छचल्कियो भ्रष्टाचार रूपी घडा

Read Time = 14 mins

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करीमा संलग्नहरू विशेष चर्चामा छन् । हाइप्रोफायल (उच्च-तह)का कथित नेताहरू अनुसन्धानको घेरामा परेपछि यसले झन् राजनीतिक बजार तताएको छ । दिनहुँजसो केही न केही समाचार आइरहेका छन् । यस्ता भ्रष्टाचारजन्य दुर्गन्धले स्वदेशमा नाक थुनेर हिँड्नुपर्ने त बनाएकै थियो र छ पनि । अहिले यो मानव तस्करको प्रकरणले त अन्तर्राष्ट्रियकरण नै हुन पुग्यो । नेपाली बहादुर र इमानदार भनेर चिनिएको अवस्थामा यो प्रकरण्ले नेपालीको शिर निहुरिएको छ । नेपाल त यस्तो देश बन्यो जहाँ कुनै न कुनै भ्रष्टाचारका घिनलाग्दा घटनाले नछोएको होस् ।

पहिलो जनआन्दोलनपछि पुनःस्थापित प्रजातान्त्रिक प्रणालीले दिएका सम्पूर्ण सकारात्मक उपलब्धि बिर्साउने गरी भएका आर्थिक घोटाला नेपाल र नेपालीका लागि लज्जास्पद विषय बनेको छ । शिक्षामा आएको परिवर्तनले नेपालीको सेचतना धेरै माथि उठिसकेको छ । अहिले नेपालीको त्यो चेतनालाई नजरअन्दाज गरेर हाम्रा तथाकथित मूलधारका दल र तिनका नेताहरूको भ्रष्टाचारजन्य हर्कतले आज मुलुकको स्वाभिमानमाथि कालो धब्बा लागिसकेको तथ्य कहीँ कतै छिप्नेवाला छैन । अन्य धेरै आर्थिक घोटला नभएका होइनन् जुन आशा एवं विश्वास गरौँ अब क्रमशः उदांगिँदै जाने छन् ।

अहिले आमनेपालीहरू यही पर्खाइमा छन् ता कि यिनका काला कर्तुतहरू लुक्ने छैनन् । एउटा भनाइ छ ‘बाह्र वर्षपछि पाप धुरीबाट कुर्लिन्छ रे’ । दर्जनौं भ्रष्टाचारका घटना हामीले सुन्दै र भोग्दै आएकै हौँ । जुन अब धुरीबाट पाप कुर्ले झैँ एकपछि अर्को भ्रष्टाचारका फाइलहरू खिलिँदै जाने छन् र दोषी जुनसुकै तहको भए पनि उम्कन नपाऊन् र कानुनको कठघरामा ठड्याउनुपर्छ भन्ने जनमत व्यापक रूपमा देखिन्छ । तसर्थ भ्रष्टाचार नियन्त्रणका लागि सरकार र सरकारका अन्य संवैधानिक निकायहरूले तदारुकताका साथ आफ्नो काम कर्तव्य जनताले अनुभूति गर्न सक्नेगरी अघि बढोस् ता कि भोलिका दिनमा त्यस्ता हर्कतमा आँटसमेत गर्न नसकून् ।

नेपालमा भ्रष्टाचारजन्य काण्डहरूको लामो शृंखला छ । सरकारको स्वामित्वमा रहेका थुप्रै उद्योग निजीकरण गर्दा धेरै आशंका त्यस बेलामा पनि उब्जिएका थिए तर त्यसलाई त्यसै थुमथुम्याएर राखियो । जनताको आशंकालाई मेटाउने काम भएन । आज पनि ती उद्योगहरूका बारे आवाज बुलन्द भइरहेकै छन् ।

यही हो नेपालीको अपेक्षा पनि । सबै चहाना हो राज्य सञ्चालन गर्नेहरू आफू शासक होइन सेवकको रूपमा रहन पाइयोस् भन्ने नै हुन्छ । त्यसका लागि राज्य सञ्चालन गर्नेहरू सदाचारी हुन् । हुन त राज्य सञ्चालन पारदर्शी र सुशासनयुक्त होस् भन्ने नै हुन्छ तर आज ठीक त्यसविपरीत पार्टीहरू र तिनका नेताहरू आफूलाई शासक बनाउँदै गए । त्यसैको परिणामस्वरूप उनीहरूमा अहंकार बढ्दै गयो, लाग्न थाल्यो कि हामीले जे गरे पनि हुन्छ भन्ने । अब त्यस्ता अहंकारीलाई नेपाली सचेत र जागरुक नागरिकले पानीमुनि गए पनि छोड्ने छैनन् । अहिलेको सूचना र प्रविधिको युगमा कुनै पनि घटना लुक्ने छैनन् । सबै राम्रा नराम्रा काम पारदर्शी रूपले देखिने छन् ।

कोही पनि भ्रममा नपरे हुन्छ मेरा कर्तुत दबाएरै राख्छु भनेर । सरकार, पार्टी र नेताभन्दा नागरिक धेरै सचेत र जागरुक भइसकेका छन् । सरकारमा बस्नेहरू भ्रष्टाचारको आहालमा चुर्लुंम डुबेको चित्र देशबासीको नजरमा झलझली छ । त्यसैले अहिले पत्रपत्रिका, सञ्चारमाध्याम र अझ सामाजिक सञ्जालले थप खबरदारी गरिरहेका छन् र भन्दै छन् कि भ्रष्टाचारीहरू उम्कन नपाऊन् ।

नेपालमा भ्रष्टाचारजन्य काण्डहरूको लामो शृंखला छ । सरकारको स्वामित्वमा रहेका थुप्रै उद्योग निजीकरण गर्दा धेरै आशंका त्यसबेलामा पनि उब्जिएका थिए तर त्यसलाई त्यसै थुमथुम्याएर राखियो । जनताको आशंकालाई मेटाउने काम भएन । आज पनि ती सरकारी स्वामित्वमा रहेका कलकारखाना तथा उद्योगका बारे सडकदेखि सदनसम्म आवाज बुलन्द भइरहेकै छन् । यद्यपि निजीकरणले नोक्सानमा रहेका कलकारखाना तथा उद्योगबाट राज्यले हात झिक्दा आर्थिक रूपले व्यायभार कम भए पनि निजीकरण गर्दा भ्रष्टाचारको आशंका त्यसबेला पनि भएकै थियो । धमिजा, लाउडा, चेजएयर, वाइडबडी, न्यारोबडी आदि एयर लाइन्समा भएका आर्थिक घोटाला अझै सेलाएकै छैनन् ।

ती विषयमा सरकारले यथासमयमा निप्टारा गर्नुपथ्र्यो तर गरेन । सरकार कान टालेर बस्नुका पछाडि ‘दालमा कुछ काला’ भन्ने भनाइलाई पुष्टि गरेकै छ । त्यस्तै सेकुरिटी प्रिङ्टिङ प्रेसमा भएको आर्थिक लेनदेनको अडियो कन्भरसेसन पनि छताछुल्ल भएर आयो तर सत्यतथ्य के थियो सार्वजनिक नगरी त्यसै थुम्थुम्याइयो । त्यसमा पनि आशंका ज्युँका त्युँ छ । जब कि रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा उक्त पार्टीले निजलाई कारबाही गरी उच्च-नैतिकता प्रदर्शन गर्‍यो तर अरू पार्टीहरूले त्यतिसम्म गर्ने आँट गरेनन् । यसबाट पनि कथित ठूला दलहरूप्रति नागरिकको हेराइ नकारात्मक हुन गयो ।

अहिले जनमत रैथाने दलहरूविरुद्ध खनिएको अवस्था छ जसको ज्वलन्त उदाहरण हो हालै सम्पन्न उपनिर्वाचनको परिणाम । नेपाली जनमत यसरी फर्लक्क पल्टिएर विकल्पको खोजीमा देखिँदासमेत पुराना दलहरू नसच्चिने हो भने सक्किनबाट रोक्न कसैले सक्दैन । आर्थिक घोटालाका दर्जनौं प्रकरण पचाइसकेका परम्परागत दलहरू भ्रष्टाचारको दुर्गन्ध होइन सुगन्ध पो ठानेका छन् कि जस्तो भान हुन थालेको छ । भ्रष्टाचार देशको महारोग हो जसको समयमै रोकथाम वा नियन्त्रण नगर्दा आज संग्र्रालिएर अन्तर्राष्ट्रियकरण हुन पुग्यो । मुलुक कोभिडको महामारीमा फसिरहँदा पनि द्रव्यपिपासुहरूले लासमाथि पनि लुछाचुडी गरे गराएका समाचार छरपष्ट हुँदासमेत बेखबर देखिनु अर्को लज्जाको विषय बनेको थियो र छँदैछ ।

यहाँ सबै भ्रष्टाचारका घटना एकपछि अर्को अटुट रूपमा बाहिरिइराखेका छन् । कति नाम लिनु, लिई साध्य नै छैन । अहिले संसद् चलिरहेको छ । विशेषतः संसदले कानुन बनाउने, नियमित वार्षिक बजेट कस्तो ल्याउने, बजेट प्रभावकारी कार्यान्वयन हुनसक्छ सक्दैैन त्यसमा छलफल गर्ने महत्वपूर्ण समयमा विषयान्तर हुनुपरेको अवस्था छ । यसले (वार्षिक बजेट)ले जनताका आवश्यकतालाई सम्बोधन गर्न सक्छ कि सक्दैन भनी घनीभूत बहस र छलफल गर्नुको सट्टा नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरण र माओवादी क्यान्टोनमेन्टको प्रसंगमा खर्चिनु परेको छ ।

यसर्थ भ्रष्टाचारजन्य मुद्दा वा सबालहरूलाई प्राथमिकताको आधार क्रमशः अनुसन्धान गरी टुंगोमा पुर्‍याउनु अहिलेको आवश्यकता हो । त्यस दिशामा दलहरू र आमनेपालीहरूले ध्यान केन्द्रीकृत गर्नु उपयुक्त हुन्छ । एउटा केस पनि नसुल्झिँदै यो पनि त्यो पनि भन्दा भ्रष्टाचारमा भइरहेका अनुसन्धान अलमलमा पर्न सक्छ । त्यस्तो अलमलको स्थिति भरसक नआओस् भनी सम्बद्ध पक्ष सचेत रहनुपर्ने देखिन्छ । अहिले भ्रष्टाचारका केस छताछुल्ल भएर आएको अवस्था छ । देशका दुई-दुईवटा पूर्वगृहमन्त्रीमध्ये एकजना त अनुसन्धानमा तानिइसकेका छन् भने अर्का शंकाको घेरामा छन् जुन आफैंमा लज्जास्पद विषय बनेको छ ।

राजनीतिकर्मीहरू यथासम्भव पारिवारिक दबाब र प्रभावमुक्त हुनसके राम्रो हुने हो तर त्यसो हुन नसक्दा आज यो दुर्दशा व्यहोर्न र सुन्न बाध्य हुनुपरेको छ । यी घटनाबाट पनि अरू राजनीतिज्ञ र अन्य सबैले शिक्षा लिनुपर्ने देखियो ।

यसले नेपाल र नेपालीको आत्मसम्मानमा ठेस पुर्‍याएको छ । त्यस्तै पूर्वउपप्रधानमन्त्री जस्तो व्यक्ति केही दिन फरार रहे पनि उम्कन सकेनन्, अन्ततः पक्राउ परे । त्यो पनि बडो फुर्तीका साथ मानौँ उनले ठूलै युद्ध जिते झैँ अदालतमा हात हल्लाउँदै गरेको दृश्य पनि चर्चाकै विषय बनेको थियो । नेता र मन्त्रीका छोरामध्ये एउटा पक्राउ परे भने अर्का एकजना अझै फरार छन् । उता मञ्जु खाँण र आरजु राणा देउवा पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वाधिक चर्चामा आए । यद्यपि उनीहरूमाथि औपचारिक अनुसन्धान नभए पनि सूक्ष्म रूपमा हेरिँदै गरेको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ ।

राजनीतिकर्मीहरू यथासम्भव पारिवारिक दबाब र प्रभावमुक्त हुनसके राम्रो हुने हो तर त्यसो हुन नसक्दा आज यो दुर्दशा व्यहोर्न र सुन्न बाध्य हुनुपरेको छ । यी घटनाबाट पनि अरू राजनीतिज्ञ र अन्य सबैले शिक्षा लिनुपर्ने देखियो । संक्षेपमा अहिले जसरी ताततातो भ्रष्टाचारजन्य विषय सन्सनीपूर्ण भएर आएको छ यसले अवश्य पनि स्वाभिमानी नेपालीको शिर झुकाइदिएको छ । अब घटनाको सत्यतथ्य बाहिर आओस् र भ्रष्टाचारको जालो दूधमा परेको झिँगो झैँ झिकेर फाल्न सक्ने क्षमता राज्यले राखोस् । आमनागरिकको एकमात्र आवाज त्यही मात्र छ ।

यो जनचाहानामा कुठाराघात हुनुहुँदैन भन्ने कुरामा सरकार सचेत र चनाखो रहनुपर्छ । सरकार अहिले अग्नि परीक्षाको घडीमा छ । यस मामिलामा यदि सरकार चुक्यो भने अब यी पुराना दलहरू इतिहासकै पानामा थन्किने निश्चित छ जसको छनक त पाइराखिएकै छ । पछिल्लो भ्रष्टाचारजन्य बहुचर्चित काण्डले मानिस भन्दैछन् भ्रष्टाचारको घडा छचल्किएर आयो अब कसैले चाहेर वा रोकेर रोक्न सक्दैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?