इन्टर मिलानलाई कोपा इटालियाको उपाधि

Read Time = 3 mins

लण्डन । इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ । फियोरेन्टिनामाथि दुई-एकको जित निकाल्दै इन्टर मिलान लगातार दोस्रो सिजन च्याम्पियन बनेको हो ।

इन्टरलाई उपाधि दिलाउन दुवै गोल लोउटारो मार्टिनेजले गर्नुभयो । फियोरेन्टिनाका निकोलस गोन्जालेसको गोल सान्त्वना बन्यो । खेलको तेस्रो मिनेटमा नै निकोलस गोन्जालेसको गोलबाट फियोरेन्टिनाले अग्रता बनायो । २९औँ मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । ३७औँ मिनेटमा मार्टिनेजले दोस्रो गोल गर्नुभयो । त्यसपछि खेलमा थप गोल हुन सकेन ।
यस्तै, इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटी ब्राइटन होभ अल्वियोनसँग एक-एक गोलको बराबरीमा रोकिएको हो । सिटीका लागि फिल फोडेनले गोल गर्दा ब्राइटनका जुलियो इनसिसोले बराबरी गोल फर्काउनुभयो ।

खेलको २५औँ मिनेटमा फिल फोडेनको गोलबाट सिटीले एक-शून्यको अग्रता लियो । ३८औँ मिनेटमा जुलियोले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याउनुभयो । उहाँले लेभी कोलविलको पासमा गोल गर्नुभयो ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा रोकिन पुग्यो । यस बराबरीसँगै च्याम्पियन सिटीको ३७ खेलबाट ८९ अंक पुगेको छ । ब्राइटन ६२ अंक जोडेर छैटौँ स्थानमा छ । यस बराबरीसँगै ब्राइटन शीर्ष ६ मा रहँदै अर्को सिजनको युरोपा लिग खेल्ने पक्का भएको छ ।

यस्तै, रियल म्याड्रिडले स्पेनिस ला लिगामा रायो भालेकानोमाथि दुई-एकको जित निकाल्यो । रियलका लागि करिम बेन्जेमा र रोड्रिगो गोएसले गोल गर्नुभयो । भालेकानोका राहुल डि टोमासले एक गोल फर्काउनुभयो । यस जितसँगै रियल ३६ खेलबाट ७४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित रायो भालेकानो ४६ अंक जोडेर ११औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?