सबै कुरा बन्दै आएको छ । सरकारी कर्मचारी जनताको कामकै लागि नियुक्ति भएको हो, उसले सेवाग्राहीको काम गर्नैपर्ने हो । यसरी उसले गरेको कामबाट एकातिर सेवाग्राही र अर्कातिर सरकार लाभान्वित बन्नुपर्ने हुन्छ तर कर्मचारीहरूले बद्नियतका साथ काम गर्नाले न त सरकार लाभान्वित बन्न सक्छ न सेवाग्रहीले सही किसिमले कानुनसम्मत सेवा लिन पाउँछ । यसरी कर्मचारी वा राजनीतिक पदीय हैसियतका मानिसहरूलाई कानुनी बाटो छोडेर फरक बाटोबाट हिँड्न प्रेरित गर्नेहरूमा बिचौलियाहरूको हात हुन्छ ।

हरेक क्षेत्रमा हाल हावी बन्दै आएका बिचौलियाहरूका कारण यस्ता अनेकौं अपकर्महरू सिर्जना हुने गरेका छन् । बिचौलियाका कारण दैनिक उपभोग्य सामग्रीसमेत अधिक महँगो बन्ने गरको छ । हाल बुटवल यातायात व्यवस्था कार्यालयले परम्परागत विकृति झेल्दै आएका सेवाग्राहीलाई यस्ता अप्ठ्याराहरू झेल्नु नपर्ने व्यवस्था मिलाएको छ । यो प्रशंसनीय प्रयास हो, यस्तो प्रयास देशैभरिका सम्पूर्ण कार्यालयमा भएकाखण्डमा सेवाग्राहीले सहज रूपमा कानुनसम्मत सेवा पाउन सक्ने थिए भने सरकारी कर्मचारीहरूप्रति उनीहरूको धारणा सकारात्मक बन्ने थियो । जनताका कामकै लागि नियुक्ति भएका कर्मचारीहरू आफू नियुक्ति हुनासाथ जनताको तहभन्दा आफू माथि पुगेको ठान्छन् ।

आफ्नो कुर्सीमा नबसी हाजिर गरेर बाहिरिने कर्मचारीहरूको संख्या पनि निकै ठूलो छ । हाल प्रविधिको विकास भएको समय हो तैपनि प्रविधिलाई छल्नसक्ने सामथ्र्य मानिसमा हुन्छ र हाजिर गरेर बाहिरिने र पुनः छुट्टी हुने बेलामा आएर हाजिर गर्ने प्रवृत्ति अहिले पनि छँदैछ । कार्यालयहरूमा जनशक्तिको कमी छ भन्ने गरिन्छ तर अर्कोतिर भएको जनशक्तिले पूरा काम पाइरहेको छैन । निजी क्षेत्रमा त्यही प्रकृतिको काम एकजनाले गर्न सकिरहेको हुन्छ तर त्यति नै कामका लागि सरकारी क्षेत्रमा पाँच-छजना मानिस राखिएका हुन्छन् । परीक्षा भएको आठ दश महिनासम्ममा पनि सवारी चालक अनुमतिपत्र पाइएको हुँदैन तर त्यसका लागि तदारुकता अपनाउने हो भने त्यो सम्भव नहुने होइन ।

परीक्षा नियन्त्रण कार्यालयबाट विद्यार्थीहरूले ट्रान्क्रिप्ट लिन १५-२० दिन लाग्ने गरेको अवस्थामा ज्ञानेन्द्र राजा बनेका बेला त्यत्ति नै काम दुई तीन घण्टामा हुने गरेको थियो । यसरी हेर्दा हाम्रो कर्मचारी प्रशासन अत्यन्त सुस्त गतिमा काम गर्छ र सेवाग्राहीलाई सेवा दिने क्रममा कुनै छिद्रको खोजीमा हुन्छ । सानो छिद्र पाउनासाथ यो पुगेन त्यो पुगेन भनेर सेवाग्रहीलाई मनोवैज्ञानिक रूपमा गलाउँछ । त्यसपछि सेवाग्राही त्यो अपुग काम गरेर आउन तुरुन्त असमर्थ हुने कारणले कर्मचारी र सेवाग्राहीका बीच अतिरिक्त लाभको बाटो निर्धारण गर्ने गरिन्छ । यसबाट मुक्त हुनसकेको खण्डमा हाम्रो कर्मचारी प्रशासन स्वच्छ र पूर्ण बन्न सक्छ ।

कार्यकुशल त यसै पनि छँदैछ । कार्यालयहरूका बिचौलियाहरूलाई निरुत्साहित गर्ने, प्रक्रिया पुगेका काम तदारुकताका साथ गरिदिने, प्रक्रिया नपुगेकालाई प्रक्रिया पुर्‍याउन सहयोग गर्ने, अतिरिक्त लाभको लालच नराख्ने हो भने कर्मचारीतन्त्रकोे साख फर्किन सक्छ र सेवाग्राहीहरू नै कर्मचारीहरूको प्रशंसा गर्न थाल्नेछन् । काम पनि छिटोछरितो ढंगले हुन सक्छ कुनै पनि काम पेन्डिङ रहने छैनन् । यसका लागि सरकारको कडा निर्देशन र अनुगमन एकातिर अपेक्षित हुन्छ भने अर्कातिर कर्मचारीहरूको दृढताको पनि त्यत्तिकै आवश्यकता पर्दछ । परीक्षणका रूपमै सही केही ठाउँमा यसलाई व्यवस्थित गर्ने जुन प्रयास गरिएको छ र सफलता प्राप्त हुँदैछ त्यसबाट सबैतिर यसरी काम गर्न सकिन्छ भन्ने पुष्टि हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?